१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Sunday, 13 October, 2024
लक्ष्मी वेणुगोपाल मेनन
२o८१ असोज १ मंगलबार ११:o६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एकता छैन तालिबानभित्र 

Read Time : > 2 मिनेट
लक्ष्मी वेणुगोपाल मेनन
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार ११:o६:oo

प्रतिस्थापन र बहिष्करणको संस्कृतिलाई प्रोत्साहन गरी तालिबानको नयाँ पुस्तालाई दबाइँदै छ

यही २१ अगस्टमा अफगानिस्तानले यातायात, मिडिया, संगीत र व्यक्तिगत आचरणलाई समेट्ने कडा सार्वजनिक नैतिकता कानुन जारी गरेको छ । यसका मुख्य प्रावधानमा महिलालाई सार्वजनिक रूपमा गीत गाउन वा ठुलो स्वरमा पढ्न प्रतिबन्ध लगाइएको छ । यो कानुन ठुलो अन्तर्राष्ट्रिय निन्दाको विषय बनेको छ । र, विगतमा महिलामाथिका प्रतिबन्ध कम गर्ने वाचा गरेको तालिबानको यस कदमलाई लिएर चिन्ता बढेको छ ।

कानुनले अफगानिस्तानमा असहजता निम्त्याएको थियो, यद्यपि सार्वजनिक विरोधलाई मौन बनाइएको थियो । प्रतिक्रियामा तालिबान नेता मुल्ला हैबतुल्लाह अखुन्दजादाले तालिबानबिच एकताका लागि आग्रह गरेका थिए । यसले अफगानिस्तानमा कानुनले विश्वव्यापी आलोचना निम्त्याए पनि अति पुरातनपन्थी नीतिप्रति समूहको प्रतिबद्धतामाथि जोड दिन्छ र बढ्दो आन्तरिक तनावलाई पनि उजागर गर्छ ।

कान्दहारविरुद्ध काबुल : अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु र तालिबानले सन् २०२१ म काबुल कब्जा गर्नुअघि केही तालिबान अधिकारीले अन्तर्राष्ट्रिय समुदायलाई अब नरमपन्थी ‘तालिबान २.०’को शासन चल्ने भनेर बुझाउने प्रयास गरेका थिए । यो नयाँ गुटले नयाँ सरकारका लागि अन्तर्राष्ट्रिय समर्थन र वैधता प्राप्त गर्न पुरातनपन्थी नीति त्याग्न खोजेको थियो । 

अन्तरिम मन्त्रिपरिषद्को गठनले समावेशी सरकारको प्रतिबद्धता पूरा नगर्ने संकेत देखाउँदै तालिबानको पुरानो नेतृत्वले नै सत्ता कायम राखेको संकेत गरेको थियो । प्रमुख भूमिका पुरानो नेतृत्व अर्थात् संस्थापनलाई नै दिइयो, जसमा तालिबान संस्थापकमध्येका एक मुल्लाह मोहम्मद हसन अखुन्द प्रधानमन्त्री, अर्का संस्थापक मुल्लाह अब्दुल घानी बरादर उपप्रधानमन्त्री र तालिबानका संस्थापकमध्येका तेस्रा मुल्लाह ओमरका छोरा मुल्लाह मोहम्मद याकुब रक्षामन्त्री भए । अन्तरिम सरकारले देशलाई स्थिर बनाउन संघर्ष गरिरहँदा अखुन्दजादाले राजनीतिक, सैन्य र धार्मिक मामिलामा नियन्त्रण घोषणा गर्दै कान्दहारमा आफ्नै शक्तिको आधार स्थापना गरेका थिए । तालिबानले विगत दुई वर्ष अर्थात् मार्च २०२२ देखि माध्यमिक विद्यालय र विश्वविद्यालयमा बालिका एवं महिलालाई प्रतिबन्ध लगाउने आदेशसहित कट्टरपन्थी अडान कायम राखेको छ ।

अखुन्दजादाले शक्ति केन्द्रित गर्ने र संस्थापनको नियन्त्रणलाई सुदृढ पार्ने काम गरेका छन्, जसमा बफादार नियुक्त गर्न मन्त्रिपरिषद्मा फेरबदलको आदेश दिएका थिए । सेप्टेम्बर २०२२ मा उनले शिक्षामन्त्री नुरउल्लाह मुनिरलाई हटाएर घनिष्ट सहयोगी मौलवी हबिबुल्लाह आगालाई प्रतिस्थापित गरेका थिए । मे २०२३ मा अफगान सरकारका एक मात्र विशेषज्ञ प्रशासक रहेका स्वास्थ्यमन्त्री कलन्दर इबादलाई कट्टरपन्थी धर्मगुरु नुर जलालबाट प्रतिस्थापन गरियो ।

