१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o७:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बर्दीबासमा बन्न लागेको फनपार्क विवादमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२१:oo

३९ बिघामा फनपार्क बनाउन नगरपालिकाले २८ जनाको निजी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरेपछि जग्गाधनीहरूको आपत्ति, जग्गाको कम मूल्यांकन गरी अधिग्रहण गर्न लागेको आरोप

महोत्तरीको बर्दीबास नगरपालिका– १४ स्थित रातु नदी किनारमा करिब ३९ बिघा जग्गामा बन्ने भनिएको फनपार्क विवादमा परेको छ । फनपार्कलाई बर्दीबास नगरपालिकाले गौरवको योजनाअन्तर्गत बनाउने घोषणा गरेको छ ।

३६ बिघा ऐलानी जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको र थप तीन बिघा जग्गा व्यक्तिको अधिग्रहण गर्न कार्य थालेपछि फनपार्क विवादमा परेको हो । फनपार्क बनाउन २८ जनाको निजी जग्गा अधिग्रहणका लागि पत्रिकामा सूचना प्रकाशित भएपछि जग्गाधनीहरूले भूमाफियाको चलखेल भई आफूहरूको जग्गा कम मूल्यांकन गरी अधिग्रहण गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । 

जग्गाधनी गंगाराम खड्काले आफूहरूको सहमतिविना नगरपालिकाले मालपोतबाट जग्गा रोक्कासमेत गराएको बुझेकाले मिडिया गुहारेको बताए । उनले जग्गाबाट करोडौँको बालुवा–गिट्टी निकालेर भूमाफियालाई बेच्ने योजना रहेको बताए । त्यहाँ फनपार्कको नाममा ठुलो चलखेल हुन लागेको दाबी गरे । ‘नगरआसपास करिब हजार बिघाभन्दा बढी सरकारी ऐलानी, पर्ती जग्गा हुँदाहुँदै प्रस्तावित फनपार्क क्षेत्रमै पार्क बनाउने सोच्नु त्यो क्षेत्र गिट्टी–बालुवाको भण्डार भएर हो । नगरबाट ५–७ किलोमिटरको दूरीमा किसाननगर, हात्तीलेट, पाटु, माइस्थानआसपासको मनोरम प्राकृतिक स्थलमा फनपार्क बनाउँदा पर्यटनको विकासले नगरबाट ओझेल परेका क्षेत्रको पनि आर्थिक समृद्धि हुन्छ । तर, हाम्रो जग्गामा मूल खानी छ । यसैले जग्गाधनीसँग कुनै छलफल नगरी १५ दिने सूचनाको नाममा महोत्तरी जिल्ला प्रशासन कार्यालयले सात दिनभित्र निवेदन हाल्न आउनू भनेर मुआब्जाको सूचना निकाल्नुमा भूमाफियाको चलखेल भएको हाम्रो ठहर छ,’ जग्गाधनी विनोद पौड्यालले भने ।

बर्दीबास नगरपालिकाले भने उक्त जग्गामा गौरवको योजनाअन्तर्गत फनपार्क बनाउने प्रक्रिया सुरु भएको बताएको छ । नगरपालिकाका प्रवक्ता विजय महतोले चारैतिर सरकारी जग्गा रहेको बताउँदै सोही जग्गा उत्तम भएकाले पार्क बनाउन आवश्यक जग्गामा केही निजी जग्गा परेकोमा उनीहरूलाई उचित मूल्यांकन गरी मुआब्जा दिने तयारी रहेको बताए । 

होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीले रातु नदीको किनार बलौटे स्थान भएकाले तराई मधेशमा हुने करिब आठ महिनाको गर्मीले फनपार्क गर्मी मौसममा व्यावसायिक हुन नसक्ने बताए । बर्दीबासमै पार्क निर्माण गरेमा अलि हरियाली स्थल उपयुक्त हुने उनको भनाइ छ ।