
यहाँको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुंगा खानी उत्खनन गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुंगा खानी तथा उत्खननसम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् ।
रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुंगा, स्लेट र औषधीजन्य जडीबुटीको खानी भए पनि सञ्चालनसम्बन्धी कार्यविधि अभावमा उत्खनन हुन सकेका थिएनन् । ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुंगा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताए । यहाँको पाखो तथा निजी जग्गामा भएका ढुंगा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए।
'यहाँको स्लेट र ढुंगा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन् । प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ,' उनले भने ।
रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन् । व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिए। केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुंगाको माग आउने गर्दथ्यो ।
सभाबाट पारित भएकोढुंगा खानी तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो । स्थानीयवासीले ढुंगा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए । रासस