१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँदै बंगलादेशमा मेडिकल पढेका विद्यार्थी ।
मञ्जु टेलर काठमाडाैं
Invalid date format o९:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्वदेशमा इन्टर्नसिपको व्यवस्था मिलाइदिन बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीको माग

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

बंगलादेशबाट फर्किएकामध्ये करिब चार सय विद्यार्थीको स्वदेशमै एकवर्षे इन्टर्नसिप गर्न पाउनुपर्ने माग

बंगलादेशमा आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाल फर्किएका चिकित्साका विद्यार्थीले स्वदेशमै इन्टर्नसिपको व्यवस्था मिलाइदिन माग गरेका छन् । बंगलादेशमा आन्दोलन साम्य नहुँदा फर्किने सुरक्षित वातावरण नभएकाले इन्टर्नसिपको अवधि लम्बिँदै गएको भन्दै उनीहरूले नेपालमै बाँकी इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिन माग गरेका हुन् । 

आन्दोलनका कारण बंगलादेशमा बस्न सुरक्षित नभएको भन्दै नेपाल फर्किएकामध्ये करिब चार सय चिकित्साका विद्यार्थी पढाइ सकेर एकवर्षे इन्टर्नसिप गर्नुपर्ने अवस्थाका हुन् । तत्काल इन्टर्नसिपका लागि फर्किने अवस्था नभएको र विदेशमा चिकित्सा पढेर आएका विद्यार्थीलाई विशेष अवस्थाबाहेक नेपालमा थप तालिम गर्न पाउने व्यवस्था नहुँदा विद्यार्थीहरू समस्यामा परेका हुन् । बंगलादेशमा एमबिबिएस र बिडिएस पढेर तालिमका लागि कुरिरहेका विद्यार्थी फर्किएको एक महिना भएको र बंगलादेश फर्किने वातावरण कहिले हुने भन्ने अन्योल हुँदा समस्यामा परेको विद्यार्थीले बताएका छन् । तत्काल नेपालका स्वास्थ्य संस्थाहरूमा थप तालिमको व्यवस्था मिलाइदिन र विस्तारै मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति ६ महिना इन्टर्नसिप गर्नैपर्ने व्यवस्थालाई संशोधन गरी एमबिबिएस फाइनल परीक्षा उत्तीर्ण गरेलगत्तै दिन मिल्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

एमबिबिएस सकेर पाँच महिना इन्टर्नसिप गरिसकेका विद्यार्थी नवीन यादवले भने, ‘पढाइ सकेपछि हरेक विद्यार्थीले स्वदेशमा तालिम लिन पाउने विश्वव्यापी मान्यता छ । तर, नेपालमा मात्रै मेडिकल काउन्सिलले पढाइसँगै तालिम पनि सम्बन्धित देशबाटै लिनु भन्छ । जबकि बंगलादेशको हकमा भाषा, हामीले तालिमका दौरान सिक्ने वा प्रशिक्षकबाट पाउने प्राथमिकता आदि विषयले गर्दा तालिमको त्यति औचित्य हुँदैन, जति नेपालमा तालिम गर्दा हुन्छ ।’ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले बंगलादेशको आगामी परिस्थितिअनुसार के गर्ने भन्ने विषयमा सरकारीस्तरमा छलफल भइरहेको बताए । 

शिक्षा मन्त्रालयद्वारा अध्ययन समिति गठन 
बंगलादेशबाट फर्केका विद्यार्थीहरूको विषयमा शिक्षा मन्त्रालय अध्ययन समिति गठन गरेको छ । शान्ति सुरक्षाको असहज अवस्थाका कारण फर्किन नसकेका विद्यार्थीको इन्टर्नसिप सम्बन्धित विश्वविद्यालयको स्वीकृतिमा नेपालमै गर्ने, गराउने वा अन्य विकल्पको व्यवस्था गर्ने विषयमा नौ सदस्यीय समिति गठन गरिएको हो । चिकित्सा शिक्षा आयोगका प्रा.डा. सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा १० दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति बनाइएको हो । समितिलाई बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस र बिडिएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूको विवरण तयार गरी हालको अवस्था र समस्या पहिचान गरेर इन्टर्नसिपको चरणमा रहेका विद्यार्थीहरूलाई नेपालमै बाँकी रहेको अवधिको इन्टर्नसिप गर्ने, गराउने सम्बन्धमा वा अन्य वैकल्पिक व्यवस्था सिफारिस गर्न निर्देशन दिइएको छ । स्वदेशमै इन्टर्नसिपको व्यवस्था मिलाइदिन भन्दै शुक्रबार विद्यार्थीहरूले प्रधानमन्त्री केपी ओलीलाई समेत भेटेका छन् । प्रधानमन्त्री ओलीले नेपालमै इन्टर्नसिप गर्न चाहने विद्यार्थीहरूको माग सम्बोधनमा आवश्यक पहल गर्ने बताए ।