
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुद्धका सन्देश मानव जगतलाई सुमार्गमा डोर्याउने आधारशिला भएको बताएका छन् । सोमबार परेको बुद्धजयन्ती र उँभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख देवकोटाले बुद्धले दिएका अहिंसा, करुणा र समताजस्ता अमूल्य सन्देश मानव जगतलाई सुमार्गमा डोर्याउने आधारशिला भएको बताएका हुन् ।
उनले सन्देशमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म नेपालमा हुनु सबैको लागि गौरवको कुरा भएको आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘बुद्धको शिक्षालाई आत्मसात् गर्दै सभ्य, सहिष्णु, समावेशी र समृद्ध समाज निर्माणमा एकजुट हुने दृढ संकल्प हामी सबैमा जागृत होस्,’ उनको सन्देशमा भनिएको छ ।
विश्व परिवेशमा भइरहेका अशान्ति, हतियारकाे होड, द्वन्द्व, युद्ध र युद्धउन्मुख परिदृश्यले बुद्धमार्गको अपरिहार्यताको बोध गराएको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले आजको दिनमा भगवान् बुद्धको आदर्शले सबैलाई शान्ति, सत्य, प्रेम, संयम र सदाचारको बाटोमा अग्रसर हुने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै, प्रदेश प्रमुख देवकोटाले उँभौली पर्वको अवसरमा शुभकामना दिँदै, ‘प्रकृतिका पुजारी किराँत समुदायअन्तर्गतका सुनुवार, राई, लिम्बु र याक्खा जातिको पवित्र पर्व उँभौलीको पावन अवसरमा सम्पूर्ण प्रदेशवासीहरू तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली विशेष गरी किराँत समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धि को कामना गरेका छन् ।
विविधता बोकेका सम्पूर्ण जातजाति र समुदायका हाम्रा मौलिक चाडपर्वहरूले समाजमा प्रेम, मेलमिलाप, आपसी सदभाव, सहिष्णुता र विविधतामा एकताको भावना बलियो बनाउने कार्य गरेको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले मौलिक पर्व र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लाग्न सबैलाई आह्वानसमेत गरेका छन् ।