अखुन्दजादा हाबी रहँदा आन्तरिक विभाजन बढ्ने संकेत देखिएको छ । फेब्रुअरी २०२३ मा आन्तरिक मन्त्री सिराजुद्दिन हक्कानीले अखुन्दजादाको अस्पष्ट आलोचना गरेका थिए । जहाँ उनले ‘सत्ताको एकाधिकार र सम्पूर्ण प्रणालीको प्रतिष्ठामा चोट पुर्‍याउनु हाम्रा लागि लाभदायक छैन..., यो स्थिति सहन सकिँदैन’ भनेका थिए । आफ्नो इद अल–फित्र सन्देशमा आन्तरिक मन्त्रीले आन्तरिक तनावलाई संकेत गर्दै तालिबानलाई अफगान जनतामाझ विभाजन ननिम्त्याउन आग्रह गरेका थिए । अखुन्दजादाले अधिकारीलाई मतभेद त्यागेर देशको सेवा गर्न आह्वान गरेका थिए र यो सन्देश उनले बारम्बार दोहोर्‍याएका थिए, जसमा स्थानीय नेतासँग भेट्न उत्तरी अफगानिस्तान गएका वेलाको हालैको यात्राको अभिव्यक्ति पनि समावेश छ ।

भिन्न मत र मौन बनाउने प्रयास : सार्वजनिक नैतिकता कानुनलाई पहिला प्रवद्र्धन मात्रै गरिएको थियो, तर लागू गरिएको थिएन । यद्यपि अहिले तालिबानले नियम लागू गरेको छ, जसले सद्गुणको प्रवद्र्धन र अधर्म रोकथामका लागि बनाइएको मन्त्रालयलाई कानुन उल्लंघन गर्नेलाई सजाय दिने शक्ति दिन्छ । यो कदमले सर्वोच्च नेताको नेतृत्वमा रहेको संस्थापनले नीतिलाई नियन्त्रण गर्छ अर्थात् तालिबान २.० सन् १९९० को दशकको तालिबानको ‘मत्थर’ संस्करण नभएको प्रमाणित गर्छ । तालिबान प्रतिनिधिले एकपटक अन्तर्राष्ट्रिय समुदायलाई खुसी पार्न कट्टरपन्थी अधिकारी बदलिन सक्ने संकेत दिएका थिए । यद्यपि हालसालैका घटनाक्रम अर्थात् सद्गुण एवं अधर्म रोकथाम कानुन तर्जुमालगायत घटनाले संस्थापन कठोर अडानमार्फत एकता कायम राख्नमा केन्द्रित भएको स्पष्ट हुन्छ । डर, प्रतिस्थापन र बहिष्करणको संस्कृतिलाई प्रोत्साहन गरेर तालिबानले नयाँ पुस्तालाई दबाइरहेको छ ।

तालिबान सरकारका केही पुरातनपन्थी नीतिलाई समर्थन नगर्ने वर्तमान र पूर्व–तालिबान प्रतिनिधिसँग मैले अन्तर्वार्ता लिएकी छु र कतिपयले आफ्ना परिवारलाई अन्य देशमा स्थानान्तरण गरेको बताएका थिए । तीमध्ये एकले ‘परिवारलाई विदेशमा धेरै सहज छ र बालबच्चाको पढाइ निर्बाध जारी छ’ भनेका थिए । 

सद्गुण एवं अधर्म रोकथाम कानुनमा सार्वजनिक प्रतिक्रियाको अभावको अर्थ असहमत तालिबान सदस्यले समूहलाई एकताबद्ध राख्न द्वन्द्वबाट जोगिन खोजेको भन्ने हुन्छ । यद्यपि असहमतिलाई मौन पार्नुले तालिबानले सामना गरिरहेका प्रमुख मुद्दालाई सम्बोधन गर्दैन अर्थात् अफगानबिच बढ्दो असन्तुष्टि र चलिरहेको अन्तर्राष्ट्रिय अलगावलाई सम्बोधन गर्दैन । काबुल सरकार आर्थिक संकट र सीमित अन्तर्राष्ट्रिय सहायताबिच सेवा र रोजगारी प्रदान गर्नुपर्ने दबाबमा छ, जसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर मात्र कम गर्न सकिन्छ ।

हक्कानीलगायत केही तालिबान सदस्यले सहायता र लगानीका लागि अन्तर्राष्ट्रिय समुदायसँग जोडिन खोज्दा पनि बालिका शिक्षामा प्रतिबन्ध र नैतिकता कानुनजस्ता कान्दहारका कडा नीतिले उनीहरूका प्रयासलाई कमजोर बनाइरहेको छ । अन्ततः अखुन्दजादाको शक्ति केन्द्रीकृत गर्ने रणनीतिले उल्टो असर गर्न सक्छ, अर्थात् सम्भावित रूपमा आन्तरिक विभाजन निम्तिन सक्छ, जसले विखण्डन वा विद्रोह नै निम्त्याउन सक्छ ।

(मेनन कतार विश्वविद्यालयको गल्फ स्टडिजमा विद्यावारिधि गरिरहेकी छिन्) 
अलजजिराबाट