१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Tuesday, 27 May, 2025
इ. प्रकाश थापा
२o८१ माघ २१ सोमबार o९:११:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ग्रामीण विकासका चुनौती र अवसर

ग्रामीण क्षेत्रमा विकासका नाममा अनियन्त्रित रूपमा प्राकृतिक स्रोत–साधनको दोहन र जथाभावी डोजरको प्रयोग चिन्ताजनक छ

Read Time : > 4 मिनेट
इ. प्रकाश थापा
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार o९:११:oo

ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीयलगायत समग्र दैनिक जीविकामा प्रभाव पार्ने आयाममा सकारात्मक परिवर्तनको प्रक्रिया हो, ग्रामीण विकास । जो आफैँमा एउटा जटिल विषय पनि हो । ग्रामीण विकासले समग्र राष्ट्रिय प्रगति र आर्थिक स्थायित्व सुनिश्चित गर्दै ग्रामीण जनतालाई उपयुक्त अवसर र स्रोतसाधन उपलब्ध गराएर उनीहरूको उत्थान तथा जीविकालाई सहज गर्ने लक्ष्य राखिएको समग्र दृष्टिकोणलाई परिभाषित गर्छ ।

ग्रामीण विकासले मानिसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । भौतिक पूर्वाधार निर्माणसँगै कृषि प्रणालीमा सुधार, स्रोत परिचालन र समुचित उपयोग, रोजगारीको सिर्जना, शिक्षा र स्वास्थ्यमा सुधार, खाद्य सुरक्षा, दिगो वातावरणीय सन्तुलन र विकासमा समावेशी समानुपातिक सहभागितासँगै समग्र समाजको आधुनिकीकरणजस्ता पक्षले ग्रामीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । ग्रामीण विकासले ग्रामीण जनताको जीवनलाई गुणात्मक रूपमा सहज बनाउन स्थानीयस्तरमा तर्जुमा हुने आयोजनामा स्थानीय जनसहभागिता कायम गरी सर्वसाधारण जनताको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दै विकास र स्थानीय स्रोत–साधनमा समानता र न्यायोचित वितरणको अवधारणामा विशेष ध्यान दिने हुँदा दिगो विकासमा ग्रामीण विकासले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

नेपालमा जम्मा ७५३ स्थानीय तहमध्ये ४६० गाउँपालिका रहेका छन् । साथै, ६ महानगरपालिका ११ उपमहानगरपालिका र २७६ नगरपालिकाका अधिकांश क्षेत्र पनि ग्रामीण भूभाग नै रहेकाले पनि नेपालमा ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसको संख्या ठुलो रहेको छ । जसले गर्दा ग्रामीण विकास राष्ट्रको समग्र समृद्धिका लागि अति महत्वपूर्ण छ । ग्रामीण विकासले नै देशको समृद्धि झल्काउने यथार्थलाई हामी सबैले बुझ्नुपर्छ । तर, ग्रामीण आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्न नसक्नु, थोपा विकासको अभ्यास, अस्थिर राजनीतिक अवस्था, विकास निर्माणमा जनसहभागिताको अभाव, राजनीतिक प्रतिबद्धताको कमी, भौगोलिक जटिलतालगायत ग्रामीण विकाससम्बन्धी अध्ययन र अनुसन्धानमा प्राप्त स्रोत र साधन पर्याप्त नहुनुजस्ता समस्याले नेपालमा ग्रामीण विकासको प्रयासले सन्तोषजनक उपलब्धि प्राप्त गर्न नसकिरहेको देखिन्छ ।

ग्रामीण क्षेत्रमा उपलब्ध अवसरलाई सही नेतृत्व, नीति र कार्यक्रममार्फत स्थानीय युवासँग जोड्न सकेमा ग्रामीण क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ

अझै पनि ग्रामीण क्षेत्रमा विकासका नाममा अनियन्त्रित रूपमा प्राकृतिक स्रोत–साधनको दोहन र जथाभावी डोजरको प्रयोगले गाउँको पर्यावरणमा नकारात्मक असर पर्ने कुराप्रति कसैको चासो देखिँदैन । राजनीतिक खिचातानी, नेतृत्वमा दीर्घकालीन सोचको अभाव, विकास निर्माणमा प्राविधिक ज्ञानको कमीसँगै वित्तीय स्रोतहरूको अभावले ग्रामीण विकासमा अपेक्षित प्रगति हुन नसकेको अवस्था छ ।

समग्र राष्ट्रको विकासमै अपेक्षित प्रगति हुन नसकिरहेको अहिलेको अवस्थामा ग्रामीण विकासमा पनि थुप्रै चुनौती बाधकका रूपमा रहेको देख्न सकिन्छ । तर, ती चुनौतीको सामना गरेर अगाडि बढ्न सकेमा पक्कै पनि नेपालको ग्रामीण क्षेत्रको विकासलाई अगाडि बढाउन सहयोग पुग्छ । वर्तमान परिपे्रक्ष्यमा देखापरेका केही चुनौती यहाँ उल्लेख गरिएको छ ।

पूर्वाधारको अभाव : नेपालका धेरै गाउँघरमा अझै पनि सडक सञ्जालको अवस्था दयनीय छ । सहज सडकको व्यवस्था नहुँदा स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण र आवतजावतमा ग्रामीण जनताले सास्ती भोग्नुपरिरहेको छ । धेरैजसो ग्रामीण बस्तीमा बिजुली र सञ्चार सुविधाको पहुँच आवश्यकताअनुरूप पुग्न नसकेको अवस्था छ । धेरैजसो स्वास्थ्य केन्द्र र विद्यालय अपूर्ण छन् वा गुणस्तरहीन अवस्थामा छन् । उपलब्ध स्रोत–साधनलाई परिचालन गर्ने दक्ष जनशक्तिसँगै पूर्वाधार अभावले नेपालका अधिकांश ग्रामीण बस्ती पछाडि परेका छन् ।

आर्थिक अवसरको कमी : नेपालका ग्रामीण क्षेत्रमा औद्योगिकीकरण हुन नसकेकाले रोजगारीका अवसर सीमित छन् भने पुर्खौंदेखि चल्दै आएको कृषिमा आधुनिकीकरण हुन नसक्दा उत्पादकत्वमा कमी छ । स्थानीयस्तरमा उपलब्ध स्रोत–साधनको उचित परिचालन गरी त्यसबाट आयआर्जनका स्रोत बढाउन सक्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि उचित नीति तथा कार्यक्रम नहुँदा ग्रामीण जनतामा बेरोजगारी बढ्दो क्रममा छ ।

युवाको विदेश पलायन : ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सीमित मात्रमा हुँदा युवा जनशक्ति बिदेसिने क्रम बढ्दै गएको छ । देशको युवा जनशक्ति बिदेसिँदा गाउँमा विकासका गतिहरू सुस्त भएका छन् । युवाको विदेश पलायनसँगै गाउँबाट सहरकेन्द्रित बसाइँसराइ बढ्दो छ । जसले गर्दा नेपालका अधिकांश ग्रामीण बस्तीमा जनशक्ति अभाव हुँदा विकास निर्माणमा जनसहभागिताको कमी भई विकासको गतिमा नकारात्मक असर परिरहेको छ ।

जलवायु परिवर्तन र प्राकृतिक प्रकोप : बाढी, पहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिले ग्रामीण क्षेत्रका मानिसको जीवनमा ठुलो प्रभाव पार्छ । जलवायु परिवर्तनका कारण कृषिमा नकारात्मक असर परेको देखिन्छ । ग्रामीण मानिसमा जलवायु परिवर्तनको असरबारे अझै पनि चेतनाको कमी छ । जलवायु परिवर्तनको असर र प्राकृतिक प्रकोपले निम्त्याउन सक्ने भयावह अवस्थाबारे ग्रामीण जनतालाई सरोकारवाला निकायले वेलैमा सुसूचित गर्नु आवश्यक छ ।

सामाजिक संरचनाका समस्या : नेपालका अधिकांश ग्रामीण क्षेत्रमा जातीय, लैंगिक र वर्गीय विभेद अझै पनि व्याप्त छ । महिला, दलित तथा अन्य पछाडि पारिएका समुदायको समुचित विकास हुन सकेको छैन । विकास निर्माण तथा उपलब्ध स्रोत–साधनको न्यायोचित तथा समानुपातिक वितरण अझै पनि हुन सकेको छैन । अझै पनि अधिकांश ग्रामीण बस्तीमा सामाजिक अन्याय कायम छ । जबसम्म समाजमा थिचोमिचो कायम रहन्छ, तबसम्म विकासको प्रतिफलमा जनताको बराबर पहुँच नहुने हुँदा सामाजिक संरचनाका समस्या समाधानतर्फ सरकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

भौगोलिक अवस्था र छरिएको बस्ती : नेपालको भौगोलिक अवस्था अत्यन्तै विविधतापूर्ण छ, जसले गर्दा जनसंख्याको वितरण र बसोवासका स्वरूप पनि फरक–फरक छन् । हिमाली र पहाडी क्षेत्रमा छरिएर रहेका बस्ती छन् भने तराईमा सहरीकरण तीव्र रूपमा बढिरहेको छ । नेपालको भौगोलिक संरचनाले यातायात, आर्थिक गतिविधि, कृषि प्रणाली तथा समाजको जीवनशैलीलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने गरेको छ । छरिएर रहेका बस्तीलाई समग्र विकासको दायरामा ल्याउनु खर्चिलो बनिरहेको छ ।

ग्रामीण विकासका चुनौतीसँगै ग्रामीण क्षेत्रमा पर्याप्त स्रोत र साधन उपलब्ध छन् । मात्र तिनीहरूको उपयुक्त परिचालन तथा उचित उपभोग आवश्यक छ । चुनौतीका बाबजुद समग्र नेपालको ग्रामीण क्षेत्रमा विभिन्न अवसर देख्न सकिन्छ । ग्रामीण क्षेत्रमा उपलब्ध अवसरलाई सही नेतृत्व र नीति तथा कार्यक्रममार्फत स्थानीय युवालाई जोड्न सकेमा ग्रामीण क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ । निम्नलिखित अवसर पहिल्याउन सकेमा पक्कै पनि ग्रामीण विकासले एउटा स्वरूप प्राप्त गर्न सक्छ :

कृषिमा आधुनिकीकरण र व्यवसायीकरण : कृषिमा प्रविधिको प्रयोग तथा विकास गरेर उत्पादन वृद्धि गर्न सकिन्छ । जैविक कृषि, चिया, कफी, जडीबुटी खेतीजस्ता उच्च बजार मूल्य भएका उत्पादनलाई प्रवद्र्धन गर्न सकिन्छ । स्थानीय स्रोतसाधनमा आधुनिक प्रविधिको उच्चतम उपभोग गर्दै ग्रामीण जीवनको समृद्धि, आत्मनिर्भरता र स्वच्छता निर्माण गर्न सकिन्छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीलाई नजिकको बजारसम्म पु¥याएर त्यसको बिक्री वितरण सुनिश्चित गर्नुपर्छ । साना तथा मझौला उद्यममार्फत स्थानीयस्तरमा उत्पादन हुने वस्तुको उत्पादनलाई व्यवसायीकरण गर्न सकिन्छ ।

पर्यटन प्रवर्द्धन : प्राकृतिक स्रोतले परिपूर्ण ग्रामीण क्षेत्रमा ग्रामीण पर्यटन, होमस्टे, साहसिक पर्यटन र सांस्कृतिक पर्यटनको विकास गरेर आयआर्जन गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा रहेका प्रसिद्ध पर्यटकीय स्थलबाट नजिक पर्ने गाउँलाई पर्यटकीय गतिविधिमा जोड्न सकिन्छ । पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्दै युवालाई स्थानीयस्तरमा व्यवसायको सम्भावना देखाउन सकिन्छ ।

लघु उद्यमलाई प्राथमिकता : गाउँमा स्थानीय स्रोतको उपयोग गरी साना उद्योग, जस्तै– कपडा, हस्तकला, दुग्ध व्यवसायलगायत अन्य उद्योग खोल्न सकिन्छ । लघु उद्यममार्फत स्थानीय उत्पादनलाई नजिकको सहरसँग बजारीकरणको सम्बन्ध स्थापित गर्न सकिन्छ । सहकारी प्रणालीमार्फत साना कृषक तथा व्यवसायीलाई वित्तीय पहुँच प्रदान गर्न सकिन्छ ।

प्रविधि र डिजिटल पहुँच : ग्रामीण बस्तीमा भरपर्दो र उच्च गतिको इन्टरनेट विस्तार गरी शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सकिन्छ । इन्टरनेट तथा मोबाइल प्रविधिको विस्तारले ग्रामीण क्षेत्रका मानिसलाई शिक्षा स्वास्थ्य तथा व्यापारमा सजिलो बनाइरहेको छ । यसलाई अझ प्रभावकारी ढंगबाट समेट्न प्रविधिको प्रयोगबारे जनचेतनाका कार्यक्रममार्फत सूचित गर्न सकेमा डिजिटल बैंकिङ, अनलाइन बैंकिङ, अनलाइन मार्केटिङ तथा प्रविधियुक्त कृषिको विकासले ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउन सकिन्छ । स्थानीय स्रोत–साधनमा आधुनिक प्रविधिको प्रयोग गर्दै ग्रामीण जीवनको समृद्धि, आत्मनिर्भरता र स्वच्छता निर्माण गर्न सकिन्छ । 

नवीकरणीय ऊर्जा प्रवर्द्धन : साना जलविद्युत्, सौर्य ऊर्जा तथा बायोग्यास परियोजनाले ग्रामीण क्षेत्रलाई स्वावलम्बी बनाउन सक्छन् । सरकार र निजी क्षेत्रको सहकार्यमा ऊर्जा विकासको अवसर बढाउन सकिन्छ । जलवायु परिवर्तनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै आर्थिक आत्मनिर्भरता बढाउन सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास र स्थानीय नदी खोलाबाट निकालिने जलविद्युत्जस्ता नवीकरणीय ऊर्जा उत्पादन र उपभोगमार्फत ग्रामीण विकासलाई मजबुत गर्न सकिन्छ ।

नेपालको ग्रामीण विकासमा जेजस्ता चुनौती भए पनि सही नीति, प्रविधिको प्रयोग र स्थानीय समुदायको सक्रिय सहभागिताले ती समस्या समाधान गर्न सकिन्छ । यदि कृषिमा आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमा जोड दिने हो भने नेपालका गाउँहरू आत्मनिर्भर बन्न सक्छन्, जसले समग्र राष्ट्रको आर्थिक वृद्धि र दिगो विकासमा टेवा पु¥याउन सक्छ । विकासमा आधुनिकीकरणसँगै सामाजिक, सांस्कृतिक तथा वातावरणीय सन्तुलनलाई कायम राख्न सकेमा ग्रामीण विकास दिगो बन्न सक्छ ।