
भिरकोट नगरपालिका– ९, चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्षअगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
भिरकोट– ९ का वडासदस्यसमेत रहेका चराङ गहतेका ललित गुरुङ र इमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यस वर्ष लटरम्म फलेको छ ।
‘दुई वर्षअघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ,’ ललितले भने, ‘फल्छ कि फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।’
गत वर्ष पाँच–सात दाना मात्र फलेको उनले बताए। स्याउका लागि यहाँको हावापानी अनुकूल रहेको पाइएको छ । समुद्री सतहदेखि झन्डै एक हजार पाँच सय मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए।
‘अब स्याउका बेर्ना ल्याएर व्यावसायिक रूपमा अगाडि बढ्ने तयारीमा छौँ,’ ललितले भने । स्याउको व्यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उनले बताए।
चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रूपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउँछन्। ‘उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ,’ उनले भने।