Skip This
कमलादीमा भासिएको सडक बनाउन करिब तीन महिना लाग्ने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३० बुधबार
  • Thursday, 12 September, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ श्रावण ३० बुधबार ११:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कमलादीमा भासिएको सडक बनाउन करिब तीन महिना लाग्ने 

काठमाडौंका मेयर बालेन भन्छन्– खोलामाथि पुल बनाउनुपर्छ, बाटो र घर होइन

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ३० बुधबार ११:३३:oo

यसअघि पनि पटक–पटक भासिएको थियो यही सडक

काठमाडौं महानगरपालिका कार्यालय रहेको न्यु प्लाजानजिकै भासिएको सडक मर्मतमा करिब तीन महिना लाग्ने भएको छ । उक्त सडक धेरै पुरानो भएकाले तत्काल मर्मत गरेर सञ्चालन गर्न नमिल्ने भएको हो । 

सडक डिभिजन काठमाडौंका इन्जिनियर शान्तराम पाण्डेका अनुसार उक्त सडक धेरै पुरानो भएकाले पुरानो संरचनामा मर्मत गर्न सक्ने अवस्था छैन । ‘शुक्रबार भासिएको सडक टुकुचा खोलामाथिको स्ल्याब कल्भर्ट हो । जुन कल्भर्ट कहिले बनेको भन्ने यकिन तथ्यांक नै भेटेनौँ । यसको मतलब यो कल्भर्ट धेरै पुरानो हो । त्यसैले अब यो कल्भर्ट मर्मत गर्न सकिने अवस्थामा छैन,’ पाण्डेले भने, ‘त्यहाँ नयाँ संरचनाअनुसार बक्स कल्भर्ट बनाउँछौँ । कल्भर्ट बनाउन केही महिना लाग्न सक्छ ।’ उनका अनुसार धेरै पुरानो कल्भर्ट भएकाले यसअघि करिब १० पटक भासिइसकेको छ । सडक डिभिजनअन्तर्गत पर्ने यस सडकलाई मर्मत गर्दै सञ्चालन गर्ने गरिएको थियो । शुक्रबार बिहान सडक भासिएयता यहाँबाट सवारी आवागमन रोकिएको छ । यसपटक करिब तीन मिटर गहिराइ र करिब दश मिटर चौंडाइमा सडक भासिएको छ । 

सडक डिभिजनका सूचना अधिकारी महानन्द जोशीका अनुसार शुक्रबार नै भसिएको स्थानको नापजाँच गरेर इस्टिमेट तयार भइसकेको छ । तर, कहिलेदेखि काम सुरु गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । ‘भासिएको सडक टेन्डर प्रक्रियाबाट गर्ने वा अन्य प्रक्रियामा जाने भन्नेबारे टुंगो लाग्न सकेको छैन । टेन्डर प्रक्रियाबाट गर्ने हो भने अलि लामै समय लाग्छ । तीन महिनाभन्दा धेरै लाग्न सक्छ । छिटो काम गर्न कुनै कन्ट्र्याक्टरलाई दिने कि भन्ने पनि छलफल भइरहेको छ । छिटो काम गर्दा पनि कम्तीमा एक महिना लाग्छ,’ उनले भने । उनका अनुसार भासिएको सडक कहिलेदेखि बनाउने भन्नेबारे एक–दुई दिनमै टुंगो लाग्नेछ । सडक डिभिजनका अनुसार भासिएको सडक बनाउन करिब ५५ लाख खर्च हुनेछ । 

काठमाडौंका मेयर बालेन भन्छन्– खोलामाथि पुल बनाउनुपर्छ, बाटो र घर होइन

महानगर कार्यालयअगाडिको सडक पटक–पटक भासिएपछि काठमाडाैं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले खोलामाथि बाटो निर्माण भएकाले यस्तो समस्या देखिएको सामाजिक सञ्जालमा लेखेका छन् । ‘यति त सबैलाई थाहा हुनैपर्छ कि मान्छेले आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनुपर्छ । घर र बाटो होइन,’ उनले लेखेका छन् । 

उनले यस्तै किसिमका जोखिम देखेर टुकुचा खोला खोल्न सुरु गरिएको र महानगरले फेरि खोला खोल्ने काम गर्नेसमेत बताएका छन् । ‘यो टुकुचामाथिको बाटो हो । अझै केही घर यसरी नै टुकुचामाथि रहेका छन् । महानगरले केही समयपहिले यस्तै जोखिम देखेर खोला खुला गर्न टुकुचा खोल्ने काम सुरु गरेको थियो । अदालती कारणले रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टाका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । 

सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ । यसपश्चात् खोला खोल्ने काम महानगरले अगाडि बढाउनेछ,’ उनले भने । गत भदौदेखि नै मेयर बालेनले टुकुचा खोला अतिक्रमणमा परेको भन्दै खुलाउन सुरु गरेका थिए । तर, खोला क्षेत्रभित्र घर निर्माण गरेका स्थानीय अदालत पुगेपछि महानगरको काममा बाधा उत्पन्न भएको थियो ।