१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
डा. प्रेमराज सिलवाल
Invalid date format o८:५२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कहाँ कति भ्रष्टाचार ?

विश्वका अधिकांश मुलुकमा भ्रष्टाचार हुनुले यो विश्वव्यापी सामाजिक, कानुनी, शासकीय र राजनीतिक समस्या हो भन्ने देखिन्छ

Read Time : > 4 मिनेट
डा. प्रेमराज सिलवाल
नयाँ पत्रिका
Invalid date format o८:५२:oo

नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (ज)मा भ्र्रष्टाचार भन्नाले ‘भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय हुने कसुर सम्झनुपर्छ’ भनिएको छ । सार्वजनिक र सरकारी निकायमा रहेका मानिसले कानुनले तोकेको कार्य नगर्ने, गैरकानुनी तरिकाले घुस वा आर्थिक लाभ लिने, नीतिगत व्यवस्था गरी व्यक्तिगत लाभ लिने वा नीतिको अपव्याख्या गरी आफूलाई लाभ पुग्ने कार्य गर्ने, अख्तियारको दुरुपयोग गर्नेजस्ता कार्यलाई सामान्यतः भ्रष्टाचार भनिन्छ । सुशासन कमजोर भएका मुलुकमा भ्रष्टाचार बढी हुने विश्व अनुभवले देखाउँदै आएको छ ।

गरिब हुनुले मात्र भ्रष्टाचार हुने होइन । कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, राजनीतिक, सरकारी र सार्वजनिक शक्तिको दुरुपयोग गर्नु, भौतिक स्रोतसाधनप्रतिको तीव्र चाहना हुनु तथा समाजले भ्रष्टाचारीलाई सजिलै स्विकार्नु र उल्टै सम्मान गर्नुले समेत भ्रष्टाचार बढ्ने गर्छ । भ्रष्टाचार सामाजिक अपराध भएकाले यसले समाजलाई नै भ्रष्ट बनाउन सक्छ । समाज वा मार्केट सबैभन्दा शक्तिशाली निकाय र ‘कम्पोनेन्ट’ हो ।

जसले अस्वीकार गरेका कुनै पनि वस्तु, निकाय, व्यवस्था, प्रणाली, विधि, मान्यता र संस्कृति टिक्दैनन् । तर, समाजमा लामो समयदेखि भ्रष्टाचार टिकिरहनु या झन्झन् मौलाउँदै जानुले पनि समाजले भ्रष्टाचार र भ्रष्ट संस्कृतिलाई बढावा दिँदै आएको मान्नुपर्ने हुन्छ । समाज आफैँ भ्रष्ट भयो भने सुशासन दिन शासन बाध्य बन्दैन । नैतिकता र मानवीयता, संस्कार र संस्कृतिलाई ध्वस्त बनाउने विषय हो कुशासन । जुन देशमा कुशासन बढी छ त्यहाँ भ्रष्टाचार बढ्छ । भ्रष्ट र भ्रष्टाचारीलाई समाजले सबैतिरबाट बहिष्कार गर्नुपर्नेमा समाजले उल्टै संरक्षण ग¥यो । यहीकारण विश्वका अधिकांश मुलुकमा भ्रष्टाचार न्यून हुन सक्दै सकेन । तथापि, अधिकांंश युरोपेली मुलुकमा सुशासन र स्थापित विधिको पूर्णपालना भएका कारण अत्यन्त न्यून भ्रष्टाचार हुने गरेको देखियो । 

विकासमा पछि परेका मुलुक तथा राजनीतिक अस्थिरता भएका, द्वन्द्वग्रस्त अप्र्रिmकी एवं दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानजस्ता मुलुकमा तुलनात्मक रूपमा बढी भ्रष्टाचार देखियो

सन् २०२४ को ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन हेर्दा पनि युरोपेली मुलुकहरू डेनमार्क, फिनल्यान्ड, न्युजिल्यान्ड, लग्जेम्बर्ग, नर्वे तथा सिंगापुरलगायत मुलुक सुशासनमा उत्कृष्ट ठहरिए । १८० वटा मुलुकमा गरिएको अध्ययनअनुसार संसारमै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा चाहिँ क्रमशः सोमालिया, साउथ सुडान, सिरिया, भेनेजुएला, यमन, बुरुन्डी, गुयनिया, हाइटी, उत्तरकोरिया, लिबियाको नाम देखियो । तीमध्ये पनि सिरिया, सुडान, यमन, लिबिया आदि देशहरू सर्वाधिक बढी भ्रष्टाचार हुने मुलुकको अन्तिम सूचीमा छन् ।

