
गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।
नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सातजनाको निधन भएको जानकारी दिए । उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुईजनाको मृत्यु भएको जानकारी दिए । मृतकमध्ये एकजना सात महिनाकी गर्भवती समेत छिन् । उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उनकी पत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ ।
अन्य घातक आक्रमणहरू देइर अल बालाह, बेत लाहिया तथा खान युनिस जस्ता क्षेत्रमा पनि भएको जनाइएको छ । बस्सालका अनुसार, आइतबार मात्रै कम्तीमा २२ जनाको शव फेला पारिएको छ, जसमा केही बालबालिका पनि छन् । साथै दर्जनौँ घाइतेको उद्धार गरिएको छ र केही अझै बेपत्ता छन् ।
यी घटनाबारे हालसम्म इजरायली सुरक्षाफौजले आधिकारिक टिप्पणी दिएको छैन ।
हालैका दिनहरूमा इजरायली सेनाले गाजामा कारबाही तीव्र बनाएको छ, जसलाई उसले हमासलाई समाप्त पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ । शनिबार दिउँसो, सेनाले पछिल्लो २४ घण्टामा गाजाभरि सयभन्दा बढी स्थानमा आक्रमण गरेको दाबी गरेको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिँदै युद्धविराम अन्त्य भएको ५ मार्चयता तीन हजार ७८५ जनाको मृत्यु भइसकेको जनाएको छ । योसँगै युद्ध सुरु भएदेखि मृतकको कूल सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् ।
अक्टोबर ०२३ मा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणपछि युद्ध सुरु भएको थियो । जसमा एक हजार २१८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए । उक्त आक्रमणमा २५१ जना इजरायली बन्धक बनाइएका थिए, जसमा हालसम्म ५७ जना अझै गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।