
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३ जेठमा गृहमन्त्री रमेश लेखकको र प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै संसद् अवरुद्धमा गर्ने जनाएको छ।
१५ जेठमा हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभिरमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ हुने बताए। ‘हामी भ्रष्टाचारविरुद्धमा एकजुट छौँ। एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ,’ उनले भने।
शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्र नभएर प्रधानमन्त्री केपी ओलीको समेत राजीनामा माग्नुपर्ने जोड दिए। थुनामा रहेका व्यक्तिले प्रधानमन्त्रीका स्वकीय सचिवको समेत नाम लिएको प्रसंग ल्याउँदै शाहीले यसबारे प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिनुपर्ने बताए।
‘भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसदमा जवाफ माग्छौं । गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ। थुनामा रहेका व्यक्तिले स्वयं प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले एक करोड रुपैयाँ मागेको भनेर बयान दिएका छन्। प्रधानमन्त्री ओलीले यसको जवाफ पर्सि संसदमा दिनुपर्छ,’ उनले भने।
मंगलबारको संसद् बैठकमा प्रस्तुत हुने विषयबारे पार्टीले बैठक राखेर सामूहिक निर्णय गर्ने प्रमुख सचेतक शाहीले बताए।