यसअघि सन् २०२२ मा संयुक्तराज्य अमेरिकाको स्थान २४औँ, भारत ८५औँ, चीन ६५औँ र पाकिस्तान १४०औँ स्थानमा रहेको देखिन्थ्यो । हालै प्रकाशित सन् २०२४ को प्रतिवेदनमा तिनको स्तर झन् तल खस्केको पाइन्छ । जसमा भारतको ९६औँ, चीनको ७६औँ, अमेरिकाको २८औँ देखियो । नेपालको स्थानमा चाहिँ थोरै सुधार भएको हो कि जस्तो देखियो । सन् २०१८ मा १२४औँ स्थान रहेको नेपालको भ्रष्टाचारको स्थिति सन् २०२२ मा ११०औँ स्थानमा थियो । सन् २०२३ मा केही सुधारसहित १०८औँ भयो भने सन् २०२४ मा १०७औँ स्थानमा उक्लियो । तर, यसैका आधारमा मात्र यहाँ भ्रष्टाचार घट्यो, सुशासन बढ्यो भन्न सकिन्न । उसो त एक–दुई स्थान तल या माथि हुँदैमा भ्रष्टाचार बढेको या घटेको विश्लेषण गर्न पनि सकिन्न । 

विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने द्वन्द्वग्रस्त, निरंकुश तथा कठोर शासन भएका मुलुकमा बढी भ्रष्टाचार हुने गरेको देखियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् १९९५ देखि भ्रष्टाचारको विश्वव्यापी सूची प्रकाशित गर्दै आएको छ । भ्रष्टाचार बढी हुनुमा राजनीतिक नेतृत्वको भूमिका मुख्य रूपमा जिम्मेवार रहेको अध्ययनले देखाएका छन् । ग्रिक दार्शनिक प्लेटोले आफ्नो पुस्तक ‘रिपब्लिका’मा ‘भ्रष्टाचारका लागि राजनीतिक संस्था पर्खालपछाडिको वासस्थानजस्तै हुने’ बताएका छन् । राजनीतिक नेता भ्रष्ट हुँदा त्यसको कुप्रभाव सरकार, अदालत, संसद्, सेना, प्रहरी, अख्तियार आदिमा पर्ने अवस्था हुन्छ । संस्कृतिको निर्माणमा समेत राजनीतिक नेता र नेतृत्वको अग्रणी भूमिका हुने गर्छ । भ्रष्ट संस्कृतिले लोकतन्त्र, लोकतान्त्रिक मूल्य, सुशासन र प्रणाली कमजोर बन्न पुग्छ । 

अप्रजातान्त्रिक, कठोेर, सैनिक र निरंकुश शासन भएका तथा द्वन्द्वग्रस्त मुलुकमा बढी भ्रष्टाचार हुनुले पारदर्शी र लोकतान्त्रिक शासनमा तुलनात्मक रूपमा सुशासन बलियो हुने र भ्रष्टाचार पनि कम हुने अनुभव गर्न सकिन्छ

विश्वमा हेर्ने हो भने हरेक शासनमा भ्रष्टाचार हुने देखियो । विकसित र समृद्ध मुुलुक अमेरिकामा समेत भ्रष्टाचार रहेको देखिन्छ । फाँसीको कानुन लागू गर्दै आएको चीनमा धेरै भ्रष्टाचारीलाई मृत्युदण्ड दिइएको सुनिन्छ । सन् २०१७ मा चीनमा १५५१ जनालाई फाँसी दिइएकामा बढी भ्रष्टाचारमा आरोपित नै थिए । हालै प्रकाशित सन् २०२४ को प्रतिवेदनले चीनमा भ्रष्टाचार झनै बढेको देखायो । मृत्युदण्डको भयले पनि भ्रष्टाचारलाई कम गर्न नसकिँदोरहेछ भन्ने यसले प्रस्ट पार्छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेकाहरूसमेत भ्रष्टाचारमा मुछिएका छन् । राजनीतिक भ्र्रष्टाचारमा नागरिकको शक्ति, समर्थन र विश्वास प्राप्त गरी सत्ता र शासनमा पुगेपछि आफ्नो निजी लाभ वा हितबाट प्रेरित भई प्रणालीगत र नीतिगत भ्रष्टाचार गर्ने प्रवृत्ति रह्यो ।

