१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
साङ जिन वेई
२०७६ जेठ १९ आइतबार ०६:३०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

यसकारण चीन–अमेरिका वार्ता भंग

Read Time : > 3 मिनेट
साङ जिन वेई
२०७६ जेठ १९ आइतबार ०६:३०:००

विश्व अर्थतन्त्र

अमेरिका चीन व्यापार वार्ता भंग हुनु आफैँमा दुःखद कुरा हो । वार्ता भंगपछि कर बढाउने विषयमा यी दुई देश जसरी लडाइँ गरिरहेका छन् । यसले निश्चय नै विश्वव्यापी प्रभाव पार्नेछ । यति वार्ता भंगमा कसको गल्ती छ भन्ने बहस पनि निकै तातेको छ । चिनियाँ पक्षले अमेरिकाले बुझ्न नसकेको आरोप लगाएका छन् । अमेरिकाले भने चीनले सम्झौता भइसकेको विषयबाट पनि पछि हटेकाले वार्ता भंग भएको जिकिर गरेको छ । 

जे भए पनि अमेरिका चीनबीचको कटुताले निकै ठूलो आर्थिक हलचल निम्त्याइसकेको छ । अमेरिकी वार्ता संयोजक र राष्ट्रपति डोनाल्ड ट्रम्प निकै आक्रोशित भए र मे १० मा चीनबाट हुने २ खर्ब डलरबराबरको आयातमा दोब्बर महसुल लगाइदिए । यसले अब चिनियाँ सामान अमेरिकामा महँगो हुनेछ । चीनले निर्यात प्रतिस्पर्धा गुमाउनेछ । यो कठिनाइ चिनियाँ कम्पनीलाई मात्र हुने छैन, चीनमा आधार क्षेत्र बनाएर व्यापार गरिरहेका अमेरिकी बहुराष्ट्रिय कम्पनीलाई पनि कठिन हुनेछ । 

चीनतर्फका प्रमुख वार्ता संयोजक लिउ हीले भने धेरै बुँदामा सहमति भए पनि अन्तिम बुँदातिर अन्योल भएकाले सम्झौता हुन नसकेको र वार्ता भंग भएको बताउँछन् । चीन पनि के कम, उसले पनि ६० अर्ब डलरबराबरको अमेरिकी वस्तुको आयातमा महसुल बढाउने घोषणा गरिसकेको छ । विश्वको एक ठूलो बजार चीन भएकाले अमेरिकालाई यो घोषणाले पक्कै ठूलो असर पर्नेछ । पछिल्लो अमेरिका चीनको यस्तो व्यवहारले छिट्टै कुनै वार्ता हुने र त्यो सफल हुनेमा शंका उत्पन्न गरेको छ । 

खैर, त्यतातिको कुरा एक छिनलाई छाडौँ । विश्वस्तरका नेताहरूको काममा हामीले किन धेरै टिप्पणी गरिराख्नु ? यो लेख, वार्ता भंग हुने विषयमा बढी केन्द्रित पनि होइन । वार्ताका क्रममा के कस्ता कठिनाइ आउँछन् । कसरी बुझाइमा फरक पर्छ र एक–अर्कासँग रुष्टिन्छन् भन्ने विषयमा केन्द्रित छ । वार्ता भंग हुनुको मुख्य कारण यही हो भनेर ठोकुवा गर्न सकिँदैन । तर, मेरो अध्यापनको अनुभवले के भन्छ भने वार्ताको नियम र तरिकामा भएको बुझाइ मतभेदले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । 

मैले १० वर्षदेखि कोलम्बिया बिजनेस स्कुलमा पढाउँदै आएको छु । त्यहाँ एक्जिक्युटिभ कोर्स पढाउँछु । यसै क्रममा मैले एक डेमो गरेँ । हामी अमेरिका र चिनियाँ टिमबीचको एक नक्कली वार्ता सम्झौता गर्छौं । त्यसपछि हामी कुनै संस्कृतिभित्र नियम र तरिकामा कस्तो भिन्नता हुन्छ भन्नेबारे छलफल गर्छौं । यस्तो गर्नु किन उपयुक्त हो भने चीन अमेरिकाको संस्कृतिमा आकाश–जमिनको फरक छ । दुवै देशका नागरिकले एक–अर्काको संस्कृति बुझ्न धेरै समय लाग्छ । संस्कृतिमा दुवै पक्ष एक–अर्काप्रति जानकार नभएका अवस्थामा सानो बुझाइले पनि वार्ता असफल बनाउन सक्छ । 

