
कारगारबाट छुटेको वर्ष दिन नपुग्दै नुवाकोट दुप्चेश्वर गाउँपालिका– ७ का ३२ वर्षीय मानबहादुर तामाङ पुनः मानव बेचबिखन धन्दामा लागेको खुलेको छ । नुवाकोटकी २३ वर्षीया युवतीलाई उनले भारतको पुनेस्थित कोठीमा एक लाख ५० हजार भारुमा बेचेका थिए । युवतीको गत १५ माघमा उद्धार गरिएको थियो । उनकै जाहेरीपछि प्रहरीले तामाङलाई तारकेश्वर नगरपालिकास्थित मनमैँजुबाट २१ फागुनमा पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनी केही महिनाअघि मात्रै कारागारबाट छुटेका थिए । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध मानव बेचबिखन कसुरमा पाँच वर्ष कैद सजाय तोकेको थियो । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जेलबाट छुटेलगत्तै तामाङ मानव बेचबिखनको भन्दामा संलग्न भएको बताए । ‘दुप्चेश्वरका मानबहादुरसहितको टोलीले २३ वर्षीया युवतीलाई भारतको पुनेमा लगेर बेचेको देखियो । अनुसन्धानका क्रममा उनी यसअघि पनि सोही धन्दामा संलग्न रहेको खुल्यो । कसुर प्रमाणित भएर पाँच वर्ष कैद सजायसमेत भुक्तान भएको रहेछ । जेलबाट छुटेलगत्तै पुनः धन्दा सुरु गरेको रहेछ,’ उनले भने ।
प्रहरीका अनुसार धन्दामा तामाङसहित दुप्चेश्वर गाउँपालिका– ६ का २४ वर्षीय सोमबहादुर तामाङ पनि संलग्न थिए । चोरी मुद्दामा उनी अहिले नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । उनलाई प्रहरीले २३ फागुनमा ताकेश्वरस्थित पदमसालबाट पक्राउ गरेको थियो । उनीहरूले युवतीलाई निरीमाया घलानको नामबाट नक्कली नागरिकता बनाइदिएका थिए । सोही नागरिकता प्रयोग गरी युवतीलाई झापास्थित पशुपतिनगर नाकाबाट भारतको पानीट्यांकी पुर्याएका थिए । त्यसपछि कोलकाताबाट दिल्ली हुँदै महाराष्ट्रको पुने न्यु बिल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियास्थित कोठीमा लगेर बेचेका थिए ।
प्रहरीका अनुसार उनीहरूले युवतीलाई दार्जिलिङमा मोबाइल किनिदिने भन्दै गत १८ मंसिरमा काठमाडौंबाट झापा लगेका थिए । बेचिएको थाहा पाएपछि युवतीले कोठीमा सँगै काम गर्ने अर्की युवतीको मोबाइलबाट श्रीमान्लाई फोन गरेकी थिइन् । लगत्तै उनका श्रीमान्ले उद्धारका लागि ब्युरोमा निवेदन दिएका थिए । ब्युरोको सूचनापछि भारतीय प्रहरीले छापा मार्ने भएपछि कोठी सञ्चालकले युवतीलाई सुनौलीस्थित नेपाल–भारत सिमाना ल्याई छाडेका थिए ।