१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१२:oo
Read Time : > 1 मिनेट
समाचार

भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने युवक पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

नाटकीय शैलीमा १५ जनाभन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन्। नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका- १६ बस्ने दिनेश घिमिरेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

आफूलाई कुशल ठकुरीको रूपमा पहिचान दिलाउने गरेका उनले भन्सार कर्मचारी र सिआइबीको कर्मचारी बनेर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। 

धेरैले उनलाई भन्सारले बरामद गरेकाे सुन र आइफोन सस्तो मूल्यमा मिलाइदिने भनेर ठगी गरेका छन्। एक सुनपसलेलाई ४२ तोला सुन १० लाखमा दिने भन्दै ठगी गरेका थिए। 
एक महिलासँग त्यसैगरी २२ लाख रुपैयाँ ठगीको उजुरी परेको छ। 

एक युवकलाई मंगलबार मात्र उनले सस्तोमा आइफोन बेच्ने बहानामा ठगी गरेका थिए। केही दिनअघि ग्यारेजमा जाने क्रममा चिनजान भएका घिमिरेले ती युवकलाई न्यायाधीशको भान्जो भएको र उनकै अफिसमा काम गर्ने भनेर चिनाएका थिए। पछि आफू एयरपोर्ट भन्सारमा सरुवा भएको भन्दै फोन गरे। ‘आइफोन प्रोम्याक्स १६ सस्तो मूल्यमा आएको छ भन्दै फकाएर हिजो पैसा हाल्न लगाए,’ अपराध अनुसन्धान कार्यालयमा भेटिएका ती पीडितले भने, ‘निकै कर गरेपछि ९५ हजार हालिदिएँ, एयरपोर्ट गेटमा फोन लिन बोलाए, जाँदाखेरी आफू डिउटीका कारण व्यस्त भएको भन्दै बुधबार बिहान नौ बजे भेटेर फोन दिने बताए, बिहान फोन गर्दा उनको फोन प्रहरीले उठाए, ऊ पक्राउ परिसकेको रहेछ।’ 
कतिपयलाई गाडी सस्तोमा दिने भनेर ठगी गरेको उजुरी परेको छ। 

अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यका अनुसार घिमिरे २०७२ सालदेखि नै पेसेवर ठगीमा संलग्न छन्। यसअघि नै उनीविरुद्ध १२ वटा मुद्दा दर्ता भएकोमा हाल ११ वटा ठगीका निवेदन प्रहरीमा पुगेका छन्। सिआइबीको प्रहरी हुँ भन्दै नजिकिएर कतिपयलाई जागिरको प्रलोभनमा उनले शोषणसमेत गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्। हाल ८० लाखबराबर ठगीको उजुरी परेकोमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको देखिएको प्रहरीले जनाएको छ।

‘ऊ यति मिठो बोल्छ कि विश्वासमा पारेर पैसा भुत्काइहाल्छ,’ प्रहरीमा भेटिएकी एक युवतीले भनिन्, ‘अहिले पो नटरवरलाल रहेछ भन्ने थाहा भयो।’ उनले पैसा भने सकेसम्म नगदै लिने र बैंकिङ कारोबार गर्दा पनि अन्य व्यक्तिको खातामार्फत गराउने गरेको प्रहरीले जनाएको छ। 

एक युवतीलाई भेट्न गएका वेला प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।