१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
शुरोजंग पाण्डे काठमाडाैं
सुवास भट्ट काठमाडाैं
२o८२ बैशाख २२ सोमबार o६:३९:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फेरि निवासबाटै शासन गर्न उद्यत प्रधानमन्त्री ओली : मन्त्रिपरिषद् र दलको बैठकदेखि  राज्यमन्त्रीको शपथसम्म बालुवाटारमै

Read Time : > 5 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार o६:३९:oo

प्रधानमन्त्री केपी ओलीले बारम्बार दोहोर्‍याउने शब्द हुन्– सदाचार, नैतिकता र सुशासन । तर, उनले व्यवहारमा बारम्बार देखाउने प्रवृत्ति हो स्वेच्छाचारी । यही प्रवृत्ति दोहोर्‍याउँदै उनी फेरि निवासबाटै शासन चलाउन उद्यत छन् । मन्त्रिपरिषद् बैठक, दलको बैठक हुँदै राज्यमन्त्रीको शपथग्रहणसम्म निवासमै गर्न थालेका छन् । 

राज्य सञ्चालनका लागि प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा छ । अस्वस्थता वा भैपरी आउने अवस्थाबाहेक कार्यालयबाटै सरकारी कामकाज गर्नु र पार्टी बैठक पार्टी कार्यालयमै डाक्नु नैतिक र शोभनीय हुन्छ । तर, प्रधानमन्त्री ओलीले बालुवाटारबाट चार किलोमिटर दूरीको सिंहदरबारस्थित सरकारी कार्यालय र सात किलोमिटर दूरीमा रहेको च्यासलस्थित पार्टी कार्यालयको सट्टा निवासलाई नै कार्यकारी अभ्यासस्थल बनाउन थालेका छन् । पछिल्लोपटक ओली प्रधानमन्त्री भएयता बसेका मन्त्रिपरिषद्का ५० मध्ये २३ बैठक बालुवाटारमै बसेका छन् । शनिबार मात्रै एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्यो ।

ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजालाई बालुवाटारमा शपथ खुवाउँदै प्रधानमन्त्री ओली

आइतबार ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजालाई प्रधानमन्त्री ओलीले बालुवाटार निवासमै शपथ खुवाए । विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कूलमान घिसिङको बर्खास्तीको विपक्षमा उभिएका पूर्णबहादुर तामाङ ‘कान्छाराम’लाई हटाएपछि १७ वैशाखमा गर्बुजा नियुक्त भएका थिए । १९ वैशाखमै उनको शपथको कार्यक्रम तय गरिएको भए पनि नीति तथा कार्यक्रमको तयारीले समय अभाव भएको भन्दै स्थगित गरिएको थियो ।

१९ वैशाखमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ताका लागि बोलाएका थिए । तर, पछि सरकारी निवास बालुवाटारमा स्थान सारिएको खबर आएपछि प्रचण्ड व्यस्तताको कारण देखाउँदै उपस्थित भएनन् । कूटनीतिक रूपमा उनले ‘ओली शैली’को विरोध जनाएको निकटस्थ स्रोत बताउँछ । 

अघिल्लोपटक प्रधानमन्त्री हुँदा तत्कालीन नेकपाकालमा पनि ओलीले मन्त्रिपरिषद् बैठकदेखि पार्टीका बैठकसम्म बालुवाटारमै राख्न थालेपछि सार्वजनिक रूपमै उनको स्वेच्छाचारी शैलीको व्यापक विरोध भएको थियो । यसपटक प्रधानमन्त्री भएको केही दिनमै १७ साउनमा उनले पार्टीका बैठक सरकारी निवासमा नगर्ने घोषणा गरेका थिए । तर, आफ्नै घोषणाविपरीत अघि बढ्न थालेका छन् । 

देशको कार्यकारीले नियमित रूपमा देश सञ्चालनको काम निवासबाटै गर्नु ‘मैले जे गर्दा पनि हुन्छ भन्ने स्वेच्छाचारी शैली’बाट प्रेरित रहेको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको टिप्पणी छ । ‘कहिलेकाहीँ स्वास्थ्यका कारणले या तत्काल कार्यालय समयबाहिर पनि बैठक बस्नुपर्ने बाध्यात्मक परिस्थितिमा निवासमा मन्त्रिपरिषद् बस्ने कुरालाई अन्यथा भन्न मिल्दैन । तर, अहिलेका प्रधानमन्त्रीलाई यी कुराहरूसँग मतलब देखिँदैन । मैले जे गर्छु, त्यही नै नियम बन्छ, अरूले पनि त्यसलाई अनुशरण गर्नुपर्छ भन्ने जस्तो उहाँको कार्यशैली छ, अहिले बैठकहरू राख्ने कुरामा उहाँको त्यही शैली दोहोरिएको मात्र हो,’ पोखरेलले भने, ‘सरकारी कार्यालयबाट गर्नुपर्ने काम निवासबाट गर्नु युक्तिसंगत छैन । यद्यपि, यो कानुनसँगै जोडिएको बाध्यकारी विषय त होइन, तर नैतिकता र व्यक्तिको कार्यशैलीसँग जोडिएको विषय भने अवश्य नै हो ।’

