Skip This
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार २१:o४:oo
Read Time : < 1 मिनेट
अर्थ

मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार २१:o४:oo

बिग्रिएको एउटा युनिटको मर्मत गरेपछि मकवानपुरको भीमफेदीस्थित कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ। १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना १४ दिनपछि सोमबारबाट पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

१५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मत भएपछि सोमबार दिउँसोबाट दुवै युनिटबाट विद्युत् उत्पादन सुरु भएको कुलेखानी तेस्रोका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए।

एउटा युनिटको जेनेरेटर प्लेटमा समस्या भएपछि कुलेखानी तेस्रो आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको थियो। प्रमुख ताम्राकारका अनुसार युनिट मर्मतको क्रममा आइसोलेसन प्लेट फेर्ने, टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउनेजस्ता काम गरिएको हो। मर्मत कार्यमा चिनियाँ तीन प्राविधिकसहित नेपाली १८ प्राविधिकको टोली संलग्न रहेको उनले बताए।

‘आयोजनाको एउटा युनिट बन्द हुँदा ७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो। मर्मतपछि दुवै युनिटबाट पूर्ण क्षमतामा १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ,’ उनले भने।

जलाशययुक्त इन्द्रसरोवरमा आधारित कुलेखानी जलविद्युत् आयोजना तीनवटा केन्द्रमा सञ्चालनमा रहेको छ। कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताका छन्। 

विद्युत् प्राधिकरणको ब्याकअपको रूपमा रहेको कुलेखानी जलाशयमा दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घटिरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए। उनका अनुसार सोमबार अपराह्न जलाशयमा पानीको सतह १ हजार ५५६ सेन्टिमिटर रहेको छ। जलाशयमा अधिकतम १ हजार ५३० मिटर उचाइसम्म पानी अट्न सक्ने क्षमता रहेको छ।