
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा युवा खेलाडी पूजा महतोले फड्को मारेकी छिन् । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मे महिनामा थाइल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि टोली घोषणा गर्दा पूजाले उपकप्तानको जिम्मेवारी पाएकी छिन् । उनी यू–१९ टोली कप्तानसमेत हुन् । क्यानले नियमित कप्तान इन्दु वर्माको नेतृत्वमा शुक्रबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । क्यानले दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो ।
विन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्याय र रिया शर्माले एसियन विश्वकप खेल्नेछन् । अन्तिम चरणमा काजल श्रेष्ठ, सोमु विष्ट, यशोदा विष्ट, सीता रानामगर, सिमाना केसी र रचना चौधरीले भने स्थान बनाउन सकेनन् ।
क्यानले नेपालले युगान्डामा भएको चारदेशीय टी–२० आई सिरिजका क्रममा प्रतिस्पर्धा गरेका पाँच खेलाडीले यसपटकको राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन् । युगान्डामा सिरिज खेलेका सना प्रबिन, ममता चौधरी, एलिशा यादव र रचना चौधरी बाहिरिएका छन् । युगान्डा सिरिज गुमाएकी कविता कुँवरसहित चार खेलाडीले पुनरागमन गरेका छन् । रुबी, मनीषा र सबनम राष्ट्रिय टोलीमा फर्किएका छन् ।
थाइल्यान्डमा ७ देखि २१ मेसम्म एसिया क्वालिफायर हुनेछ । जसमा नेपालसहित नौ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् । नेपालले ९ मे, १३ मेमा हङकङ र १५ मा बहराइको सामना गर्नेछ । छनोट चरणका शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।
दुई वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु
नयाँ उपकप्तान बनेकी पूजाले दुई वर्षअघि क्वालालम्पुरमा हङकङविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनले अहिलेसम्म सिनियर टोलीबाट ३२ खेलमध्ये २६ इनिङ्समा चार सय नौ रन बनाएकी छिन् । यस क्रममा उनले दुई अर्धशतकीय इनिङ्स खेलेकी छिन् । अलराउन्ड भूमिका राम्रोसँग निर्वाह गर्न सक्ने पूजाले ३१ टी–२० आई इनिङ्समा २६ विकेट हात पारेकी छिन् । सन् २०२४ मा उनले माल्दिभ्सविरुद्ध ५९ रनको अर्धशतकीय इनिङ्स खेलेकी थिइन् ।
यस वर्ष उनले नेदरल्यान्ड्सविरुद्धको प्रतिस्पर्धामा ६२ रन बनाएकी थिइन् । एसियाली भूमिमा उनको ब्याटिङ राम्रो छ । उनले अहिलेसम्म २६ खेलमध्ये २० इनिङ्समा तीन सय १९ रन बनाएकी छिन् । उनले करिअरमा बनाएको दुई अर्धशतक पनि एसियाली मैदानमै थियो । सन् २०२५ को सिजनमा उनको ब्याटिङ चलिरहेको छ । २२.४० को स्ट्राइकमा उनले ब्याटिङ गरिरहेकी छिन् ।