
यसै साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशले ११ हप्ता लामो नाकाबन्दीपछि गाजामा ‘आधारभूत मात्रामा खाद्यान्न’ प्रवेश गर्न दिने घोषणा गरे । तर, यो ‘सम्पूर्ण गाजालाई नै नियन्त्रण’मा लिने नेतन्याहुको योजना देखिन्छ । किनकि, इजरायलले ‘पूर्ण विजय प्राप्त नभएसम्म’ युद्ध जारी राख्ने उनको अडान छ । यसले अक्टोबर २०२३ देखि द्वन्द्व र भोकमरीबाट पीडित २१ लाख प्यालेस्टिनीको घर रहेको प्यालेस्टिनी क्षेत्रको अवस्था अझ बिग्रने सम्भावनालाई संकेत गर्छ । युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गर्दै इजरायली सेनाले गाजाविरुद्ध आक्रमण तीव्र पारेको छ । आक्रमणमा लगभग ५३ हजार पाँच सय प्यालेस्टिनी मारिएका छन्, जसमध्ये धेरैजसो महिला र बालबालिका छन् । उल्लेखनीय कुरा के छ भने अमेरिकी मिडिया रिपोर्टका अनुसार नेतन्याहुको बयानको एक दिनअघि अमेरिकी प्रशासनले गाजापट्टीबाट १० लाख प्यालेस्टिनीलाई स्थायी रूपमा लिबियामा स्थानान्तरण गर्ने योजनामा काम गरिरहेको संकेत गरेको थियो । एक पूर्वअमेरिकी अधिकारीले एनबिसी न्युजलाई बताएअनुसार प्रशासनले लिबियाको नेतृत्वसँग छलफल गरेको हुनाले योजना गम्भीर रूपमा विचाराधीन छ ।
प्यालेस्टिनीहरूको पुनर्वासको बदलामा ट्रम्प प्रशासनले लिबियालाई अमेरिकाले एक दशकभन्दा बढी समयअघि जम्मा गरेको अर्बौं डलरको कोष जारी गर्ने स्पष्ट छ । कुनै अन्तिम सम्झौता भएको छैन र इजरायललाई अमेरिकी छलफलबारे जानकारी दिइएको छ । त्यसैले मानिसहरूसँग गाजामा आफ्नो पकड बलियो बनाउने तेल अभिभको पछिल्लो प्रयास र अमेरिकी योजना अन्तरसम्बन्धित छन् भन्ने विश्वास गर्ने पर्याप्त कारण छ । तेल अभिभले आफ्नो सैन्य कारबाही जारी राख्ने घोषणाको व्यापक रूपमा निन्दा गरिएको छ । संयुक्त अधिराज्य, फ्रान्स र क्यानडा सबैले इजरायललाई कडा चेतावनी दिएका छन् । ‘थप ठोस कारबाही’को सामना गर्न चेतावनी दिँदै गाजामा सैन्य कारबाही तुरुन्तै बन्द गर्न र मानवीय सहायतामा प्रतिबन्ध हटाउन उनीहरूले आह्वान गरेका छन् । ‘हामी गाजामा इजरायलको सैन्य कारबाहीको विस्तारको कडा विरोध गर्छौं । गाजामा मानवीय पीडाको स्तर असहनीय छ । इजरायलले गाजामा आधारभूत मात्रामा खाद्यान्न अनुमति दिने घोषणा पूर्ण रूपमा अपर्याप्त छ,’ ती देशले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । तीन राष्ट्रले इजरायललाई महŒवपूर्ण मानवीय सहायता अस्वीकार गरेको आरोप लगाउँदै त्यस्ता कार्यले ‘अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने जोखिम’ रहेको चेतावनी दिए । गत हप्ता बग्दादमा भएको अरब लिग शिखर सम्मेलनले पनि इजरायलले गाजामा तनाव बढाउने विषयको कडा विरोध गर्यो ।
गत साता जारी एक विज्ञप्तिमा नेतन्याहुले गाजामा इजरायली युद्ध रोक्न बेलायत–फ्रान्स–क्यानडाको संयुक्त आह्वानले अक्टोबर २०२३ मा इजरायलमाथि भएको ‘नरसंहार आक्रमण’को लागि ‘ठुलो पुरस्कार प्रदान गर्ने दाबी गरेका छन् । वास्तवमा यो इजरायल हो, जसले आफ्नो कार्यका लागि अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दाको सामना गरिरहेको छ । गाजा द्वन्द्वको पछाडि प्यालेस्टाइनको प्रश्न समाधान गर्न ढिलाइ भएको छ र प्यालेस्टाइनको प्रश्न सधैँ मध्यपूर्व मुद्दाको मूलमा रहेको छ । तसर्थ, त्यसैले दुई राज्य समाधान लागू नभएसम्म हिंसाको चक्र समाप्त हुनेछैन ।
चीन सबै पक्षलाई १९६७ को सीमामा आधारित स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनालाई समर्थन गर्न र प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको पूर्ण सदस्य राष्ट्रको रूपमा स्वीकार गर्न आह्वान गर्छ । इजरायलले अक्टोबर २०२३ मा हमासको आक्रमणको बदला लिने तरिकालाई गाजापट्टीलाई गाभ्ने योजनाको आवरणको रूपमा प्रयोग गर्न बन्द गर्नुपर्छ, जुन प्यालेस्टिनी मातृभूमि र प्यालेस्टिनी भूभागको एक हिस्सा हो । अमेरिकाले वास्तवमा युद्धविराम सम्झौतामा मध्यस्थता गरेको छ र वार्ताका लागि मार्गचित्रको नेतृत्व गरेको छ । यी कूटनीतिक प्रयास जारी राख्नुपर्छ । यस प्रक्रियामा प्यालेस्टाइन र इजरायलबिच शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने अन्तिम लक्ष्यसँगै मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थिरताका लागि गाजाको युद्धपछिको शासनमा ‘प्यालेस्टिनीले प्यालेस्टिनीलाई शासन गर्छन्’ भन्ने सिद्धान्तलाई कायम राख्नुपर्छ ।
खाद्यान्न र औषधीको अभाव
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दीलाई केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो । तर, राहत बोकेका १५ भन्दा बढी ट्रक बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ । गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ । युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ । इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठुलो सैन्य कारबाही सुरु गरेको छ । शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।
‘गाजाका मानिस अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो,’ गुटेरेसले भनेका छन् । उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोधसमेत गरेका छन् । हालसम्म करिब चार सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन् । ‘अहिलेसम्मको राहत भनेको जताततै आगो लागिरहेको वेलामा एक थोपा पानी हाल्नुजस्तै हो, जबकि गाजालाई ठुलो मात्रामा सहायता चाहिएको छ,’ उनले भने । विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएका छन् । ती ट्रकले स्थानीय बेकरीमा रोटी पकाउन खाद्यान्न बोकेका थिए ।
इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लडाकु लुकेर बसेका स्थानमा कारबाही गरिएको बताएको छ । सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ । गाजासँग सिमाना जोडिएका इजरायली बस्तीमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ । गाजाको उत्तरमा रहेको अल–आब्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीनजना स्वास्थ्यकर्मी घाइते भएका छन् । दक्षिण गाजामा धेरै घर भत्किएका र कालो धुवाँको मुस्लो उडिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो युद्ध मार्च ५ गतेबाट पुनः सुरु भएको हो । त्यसयता गाजामा तीन हजार ६७३ जना मारिएका छन् ।
– चाइना डेलीबाट