अप्रजातान्त्रिक, कठोर, सैनिक र निरंकुश शासन भएका तथा द्वन्द्वग्रस्त मुलुकमा बढी भ्रष्टाचार हुनुले पारदर्शी र लोकतान्त्रिक शासनमा तुलनात्मक रूपमा सुशासन बलियो हुने र भ्रष्टाचार पनि कम हुने अनुभव गर्न सकिन्छ । सन् १९४५ अघि जर्मनीमा भएको हिटलरको शासन, उत्तर कोरियामा वर्तमान किम जोन उन नेतृत्वको शासन, द्वन्द्वग्र्रस्त सोमालिया, लिबिया, सिरिया आदि मुलुकमा भ्रष्टाचारको दर बढी हुनुले तानाशाही र निरंकुश सत्तामा बढी भ्रष्टाचार हुने प्रस्टै देखिन्छ । अर्कातर्फ, लोकतान्त्रिक भनिएको भारतमा सरकारी अस्पतालमा बिरामी भर्ना गर्दासमेत भ्रष्टाचार भएका घटना सार्वजनिक भएका छन् । पुराना र ठुला राजनीतिक दलहरूलाई भ्रष्टाचारी भएको भन्दै चर्काे विरोध गरी आएका अरबिन्द केजरिवाल स्वयं सराब घोटालामा जोडिए र जेल जान बाध्य भए । यहीकारण, विधान सभामा उनी र उनको पार्टी पराजित भए । पाकिस्तानमा अरूलाई भ्रष्ट र चोर भएको नारा दिने पूर्वप्रधानन्त्री इमरान खान भ्रष्टाचार अभियोगमा जेलमै रहेका छन् । 

सुशासन कार्यान्वयन नहुँदा भ्रष्ट संस्कृतिले प्रश्रय पाउँछ । भ्रष्टाचार विश्वव्यापी सामाजिक, कानुनी, शासकीय र राजनीतिक समस्या हो । ट्रान्सपरेन्सी इन्टरनेसनले ‘निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगलाई’ भ्रष्टाचार भनेर व्याख्या गरेको छ । भ्रष्टाचार गम्भीर प्रकृतिको सामाजिक तथा सरकारी फौजदारी अपराध हो । जसमा घुस, रिस्वत, आर्थिक अपचलन, नीतिगत भ्रष्टाचार, निर्णयगत भ्रष्टाचार, निर्वाचन भ्रष्टाचार आदि रहेका देखिन्छन् । विकासमा पछि परेका मुलुक तथा राजनीतिक अस्थिरता भएका, द्वन्द्वग्रस्त अप्र्रिmकी एवं दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानजस्ता मुलुकमा तुलनात्मक रूपमा बढी भ्रष्टाचार देखियो ।

सुशासन, कानुनी शासन र लोकतान्त्रिक प्र्रणाली स्थापित भएका युरोपेली मुलुक सबै दृष्टिले समृद्ध देखिए । भ्रष्टाचार प्राकृतिक र कानुनी व्यक्तिबाट हुन सक्ने भए पनि कानुनी व्यक्तिको सञ्चालनमा पनि प्राकृतिक व्यक्ति नै रहने हुनाले भ्रष्ट मान्छेले सबैतिर बर्बाद नै गर्ने रहेछ । विश्वमा भ्रष्टाचार बढी हुनुमा सामाजिक चेतना, शिक्षा प्रणाली, संस्कार, संस्कृति, सामाजिक नैतिकता र सुशासनको कमी हुनु जिम्मेवार देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा औँल्याइएअनुसार भ्रष्टाचार बढी हुने कारणमा शक्ति, पद र पैसाको चाहनामा वृद्धि, उच्चस्तरको राजनीतिक तथा आर्थिक हैसियतको तीव्र चाहना आदि रहेका देखिन्छन् । त्यसैगरी कमजोर प्रजातन्त्र, स्थापित प्रणालीको अभाव, पारदर्शिताको कमी, जवाफदेहिताको कमी र विधिको शासन नहुनुले पनि भ्रष्टाचार बढाउन सघाउँछन् ।

नागरिक नियन्त्रण र खबरदारीको कमी, सामाजिक जागरण र चेतनाको कमी, गरिबी र आर्थिक अवसरको अभाव, सामाजिक र राजनीति अस्थिरता आदिले पनि भ्रष्टाचारलाई मलजल गर्ने गरेको देखिन्छ । सारमा सुशासनको मर्म, मूल्य र मान्यताअनुसार राज्यहरू चलेका युरोपका मुलुकमा भ्रष्टाचारको दर न्यून हुनुले बढी भ्रष्ट मुलुकमा सुशासनको कमी भएको प्रस्ट हुन्छ ।
(डा. सिलवाल अधिवक्ता हुन्)