१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार १९:५४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार

इमेज सहकारी बचत हिनामिना : मुख्य आरोपी देवकुमार नेपालीको बयान सकियो

बचतकर्तालाई नेपालीको प्रश्न–मलाई बाँधेर पैसा पाइन्छ ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १९:५४:oo

पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनममिना प्रकरणका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको कास्की जिल्ला अदालतमा बयान सकिएको छ । बाग्लुङ कारागारमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर अदातले बयान लिएको हो ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीको बयान लिने काम अदालतले सकेको छ भने सोमबारदेखि थुनछेक बहश सुरु हुनेछ ।

अदालतका सूचना अधिकारी दामोदर आर्चायका अनुसार न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलाशले आइतबार नेपालीको बयान लिएको हो । नेपालीको आइतबार बयान सकिएकाले सोमबारबाट थुनछेक बहश सुरु हुनेछ । बयानपछि नेपालीलाई सोमबार विहान १० बजे अदालतमा हाजिर गराउने गरी बाग्लुङ प्रहरीको जिम्मा लगाइएको आर्चायले जानकारी दिए । नेपाली हाल बाग्लुङस्थित इमेज सहकारीको ठगी प्रकरणमा बाग्लुङ जिल्ला अदालतको आदेशपछि जिल्ला कारागारमा रहेका छन् ।

बिगो ५७ करोड ३५ लाख
यसअघि सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसहित १४ जनाले दिएको उजुरीपछि कास्की प्रहरीले छानबिनपछि प्रतिवेदन तयार पारेको थियो । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय ४७ पैसा हिनामिना गरेको भन्दै नेपालीसँगै १५ जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको थियो ।

अभियोग पत्र दर्ता गरिएकाहरूमा मुख्य आरोपी नेपाली र उनकी श्रीमती छेला नेपाली, छोरा सन्तोष नेपाली, सहकारीका अध्यक्ष बाग्लुङका चित्रबहादुर भण्डारी, सहकारीका उपाध्यक्ष बाग्लुङका सुरेन्द्र बोहरा, सहकारीका सचिव मोरङ घर भै हाल पोखरा बस्ने बिमला ओझा, कोषाध्यक्ष बाग्लुङ घर भै हाल पोखरा बस्ने सन्जिता थापा मगर,  सदस्य गोरखा घर भै हाल पोखरा बस्ने विमला गुरुङ, सदस्य बाग्लुङ घर भै हाल पोखरा बस्ने पुष्पा पाठक खत्री, सहकारीको कर्जा प्रमुख बाग्लुङ घर भै हाल पोखरा बस्ने सुनिल नेपाली, सहकारीको सञ्चालक समिति सदस्य तथा लेखा समिति संयोजक बाग्लुङ घर भै हाल पोखरा बस्ने शक्ति किसान, लेखा समिति सदस्य बाग्लुङ घर भै पोखरा बस्ने भुमि भण्डारी, लेखा समिति सदस्य तनहुँको खैरेनीटार बस्ने निशा कार्की, व्यवस्थापक मोरङ घर भै हाल पोखरा बस्ने दिपक पौड्याल र लेखा समिति सदस्य÷लेखा सहायक बाग्लुङ घर भै पोखरा बस्ने विष्णु पौडेल रहेका छन् ।

आरोपपत्रमा आरेपितहरूले एक आपसमा सरसल्लाह मिलेमतो गरी सहकारी संस्थाको सम्पत्ति, वचत वा शेयर रकम हिनामिना गरेको, ऋण असुली हुन नसक्ने गरी समितिका सदस्य, नातेदार, अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिई हिनामिना गरेको, समितिका सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर, बचत रकम आफूखुशी गरेर सहकारीलाई हानी नोक्सानी पुर्याइ, झुटो विवरणको आधारमा कर्जा लिई ऋण हिनामिना गरेको, झुटो विवरणको आधारमा लागत अस्वभाविक रुपमा ऋण लिनेदिने गरेको आरोप लगाईएको छ ।

सहकारी ऐन तथा सहकारी ऐनअन्तर्गत बनेका नियम विनियम विपरित लगानी गरेको र लगानी उठाउने समेतका कार्य गरेर सहकारीको शेयर÷बचतकर्ताहरू समेत रहेका ५२४ जना जाहेरवालाहरुको जम्मा बिगो ५७ करोड ३५ लाख ८४ हजार नौ सय र ४७ पैसा हिनामिना गरी शेयर÷बचतकर्ताहरू समेतलाई दिनुपर्ने बचत समेतको रकम फिर्ता नगरी सहकारी ठगी गरेकाले सहकारी ऐन, ०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ), (ज) र (ट) अनुसारको कसूर गरेको स–प्रमाण देखिन आएकाले आरोपितहरूलाई सोहीअनुसार बिगो सजायको माग गरिएको छ ।

