
सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो ।
गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको उनले बताए । काभ्रेको पनौती र रोशीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको जनाइएको छ ।
सोमबार बेलुका बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भएको थियो। हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मंगलबार कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ ।