मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Thursday, 05 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार o८:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारले थाल्यो उपनिर्वाचनको सुरक्षा तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o८:४७:oo

नेपाल प्रहरीले एसएसपीको कमान्डमा गठन गर्‍यो विशेष सुरक्षा सेल

गृह मन्त्रालयले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको सुरक्षा तयारी थालेको छ । गृहको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालयमा एसएसपीको कमान्डमा विशेष सुरक्षा सेल गठन गरेर निर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखसँग सुरक्षा चुनौती र निवारणका विवरण माग्न सुरु गरेको हो । 

प्रहरीका अनुसार जिल्लाबाट आएका विवरण विश्लेषणपछि सुरक्षा चुनौतीको दृष्टिकोणका आधारमा निर्वाचनस्थल वर्गीकरण र सुरक्षाकर्मी परिचालन गर्ने योजना छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले उपनिर्वाचनको सुरक्षा प्रयोजनार्थ एसएसपीको कमान्डमा सुरक्षा सेल गठन गरिएको बताए । उनले भने, ‘उपनिर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्धको काम सुरु भइसकेका छन् । हामीले केन्द्रमा एसएसपीको कमान्डमा विशेष सेल गठन गरेका छौँ । सोही सेलबाट उपनिर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध हुनेछ ।’

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन भइसकेको छ । उपनिर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै सेना र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि परिचालन हुनेछन् । गृहले निर्वाचन सुरक्षाका लागि उनीहरूसँग पनि आवश्यक समन्वय सुरु गरेको छ । गृहका प्रवक्ता ऋषिराम तिवारीले उपनिर्वाचन सुरक्षाका लागि आवश्यक तयारी सुरु भइसकेको बताए । उनले भने, ‘उपनिर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने काम सुरु भइसकेका छन् । चारवटै सुरक्षा संयन्त्रसँग यस विषयमा आवश्यक छलफल र निर्देशन दिने काम भइसकेका छन् । हामीसँग विगतका अनुभव पनि छन् । सोही मोडालिटीमा सुरक्षा प्रबन्ध मिलाउने हो । यसका लागि काम अघि बढिसकेका छन् ।’

गृहको निर्देशनपछि सशस्त्र प्रहरीले पनि केन्द्रमा एसएसपी वा डिआइजीको कमान्डमा विशेष सुरक्षा सेल गठनको तयारी गर्दै छ । निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध सोही सेलबाट हुने सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘उपनिर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने काम सुरु भएको छ । केही दिनभित्रै एसएसपी वा डिआइजीको कमान्डमा एउटा विशेष सेल गठन हुनेछ । सोही सेलको कमान्डमा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने काम हुनेछ,’ उनले भने ।