१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अन्तर्राष्ट्रिय वित्त निगमद्वारा रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधि नियुक्त गरेको छ। काठमाडौंमा आधारित रहेर उनले आइएफसीको लगानी विस्तार, नयाँ लगानी तथा अवसरको विकास र संस्थाको प्रभावकारिता वृद्धि गर्न नेतृत्व दिने संस्थाले जनाएको छ।

श्रीलंकाली नागरिक अरन्दारा सन् २०११ देखि आइएफसीसँग आबद्ध रहँदै आएकी छिन्। उनले विश्व बैंक समूहभित्र विभिन्न भूमिकामा कार्य गर्दै व्यापक अनुभव प्राप्त गरेकी छिन्। हालैसम्म उनी दक्षिण एसियाका लागि आइएफसीको देशीय सल्लाह तथा अर्थशास्त्र टोलीमा कार्यरत थिइन्। उनले वित्तीय पहुँच विस्तार, कृषि व्यवसाय सुदृढीकरण र लगानी वातावरण सुधारमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

नेपालमा आफ्नो नयाँ भूमिकामा उनले आइएफसीका व्यावसायिक विकास पहलहरू अगाडि बढाउने, प्रारम्भिक स्तरको संलग्नता विस्तार गर्ने र प्रमुख सरोकारवालाहरूसँग सहकार्य गर्दै आइएफसीको लगानी र कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने कार्यमा जुट्नेछिन्। ‘नेपालमा उल्लेखनीय सम्भावनाहरू रहेका छन्। आइएफसी नेपालमा पूर्वाधार, डिजिटल सेवा, पर्यटन र वित्तीय क्षेत्रजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा साझेदारी गर्दै विकासका लक्ष्यहरू पूरा गर्न प्रतिबद्ध छ,’अरन्दाराले भनिन्, ‘विश्व बैंक समूहको नेपाल रणनीतिसँग मेल खाने गरी म सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरूसँग सहकार्य गर्दै समावेशी तथा दिगो विकासको लक्ष्यमा लाग्नेछु ।’

 अरन्दाराले आइएफसीमा आबद्ध हुनुअघि पिडब्लुसी इन्डोनेसियामा काम गरेकी छिन्। श्रीलंकामा उनी नेसनल डेभलपमेन्ट बैंकमा लगानी अधिकृतको रूपमा कार्यरत थिइन्। पछिल्ला पाँच वर्षमा आइएफसीले नेपालको स्वच्छ ऊर्जा, इक्विटी, वित्तीय तथा आतिथ्य क्षेत्रमा करिब ७० करोड अमेरिकी डलरको लगानी संलग्नतासहित प्रतिबद्धता जनाएको छ।

यी लगानीहरूले साना तथा मझौला उद्यमहरूको सशक्तीकरण, हरित ऊर्जा रूपान्तरणको प्रवर्द्धन र वित्तीय तथा लैंगिक समावेशितामा उल्लेखनीय योगदान पुर्‍याएका छन्। विश्व बैंक समूहको सदस्य संस्था रहेको आइएफसी विकासशील मुलुकहरूमा निजी क्षेत्रको प्रवर्द्धनमा केन्द्रित विश्वकै ठुलो विकास संस्था हो।