१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १८ बिहीबार o९:४१:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘द भ्वाइस अफ नेपाल’को फाइनललिस्ट रोशनलाई खोटाङमा स्वागत  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार o९:४१:oo

 ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनमा उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी रोशन राई ‘पालुवा स्टार’लाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । द भ्वाइस अफ नेपाल’का कोच (प्रशिक्षक) मेलिना राईको समूह (टिम)बाट फाइनल चरणमा पुगेका प्रतियोगी रोशनलाई दिक्तेल बजारमा सांस्कृतिक झाँकीसहित स्वागत गरिएको हो । 

दिप्रुङ चुइचुम्मा गाउँपालिका– ७, टेम्मा खोटाङका गायक रोशन दिक्तेल बजारको माउन्ड एभरेस्ट बोर्डिङ स्कुलले आयोजना गरेको ‘रोशन राई जिताउ अभियान’सहितको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन जिल्लामा उपस्थित भएका छन् । प्रतियोगी रोशनसहितका टोलीलाई दिक्तेलस्थित किराँतचोकदेखि हाटडाँडा हुँदै त्रिवेणीचोकमा आयोजना गरिएको कार्यक्रमस्थलसम्म र्‍यालीसहित स्वागत गरिएको हो ।  

पालुवा स्टारले समेत परिचित भ्वाइसका प्रतिस्पर्धी रोशन माउन्ट एभरेस्ट बोर्डिङ स्कुलमा कक्षा– ३ देखि माध्यमिक तह (एसएलसी)सम्म पूर्ण छात्रवृत्ति (स्कलरसिप)मा अध्ययन गरेका थिए । गायन प्रतिभामा अब्बल भएकै कारण संगीत विद्याबाट माउन्ट एभरेस्ट बोर्डिङ स्कुलले रोशनले पूर्ण छात्रवृत्तिमा अध्ययन गराएको हो । 

रोशनसहित टोलीमा आएका खोटाङकै गायिका मनिता राई, गायक तथा संगीतकार हसन राईलगायतले प्रस्तुति दिएको कार्यक्रममा रोशनको कोच गायिका मेलिना राई आउने भनिए पनि विशेष कारण आउन नसकेको जनाइएको छ । रोशनका लागि कार्यक्रमस्थलमा स्वेच्छिक सहयोग रकमसमेत जुटाइएको छ । 

‘द भ्वइस अफ नेपाल’को छैटौँ सिजनका फाइनललिस्ट रोशनलाई जिताउन माउन्ट एभरेस्ट बोर्डिङको तर्फबाट मात्रै एक लाख भोट उपलब्ध गराइने विद्यालयका सहायक प्रधानाध्यापक सगुन ताम्राकारले जानकारी दिए । गायनबाट स्थापित बनिसकेका रोशनलाई जिताउन उक्त विद्यालयसहित जिल्लास्थित विभिन्न संघ–संस्था तथा व्यक्तिहरू जुटिरहेका छन् । भोट अपिलकै लागि आज (बुधबार) गृहपालिका दिप्रुङ चुइचुम्मा र छिमेकी पालिका साकेला गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको रोशन राई जिताऊँ अभियानमा सहभागीहरूले जनाएको छ । 

हङकङलगायत देशका विभिन्न स्थानमा प्रस्तुति दिइसकेका रोशनको विभिन्न गीतहरू स्थापित भइसकेका छन् । रोशन गायन सँगसँगै संगीतमा समेत खुवी राख्ने ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनका बलियो प्रतिस्पर्धीमा पर्छन् ।