पूर्वमुख्यसचिव विमल कोइरालाले प्रधानमन्त्रीले आफ्नो निवासमा मन्त्रिपरिषद्को बैठक राख्नु बलमिच्याइँ भएको बताए । ‘प्रधानमन्त्री कार्यालयमा नराखी निवासमा मन्त्रिपरिषद् बैठक राख्नु बलमिच्याइँ हो । आफ्नो व्यक्तिगत महत्व बढाउन खोजिएको होला । यसले राम्रो गर्दैन । म मुख्यसचिव हुँदा प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बसेको सम्झना नै छैन । भोलि मन्त्रीले सचिवलाई घरमा बोलाएर काम गराए के हुन्छ ? प्रधानमन्त्रीले क्याबिनेट आफ्नो निवासमा बसाउनु र मन्त्रीले निवासमा सचिव बोलाएर काम लगाउनु उस्तै कुरा हो,’ उनले भने, ‘सिकिस्त बिरामी परेको वा यस्तै अवस्थामा निर्णय नगरी नहुने स्थितिमा मात्र निवासमा मन्त्रिपरिषद् बैठक राख्ने कुरा स्वाभाविक होला । नत्र त यो राम्रो होइन ।’

संसदीय दलको बैठक पनि बालुवाटारमै 
राज्यमन्त्रीको शपथ र क्याबिनेट बैठक मात्र होइन, पछिल्लोपटक प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको बैठक पनि सरकारी निवास बालुवाटारमै राखेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित रहेर छलफल गरेको थियो । 

प्रधानमन्त्रीको सचिवालयले भने सधैँ संसद् भवन बानेश्वरमै दलको बैठक बस्दै आए पनि पूर्ववत् रूपमा प्रयोग गर्दै आएको हल त्यही दिन अर्को दल कांग्रेसले ‘बुक’ गरेर बैठक राखेको र अन्त तत्काल सम्भावना नभएपछि बालुवाटारमै राखिएको जनाएको छ । सिंहदरबार, बालुवाटार या बानेश्वरमा जहाँ संसदीय दलको बैठक राख्दा पनि सरकारले उपलब्ध गराएकै हलमा बैठक हुने भएकाले प्रश्न उठ्नुको कुनै अर्थ नभएको सचिवालयको भनाइ छ । 

‘एमालेको संसदीय दलको बैठक सधैँ संसद् भवन नयाँ बानेश्वरमै बस्थ्यो । तर, यसपटक सधैँ प्रयोग हुने हल कांग्रेसले ‘बुक’ गरेर बैठक राखेका कारण सांसद अट्ने हल तत्काल अन्त पाइएन । त्यसैले बालुवाटारमा राखिएको हो,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘संसद् भवन बानेश्वर बसे पनि, संसदीय दलको कार्यालय सिंहदरबार बसे पनि या बालुवाटार, जुनसुकै स्थानमा बस्दा पनि संसदीय दलका बैठकहरू त सरकारले उपलब्ध गराएको सरकारी निवासमै हुने भएकाले यो त्यति ठुलो प्रश्न उठाउनुपर्ने या उठ्नुपर्ने विषय नै होइन । बरु विगतमा कतिपय प्रधानमन्त्रीहरूले सरकारी खर्चमा रिसोर्टमा रातिराति बैठक गरेका विषयहरू पनि छन्, तर ती बाहिर नआएकाले बरु त्यस्ता विषयमा प्रश्न उठाउनु बढी सान्दर्भिक र स्वाभाविक हुन्छ ।’

ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएयता एमालेले पछिल्लो एउटा संसदीय दलको बैठकबाहेक १५ दिनमा नियमित बस्ने केन्द्रीय सचिवालय बैठक भने पार्टी केन्द्रीय कार्यालय च्यासलमै राखेको छ । पार्टी भवन बाढीले डुबानमा परेपछि १७ साउनको एउटा सचिवालय बैठक भने बसेरा होटेल सिंहदरबारमा बसेको थियो । उनी प्रधानमन्त्रीमा नियुक्त भएयता बसेको केन्द्रीय कमिटी र स्थायी कमिटीको दुई बैठक पनि पार्टी कार्यालय च्यासलमै बसेको छ । यद्यपि, गत ८ माघको एउटा केन्द्रीय सचिवालयको अनौपचारिक बैठक भने प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमै बसेको थियो । 

मन्त्रिपरिषद्का ५० बैठक, २३ बालुवाटारमा
पछिल्लोपटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि १७ वैशाखसम्म मन्त्रिपरिषद्का ५० बैठक बसेका छन् । त्यसमध्ये २३ बैठक उनले आफ्नो सरकारी निवास बालुवाटारमा राखेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले पहिलो बैठक ३१ असारमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै बसालेका थिए । त्यसयता भदौमा एक, असोजमा दुई, कात्तिकमा एक, मंसिरमा चार, पुसमा तीन, माघमा दुई, फागुनमा चार, चैतमा दुई र वैशाखमा चार बैठक बालुवाटार निवासमा राखेका छन् । 

