चिकित्सा शिक्षा आयोगले एमबिबिएसलगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् । नतिजा सच्याउन र प्रश्नपत्रसहित विद्यार्थीले उत्तरपुस्तिकासमेत हेर्न पाउनुपर्ने माग राख्दै सोमबार बिहानदेखि आन्दोलनमा उत्रिएका हुन् ।
सोमबार बिहान माइतीघरमा प्रदर्शन गरेका विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा समेत शान्तिपूर्ण प्रदर्शन गरेका थिए । नतिजा सच्याउनुपर्ने र त्यसअघि ओएमआर सिट हेर्न पाउनुपर्ने, प्रश्नपत्र र उत्तरपुस्तिकासमेत देखाउनुपर्ने भन्दै विद्यार्थीले आयोगमा प्रदर्शन गरिरहेका हुन् । अयोगले १ भदौमा लिएको प्रवेश परीक्षाको नतिजा १४ भदौमा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक गर्दा योग्यताक्रम टाइब्रेकका आधारमा गर्नुपर्नेमा रोल नम्बरका आधारमा गर्दा त्रुटि भएको विद्यार्थीले दाबी गरेका छन् ।
एकभन्दा बढी उम्मेदवारले समान अंक प्राप्त गर्दा क्रमशः टाइब्रेकका आधारमा बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको आयोगले जनाएको छ । सामान्यतया, एकभन्दा धेरै विद्यार्थीले समान अंक प्राप्त गरेमा टाइब्रेकका आधारमा आएको अंकलाई आधार मानेर योग्यताक्रमको मेरिट कायम हुन्छ । प्राविधिक त्रुटिका कारण रोल नम्बरका आधारमा प्रकाशित भएको आयोगले स्विकारेको छ ।