मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
कमल खत्री म्याग्दी
Invalid date format o६:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोत मन्दिरमा राँगोको मार हान्न लाखौँ रकमको बोलकबोल 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

म्याग्दीको  रघुगंगा गाउँपालिका– २ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । 

बिहीबार राति भएको कालरात्रिमा खुला बढिबढाउमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढिबढाउमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका– ३ अक्षेताका सोवित भण्डारीले सबैभन्दा धेरै चार लाख ७१ हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी मार हान्न छनाेट भएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।

बढिबढाउको अन्तिम समयमा भगवतीका रमेश कटुवाल र अक्षेताका भण्डारीबिच बोल रकममा तीव्र प्रतिस्पर्धा भएको थियो । बोलेर रकम कबोल गर्दा विवाद भएपछि समितिले तीन मिनेटको समय दिएर अन्तिमपटकका लागि लेखेर रकम बोल्न लगाएकोमा भण्डारीको तर्फबाट बढिबढाउमा सहभागी लक्ष्मण भण्डारीले सबैभन्दा धेरै रकम कबोल गरेका थिए । कटुवालले चार लाख ५० हजार रुपैयाँ कबोल गरेका थिए । सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै सरकारी मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुंगो लगाइएको भगवतीका वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिए । 

यसअघि गत वर्षको नवमीमा तीन लाख ३० हजार, ०७९ सालको नवमीमा तीन लाख १५ हजार, ०७८ सालको दसैँको नवमीमा तीन लाख, ०७६ सालको दसैँमा दुई लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बिचमा खुला बोलकबोल गर्ने परम्परागत चलन छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । 

तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बढिबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।