१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १३ मंगलबार १o:२४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 कमला पुलमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरा घाइते 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार १o:२४:oo

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको पूर्व–पश्चिम हुलाकी सडकमा पर्ने सिराहा–धनुषा जोड्ने कमला पुलको पुनर्निर्माण नहुँदा दैनिक रूपमा सयौँजना जोखिम मोल्दै ओहोरदोहोर गर्न बाध्य छन्। त्यही क्रममा सोमबार राति करिब ८ बजेतिर कमला पुलको मध्यभागमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरा घाइते भएका छन्। 

घाइते हुनेमा सिराहाको नरहा गाउँपालिका– ३ का करिब २५ वर्षीय ज्ञान यादव र उनका तीन वर्षीय छोरा ऋतिक यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले सिराहाबाट कामविशेषले मोटरसाइकलमा श्रीमती र छोरासहित धनुषातर्फ जाँदै गर्दा पुलको मध्यभागमा दुई स्ल्याबको खाली भागमा ओहोरदोहार गर्न राखिएको फलामको पातामा चिप्लिएर मोटरसाइकल लड्दा बाबुछोरा घाइते भएको जानकारी दिए । 

उनका अनुसार अनुहार र शरीरका विभिन्न भागमा मध्यम खालको चोटपटक लागेका ज्ञान र टाउकोमा चोट लागेका उनको छोराको जिल्ला सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नदीको बाढीले आवागमनमा कठिनाइ भएपछि करिब सात महिनाअघि बनाइएको बाँसको पुल वैशाखको अन्तिम हप्ता आएको बाढीले बगाएसँगै बनाइएको बाँसको र्‍याम्प हुँदै पुलमा उक्लिएर दैनिक रूपमा करिब सात सय मोटरसाइकल र चारदेखि पाँच हजारजनासम्म ओहोरदोहोर गरिरहेका छन् । हरेक मोटरसाइकलका लागि सिराहा नगरपालिकाले २० रुपैयाँ रकम उठाइरहेको छ । 

वर्षौँदेखि उस्तै दुःख
ठेक्का सम्झौताअनुसार कमला पुल ११ वर्षअघि नै निर्माण सम्पन्न भएर सञ्चालन भइसक्नुपर्ने भए पनि पटकपटक म्याद थप गरी नदी नियन्त्रण र पहुँच मार्गबाहेक पुलको अन्तिम चरणको निर्माण चलिरहेका वेला १७ असार ०७८ मा बाढीले पुलको सिराहातर्फ दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फ तेस्रो पाया भासिएको थियो । 

पाया भासिएपछि सिराहातर्फ गत पुसको तेस्रो सातादेखि थालिएको मर्मत कार्यसमेत वैशाखको पहिलो सातादेखि रोकिएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनकपुरधामस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायका अनुसार कमला पुलको डिजाइन र निर्माण दुवै काम गर्दै आएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले बर्खा लाग्नुअघि काम सक्ने भन्दै आए पनि काम रोकेपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि थालिएको हो । 

वर्षौैँदेखि मुलुकका प्रधानमन्त्री, विभागीय मन्त्री तथा सिराहा र धनुषाका सांसदहरूले पटकपटक स्थलगत अनुगमनपछि ‘अब पुल निर्माण सम्पन्न हुन्छ’ भन्ने आश्वासनले दिक्क भएका स्थानीय युवाहरूले प्राविधिक रूपले पनि पुल पुनर्निर्माण नहुने ठहरसहित कमलामा नयाँ पुल निर्माणको माग गर्दै कमला पुल निर्माण संघर्ष समितिको आह्वानमा मुख्यमन्त्री कार्यालयअगाडि चार दिनसम्म आमरण अनशन भएको थियो । सिराहा र धनुषाका १० जना युवा मुख्यमन्त्री कार्यालयअगाडि गत ४ भदौदेखि आमरण अनशनमा बसेको चौथो दिन ७ भदौमा  मुख्यमन्त्री सतिशकुमार सिंहसँग चारबुँदे सम्झौता भएको थियो । 

सम्झौताअनुसार कमलामा नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेटमा व्यवस्था गर्न संघीय सरकारसँग पहल गर्ने, त्यो सम्भव नभए सम्पूर्ण बजेट प्रदेश सरकारकै स्राेतबाट व्यहोर्ने, १ मंसिर ०८१ भित्र नयाँ पुल निर्माणका लागि डिपिआर तयारी गर्न बोलपत्र आह्वान गर्ने उल्लेख थियो । तर, निर्देशनालयले प्रदेश सरकारले गरेको सम्झौता र कामको विषयमा अनभिज्ञता जनाएको छ ।

कमला नदीमा ४६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्ने म्याद पटक–पटक थप हुँदै अन्तिमपटक भएको सम्झौताअनुसार ३० असार ०८० तोकिएको थियो । पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो । २४ वैशाख ०८० मा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।