
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तविक धरातलमा आधारित रहेर बजेट निर्माण गरिने बताएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यसँग गरेको छलफलमा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रम र बजेटबिच तालमेल हुनुपर्ने, प्राथमिकताका आधारमा बजेट निर्माण हुनुपर्ने, प्रदेशको वास्तविक अवस्था र सूचकहरूका आधारमा बजेट तयार हुनुपर्नेलगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा १० लाखभन्दा कम बजेट भएका योजना धेरै हुनु, बहुवर्षीय योजनाको संख्या बढ्दै जानु, बजेट अनुमान र यथार्थबिच अन्तर धेरै हुनु, बजेटको आकार ठुलो हुनु, आन्तरिक आयको दायरा साँघुरो हुनु र चालू खर्च निरन्तर बढिरहेको विषयलाई चुनौतीका रूपमा लिँदै सुधारको योजना निर्माणमा सरकारले ध्यान दिन सुझाव दिएको थियो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले प्रदेश सरकारले दोस्रो आवधिक योजनाले लिएका क्षेत्रगत प्राथमिकता, नीति तथा कार्यक्रम, बहुवर्षीय स्रोत सुनिश्चितता भएका योजनाहरू समयमै सम्पन्न गर्नेजस्ता विषयलाई ध्यानमा राखेर बजेट विनियोजनको प्राथमिकता निर्धारण गरिएको जानकारी दिए ।