अमेरिका र चीनबीच ९ शीर्षक समावेश भएका बुँदाहरूमा सम्झौता गर्नुपर्ने थियो । तीन दिन चलेको वार्तामा दुई दिनसम्म ६ शीर्षकसम्म सहमत भए । अन्तिम दिन उनीहरू तीन शीर्षकमा चीन र अमेरिकाबीचको संस्कृतिको बुझाइमा फरक आइदियो । तिनीहरूले यस्तै विभिन्न बाधाको सामना गरे । अमेरिकाले चीनलाई बुझाउन नसक्ने र चीनले अमेरिकालाई बुझाउन नसक्ने चाकाचुली चलिरहेका वेला चीनले अघिल्ला बुँदामा पनि संशोधन गर्नुपर्ने प्रस्ताव गर्‍यो । खासमा अमेरिकाले पछिल्ला बुँदा नबुझेकाले तिनको बुझाउने क्रममा अघिल्ला बुँदा पनि संशोधन गर्नुपर्ने प्रस्ताव राखेको थियो । 

अधिकांश अमेरिकीहरू चेकलिस्ट दृष्टिकोण अपनाउँछन् । उनीहरू नौवटै शीर्षक समेट्नुपरे पनि पालैपालो हरेक शीर्षकमा सहमत हुँदै सम्झौता गर्न चाहन्छन् । उता चिनियाँहरू भने सबै कुरा सहमत नभएसम्म कुनै पनि कुरामा सम्झौता गर्न चाहँदैनन् । चिनियाँहरू पूर्णतावादी दृष्टिकोण राख्छन् ।

अमेरिका अघिल्ला बुँदा संशोधन गर्न तयार देखिएको भए चीन पछिल्ला तीन बुँदामा अमेरिकाले चाहेअनुसार सहमत भइदिन तयार थियो । तर, यो कुरा ट्रम्पले बुझेनन् । उनी आगो भइहाले । फलतः वार्ता भंग भयो । 

यस परिप्रेक्ष्यमा अमेरिकी समूहले चिनियाँ पक्ष अविश्वसनीय र निष्ठाहीन भएको ठान्न सक्छ । चिनियाँ पक्षले अमेरिकीहरू भेँडा देख्न सक्छ । यसलाई वार्ताको तरिकामा भिन्नता भन्न सकिन्छ । यस्तै, भिन्न तरिकाले कुनै पनि पक्ष सन्तुष्ट नभई वार्ता भंग हुन सक्छ । हामीले पनि ठ्याक्कै त्यस्तै डेमो गरेका थियौँ, जस्तो अमेरिका–चीन व्यापार वार्ता भएको थियो । 

अधिकांश अमेरिकीहरू चेकलिस्ट दृष्टिकोण अपनाउँछन् । यदि उनीहरूले ९ वटै शीर्षक समेट्नुपरे पनि पालैपालो हरेक शीर्षकमा सहमत हुँदै सम्झौता गर्न चाहन्छन् । 
उता चिनियाँहरू भने सबै कुरा सहमत नभएसम्म कुनै पनि कुरामा सम्झौता हुन सक्दैन भन्ने पूर्णतावादी दृष्टिकोण राख्छन् । 

माथिका उदाहरणमा जब चिनियाँ पक्षले पहिलो ६ वटा शीर्षकमा सहमति व्यक्त गरे त्यतिवेला उनीहरूले वार्ताको अन्त्यतिर अन्तिम तीन बिन्दुहरू कस्ता देखिन्छन् भन्नेबारे हलुका अनुमान लगाएका थिए । यी तीनवटा शीर्षकबारेको छलफल अनुमान गरेभन्दा केही फरक देखियो, उनीहरूले पहिलो ६ वटा शीर्षकमा पुनः फर्केर हेर्ने विचार गरे । किनकि ९ वटा शीर्षकहरूबीच विभिन्न व्यापारिक सम्झौतामा परिवर्तन देखिएको थियो । 