बालुवाटारमा बसेका बैठक– वैशाख : २, ८, १५ र १७ । चैत : ४ र १८ । फागुन : ६, १२, २१ र २६ । माघ : २१ र २८ । पुस : ९, २३ र २६ । मंसिर : ३, १६, २७ र २८ । कात्तिक : २६ । असोज : १४ र २१ । भदौ : २४

१७ साउनमा ओलीले भनेका थिए स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवासमा पार्टी बैठक गर्दिनँ 
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले १७ साउनमा पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना नगर्ने घोषणा गरेका थिए । स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवासमा नराख्ने प्रधानमन्त्रीले सार्वजनिक प्रतिबद्धता जनाएका थिए । ‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ उनले फेसबुक पेजमा लेखेका थिए । 

बाढीले पार्टी कार्यालय डुबानमा परेका कारणले मात्र अन्यत्र बैठक राख्न लागिएको उनले बताएका थिए । ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ,’ उनले भनेका थिए । 

कांग्रेस, एमाले, माओवादीमा बालुवाटार बैठकको विरोध 
विगतमा ओलीले मात्र होइन, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कतिपय वेला बालुवाटारमै बैठक राखेर कार्यकारी अभ्यास गर्ने गर्थे । तत्कालीन नेकपाकालमा ओलीले क्याबिनेट बैठकदेखि पार्टी बैठकसम्म बालुवाटारमा गर्दा सार्वजनिक रूपमै उनको स्वेच्छाचारी शैलीको व्यापक विरोध भएको थियो । कांग्रेस, एमाले र माओवादीभित्र पदाधिकारी तहकै कतिपय नेताहरूले बालुवाटारलाई पार्टी कार्यालय बनाउनुहुँदैन भन्दै नेतृत्वको यस्तो शैलीको विरोध जनाएका थिए । पार्टीभित्रैको विरोध र सार्वजनिक आलोचनाका कारण बालुवाटारमा पार्टीहरूको बैठक बस्न रोकिएको थियो । तर, ओलीले दलको बैठक राखेर आफ्नै पछिल्लो घोषणा उल्लंघन गरेका छन् ।

मैले जे गर्छु त्यही नियम हो भन्ने प्रधानमन्त्रीको कार्यशैली दोहोरियो : कृष्ण पोखरेल, राजनीतिक विश्लेषक 
बालुवाटार प्रधानमन्त्रीको आधिकारिक कार्यालय होइन, सरकारी निवास हो । त्यहाँ (निवास)बाट अनौपचारिक प्रकृतिका काम गर्न मिल्छ । कहिलेकाहीँ स्वास्थ्यका कारणले या तत्काल कार्यालय समयबाहिर पनि बैठक बस्नुपर्ने बाध्यात्मक परिस्थितिमा क्याबिनेट बैठक बस्ने कुरालाई अन्यथा भन्न मिल्दैन । तर, अहिलेको प्रधानमन्त्रीलाई यी कुराहरूसँग मतलब देखिँदैन । मैले जे गर्छु, त्यही नै नियम बन्छ, अरूले पनि त्यसलाई अनुशरण गर्नुपर्छ भन्ने जस्तो उहाँको कार्यशैली छ, अहिले बैठकहरू राख्ने कुरामा उहाँको त्यही शैली दोहोरिएको मात्र हो । सरकारी कार्यालयबाट गर्नुपर्ने काम निवासबाट गर्ने कुरा युक्तिसंगत छैन । यद्यपि, यो कानुनसँगै जोडिएको बाध्यकारी विषय त होइन, तर नैतिकता र व्यक्तिको कार्यशैलीसँग जोडिएको विषय भने अवश्य नै हो ।

निवासमा मन्त्रिपरिषद् राख्नु बलमिच्याइँ हो : विमल कोइराला, पूर्वमुख्यसचिव
प्रधानमन्त्री कार्यालयमा नराखी निवासमा मन्त्रिपरिषद् बैठक राख्नु बलमिच्याइँ हो । आफ्नो व्यक्तिगत महत्व बढाउन खोजिएको होला । यसले राम्रो गर्दैन । म मुख्यसचिव हुँदा प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बसेको सम्झना नै छैन । भोलि मन्त्रीले सचिवलाई घरमा बोलाएर काम गराए के हुन्छ ? प्रधानमन्त्रीले क्याबिनेट आफ्नो निवासमा बसाउनु र मन्त्रीले निवासमा सचिव बोलाएर काम लगाउनु उस्तै कुरा हो । सिकिस्त बिरामी परेको वा यस्तै अवस्थामा निर्णय नगरी नहुने स्थितिमा मात्र निवासमा मन्त्रिपरिषद् बैठक राख्ने कुरा स्वाभाविक होला । नत्र त यो राम्रो होइन ।