सजायसँगै उनीहरूलाई सहकारी ऐन, ०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) तथा (घ) (५) बमोजिम सजाय गरी सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को देहाय (घ) वमोजिम विगो समेत माग गरिएको छ ।

फरार रहेका नेपाली भारतमा परेका थिए पक्राउ
सहकारीमा समस्या आएसँगै ७ वैशाख ०८० मा सहकारी बन्द भएपछि १ जेठ ०८० मा बाग्लुङबाट बुर्तिबाङ हिँडेका नेपाली ५ जेठ ०८० देखि बुर्तिबाङबाट स–परिवार सम्पर्कविहीन थिए । सम्पर्कविहीन भएका उनलाई १६ महिनापछि भारतबाट पक्राउ गरिएको हो ।

लण्डनबाट फर्कने क्रममा इन्टरपोलको समन्वयमा ११ असोज ०८१ मा नेपालीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । नेपालीविरुद्ध २४ जेठ ०८० मा पक्राउ पुर्जी, १० माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो । 

त्यसअघि २५ असार ०८० मा सरकारी वकिलको कार्यालय बाग्लुङले अदालतमा नेपालीसँगै ११ जनाविरुद्ध सहकारी ऐन, ०७४ को दफा १२२ र दफा १२४ अनुसार सहकारी ठगी मुद्दा दर्ता गरेको थियो ।

बाग्लुङ बजारमा मुख्य कार्यालय रहेको इमेज सहकारीको बुर्तिबाङ र गलकोटमा सेवा केन्द्र थियो । यो सहकारीको एक अर्ब ३० करोड ठगी भएको थियो । उनीसहितका सञ्चालक र कर्मचारीले आकर्षक ब्याजदरको प्रलोभनमा पारेर सुरुमा बचत गर्न लगाएका थिए ।

बचतकर्ताको रकम मनोमानी नियम–कानुनविपरीत खर्च गरिएको आरोप उनीहरूलाई लागेको छ । बाग्लुङका एक हजार ५४३ बचतकर्ताले जेठ ०८० मा उजुरी दिएका थिए ।
नेपाली ०७९ को निर्वाचनमा एमालेबाट ढोरपाटनको मेयर बनेका थिए । एमाले गण्डकी प्रदेश कमिटी सदस्य समेत रहेका नेपालीलाई प्रदेश कमिटीको ९ जेठ ०८० मा बसेको बैठकले घटनाको निरुपण नहुँदासम्मको लागि भन्दै पार्टीबाट निलम्बन समेत गरेको थियो ।

सहकारीकोे रकमबाट मेयर नेपालीले बाग्लुङ सदरमुकाममा हेलिप्याडसहितको ढोरपाटन दरबार होटेल तथा दुई व्यापारिक कम्प्लेक्स, पोखरामा अरू दुई कम्प्लेक्स र काठमाडौंमा समेत घरजग्गा जोडेका छन् । दम्पतीका नाममा बाग्लुङ, पोखरा र काठमाडौंमा मात्रै ५५ कित्ता जग्गा खरिद गरिएका छन् । पत्नी छेलाको नाममा मात्रै दुई करोड ८६ लाख मूल्यको ल्यान्डक्रुजर र सन्तोष नेपालीका नाममा ४२ लाख मूल्यको स्कार्पियोसमेत देखिएका छन् । 

‘मलाई बाँधेर पैसा पाइन्छ’
नेपालीलाई बयानका लागि अदालत ल्याइने भएपछि सहकारी बचतकर्ताहरू आइतबार कास्की अदालतमा जम्मा भएका थिए । सोही क्रममा अदालतभित्र नेपाली बसेको कोठामा उनीसँग कुरा गर्न गएका बचतकर्ताहरूलाई उनले मलाई बाँधेर कताबाट पैसा पाउनुहुन्छ भन्दै प्रश्न गरेका थिए । ‘म व्यवहार मिलाउन आएको हो, मेरो दुई अर्बभन्ला बढी पर्ने घर जग्गा छन्, मुद्दा फिर्ता लिनुस् म व्यवहार मिलाउँछु । मलाई यसरी बाँधेर राखेर समस्या कहाँ समाधान हुन्छ ?, यसअघि बाग्लुङमा करोडौंको हिसाव किताब मिलाएको छु । मिल्ने भए मुद्दा फिर्ता लिएर आउनुस् व्यवहार म मिलाउँछु, मुद्दा लड्ने भए लडौं म पनि पनि तयार छु । पछि जे हुन्छ हुन्छ हेरौला,’ उनले भनेका थिए ।