अहिले नेपाली गीत–संगीतमा पश्चिमा संस्कृतिको ठूलो प्रभाव छ । त्यही कारण नेपाली मौलिकता गुम्दै गएको छ ।
डा. भोला रिजाल गीतकार पनि हुन् भनेर अब चिनाइरहनु पर्दैन । उनले लेखेका ‘म छहारी हुँ तिम्रो’ गीत त निकै चर्चित भयो । नर्सहरूको पीडालाई समेटेर लेखिएको गीत ‘धनधन्या’, ‘किन होला सांरगीले’ जस्ता गीत पनि चर्चित भए । संगीतप्रेमी डा. रिजालले कैयौँपटक स्टेजमा पनि गीत गाएका छन् ।
उनलाई आजभोलिका गीत भने चित्त बुझ्दैन । कुन राम्रो हो भनेर थाहै पाउँदैनन् । ‘न शब्दमा भारीपना हुन्छ, न कुनै अस्तित्व,’ उनी असन्तुष्टि पोख्छन् ।
अहिले नेपाली गीत–संगीतमा पश्चिमा संस्कृतिको ठूलो प्रभाव छ । त्यही कारण नेपाली मौलिकता गुम्दै गएको छ । ‘पछिल्लो समयमा बजारमा आउने गीत एकछिन छमछमी नाच्न र केही बेर गुनगुनाउन सकिन्छ, त्यसपछि यसको अस्तित्व सकियो,’ डा. रिजाल भन्छन्, ‘यस्ता गीतले नै बजार पाउँछन्, दाम कमाउँछन्, जुन समयक्रमसँगै हराएर जान्छन् ।’ पछिल्लो समय चर्चामा आएका ठमेल बजार, कुटुमा कुटु, सालको पात टपरी हुने, नाइलनको साडीलगायत गीत यसैको उदाहरण भएको उनको ठम्याइ छ ।
डा. रिजाल लोकभाका खुब मन पराउँछन् । उनलाई मन पर्ने पछिल्लो समयको गीत ‘पिरतीको छाता ओडाउ न’ हो । यो गीत सुनिरहँदा उनी गुनगुनाउँछन् पनि । उनलाई ‘यो मायाको काँ प¥यो घर,’ ‘सुपारीको बोटैमा,’ ‘र्याफ्टिङ बिसाउने,’ ‘चोरी भो चोरी भो’ गीत पनि मन पर्छन् । ‘यी गीतमा पनि ग्ल्यामर छ, र म्युजिकका हिसाबले पछिसम्म सम्झनलायक छन्, मलाई मेलोडियस लाग्छन्,’ उनले भने ।
तर, उनलाई पुराना गीत नै धेरै मन पर्छन् । उनले मन पराउने कतिपय गीत त नयाँ पुस्ताले नसुनेका पनि छन् । गायक हरिप्रसाद रिमालको ‘पवनले फूललाई केही भन्यो कि के हो,’ नातिकाजीको पहिलो गीत ‘पहाड बसी, वनमा खेली’ उनलाई मन पर्ने गीत हुन् । पुराना तर चर्चित गायक प्रेमध्वज प्रधानको गीत ‘घुम्तीमा नआउ है’ पनि उनी सुनिरहन्छन् । यस्ता गीतमा समाजको अस्तित्व भेटिने उनको भनाइ छ ।
उनलाई मन पर्ने गायक नारायणगोपाल हुन् । नारायणगोपालले गाएका हरेकजसो गीत उनी गुनगुनाउने गर्छन् । ‘लौ सुन म भन्छु मेरो रामकहानी’ र ‘आँखा छोपी नरोऊ भनी भन्नु प¥या छ’ जस्ता गीत सुनेर कहिल्यै थाक्दैनन् ।