यदि माथिका यस्ता बाधा चीनका दुई प्रतिस्पर्धी समूहबीच भएको भए कुनै पनि पक्षले पहिलो ६ वटा शीर्षकबारे पुनर्विचार गर्ने प्रस्तावलाई आश्चर्यका रूपमा लिँदैन थिए । दुवै पक्षले यी ६ बिन्दुमा भएका सम्झौता अस्थायी हुन् र अन्तिम तीन शीर्षकमाथि भएका छलफलको निष्कर्षका आधारमा यसलाई पुनः संशोधन गर्न पनि सकिन्छ भन्ने अनुमान लगाएका हुन्थे ।

त्यसो भए सांस्कृतिक पृष्ठभूमिको भिन्नतासँग कसरी जुझ्ने त ? मेरो कक्षामा मैले मेरा विद्यार्थीलाई के सुझाब दिँदै आएको छु भने उनीहरूले आफ्नै नियम सर्वव्यापी मान्यताबाट मुक्त हुनु जरुरी छ । उनीहरूले पहिला वार्तालाई चलाउने नियमबारे छलफल गर्न आवश्यक छ । 

चेकलिस्ट वा सबै पक्षमा सहमित नहुन्जेल कुनै पक्षमा पनि सहमत हुन सकिँदैन भन्ने दुवै दृष्टिकोण स्थापित गर्न तयार हुनुपर्छ । उदाहरणका लागि, युरोपेली संघले बेलायतसँगको ब्रेक्जिट वार्तामा पछिल्लो दृष्टिकोणलाई अपनाएको थियो । अर्थात् सबै सहमति नहुन्जेल कुनै पनि सहमति गर्न सकिँदैन । 

तर, यी दुवै पक्षलाई यी विविध शैलीबारे थाहा छैन भने विचारमा द्वन्द्व पर्न सक्छ । वार्ता सुरु गर्नुअघि के–कसरी गर्ने भन्नेबारे पहिल्यै छलफल भएको खण्डमा यसले विवादको सम्भावना घटाउँछ र निराश हुनबाट पनि जोगाउँछ ।

जुनसुकै मामिलामा पनि सबै पक्ष स्वीकृत नहुन्जेल कुनै पनि सहमति हुँदैन भन्ने दृष्टिकोण अमेरिकी पक्षले बुझ्नु जरुरी थियो । दुवै पक्षले यो नियमलाई स्विकारेका भए वार्ता भंग हुने सम्भावना कम हुन्थ्यो । अमेरिकी समूहले पनि अन्तिम तीन शीर्षक आफूले भने जसरी घटनाक्रम विकसित नभएको अवस्थामा पहिला ६ शीर्षकमा भएका सहमतिलाई संशोधन गर्न तयार हुने थियो । 

अन्तर्राष्ट्रिय वार्ताकारहरू सजग हुनुपर्ने अरू पनि सांस्कृतिक भिन्नता छन् । उदाहरणका लागि एक सम्झौताको प्रस्तावसँग जोडिएको महत्व भिन्दै हुन सक्छ । र, चिनियाँ समूहले विभिन्न तत्वलाई प्रमाणित गर्न खर्चिरहेको समयलाई अमेरिकाले खेर गएको समयका रूपमा पनि लिन सक्छन् । 

अब हामी के निष्कर्षमा पुग्न सक्छौँ भने, कुनै पनि राष्ट्रबीचको सम्झौता सांस्कृतिक भिन्नताका कारण निकै कठिन हुन सक्ने अमेरिका र चीनबीचको व्यापार वार्ताले देखाएको छ । यी दुई देश अत्यन्त विकसित मात्र होइन, अत्यन्त विज्ञ समूह भएको देश पनि हो । त्यसैले यस्ता सांस्कृतिक भिन्नता बुझ्नु आवश्यक थियो । यदि यस्तो संस्कृतिक भिन्नता बुझेको भए दुईबीचको वार्ता भंग हुने सम्भावना अत्यन्त न्यून हुन्थ्यो ।

 वेई एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थविद् कोलम्बिया युनिभर्सिटीमा चिनियाँ व्यवसाय र वित्तीय तथा अर्थशास्त्रका प्राध्यापक हुन् ।

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य