
सभामुख देवराज घिमिरेले बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै सहकार्य अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानीको आवश्यकता औँल्याए । फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसोलिजमले शनिबार राजधानीमा गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल–चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा घिमिरेले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
‘बिआरआईमार्फत दुवै देशबिचको सहकार्य अझै मजबुत हुँदै गएको छ । बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसर पनि हो,’ उनले भने, ‘नेपाल र चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित छ । दुवै देशबिच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई नेपालको हितमा रहेको बताउँदै देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । खनालले बिआरआईबारे पश्चिमा देशले गलत प्रचार गरेको दाबी गरे । ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वका लागि बिआरआई ल्याएको भन्ने प्रचार भइरहेको छ’, उनले भने ।