१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १४:५९:oo
Read Time : > 1 मिनेट
समाचार

रवि लामिछानेविरुद्ध चौथो मुद्दा दायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा चौथो मुद्दा दायर भएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनामा उनलाई पनि प्रतिवादी बनाइएको छ । सो सहकारीबाट १० करोड ८० लाख १९ हजार १५१ रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको र गोर्खा मिडियाका चारजना सञ्चालकलाई बराबर हुने गरी १० करोड ८० लाखको बिगो कायम गरिएको छ । जसअनुसार लामिछानेविरुद्ध दुई करोड ७० लाखबराबरको बिगो दाबी गरिएको छ । गोर्खा मिडियाका अन्य सञ्चालकमा जिबी राई, छविलाल जोशी र कुमार रम्तेल छन् । पूरक अभियोगमा ३२ जनालाई प्रतिवादी बनाइएको छ।

लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बमजन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलगायत विरुद्ध मुद्दा दायर भएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार सहकारीबाट पैसा गएका ६ वटा कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।  ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको उनले बताए । 

यसअघि गत ८ असोजमा प्रत्यक्ष रूपमा सहकारी ठगीमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको थियो। यसपटक सहकारीबाट गएको रकम खर्च गर्ने भूमिकामा रहेकालाई पनि प्रतिवादी बनाउन लागिएको छ। संसदीय छानबिन समितिले समेत सहकारीबाट पैसा लैजाने भूमिकामा लामिछानेको संलग्नता नदेखिएको भनेर प्रतिवेदन दिँदा पनि उनलाई मुद्दा चलाइएको रास्वापाको दाबी छ। 

लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौं र रुपन्देहीमा मुद्दा दायर भइसकेको छ। जसमा कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो। 
पर्सामा पनि प्रहरीले अनुसन्धान टुंग्याएर सरकारी वकिललाई फाइल बुझाउने तयारी गरेको छ। 

जिबी राईको समूहले सञ्चालन गरेका विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा  लगिएको र प्रबन्ध निर्देशकका रूपमा लामिछानेले पनि त्यो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाइएको छ। रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा लामिछानेविरुद्ध मुद्दा दायर गरिएको भन्दै विरोध गर्दै आएको छ।