१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
इयान बरुमा
Invalid date format १o:३८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खेल राष्ट्रवाद : धर्मनिरपेक्ष आस्था वा घातक उत्साह ?

विश्वव्यापी खेलकुदले खेलाडीबीच एकता एवं मित्रता बढाए पनि खेल प्रशंसकबीच यस्तो हुन सकेको छैन

Read Time : > 2 मिनेट
इयान बरुमा
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

गत महिना युरोपेली फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेदरल्यान्ड्समाथि इंग्ल्यान्डले जित निकाल्दा बेलायती खेलकुदकर्मीले यसलाई ‘ऐतिहासिक’ जितका रूपमा खुसी मनाए र सो जितले ‘हामी सबैको जीवन परिवर्तन गर्नेछ’ भन्ने दाबी पनि गरे । उसो त यस्ता अतिशयोक्तिपूर्ण दाबी खेल टिप्पणीकारबीच सामान्य नै हो, तर यी कथनी अतिरञ्जित देखिन्छन् । यद्यपि, नेदरल्यान्ड्सजस्ता साना राष्ट्रले यी समारोहलाई विश्वव्यापी रूपमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने दुर्लभ अवसरका रूपमा हेर्छन् । प्रश्न उठ्छ, के बेलायतलाई यसप्रकारको प्रमाणीकरणको आवश्यकता छ ? जवाफ स्पष्ट छ, अर्थात् आवश्यकता भएको देखिन्छ ।

हंगेरीमा जन्मेका लेखक आर्थर कोस्टलर सामान्य राष्ट्रवाद र फुटबल राष्ट्रवादबीचको भिन्नता छुट्याउँछन् र पछिल्लो राष्ट्रवाद बलियो हुने गरेकोमा विश्वास गर्छन् । बेलायती नागरिक भए पनि कोस्टलर हंगेरी फुटबलकै एक समर्पित प्रशंसक रहे । फुटबल राष्ट्रवादको विशेषतामा झन्डा फहराउने, कविलावाद र आक्रामकता पर्छन्, जसमा उत्कट प्रशंसकको टेलिभिजनमा देखिने दृश्यले हाम्रो मूल जरालाई प्रतिध्वनित गर्छ । 

कविलावादी भावना प्रायः सामूहिक शत्रुताका रूपमा फस्टाउँछन् । उदाहरणका लागि बेलायती फुटबल प्रशंसकले कहिलेकाहीँ जर्मनीविरुद्धको खेलमा ‘टेन जर्मन बम्बर’ गाउँछन्, जहाँ प्रशंसकले बेलायती रक्षा विमानको उडानको नक्कल गर्छन् । ह्याम्बर्गमा भएको युरो १९८८ को सेमिफाइनलमा नेदरल्यान्ड्सले पश्चिम जर्मनीलाई हराएर च्याम्पियनसिपको दाबी गर्दा एम्स्टर्डममा मनाइएको उत्सव मे १९४५ मा नाजी कब्जाबाट मुक्ति पाएकोभन्दा बढी भयो । यो विजयले लामो समयदेखि चलिरहेको जर्मनविरोधी भावनालाई कम गरेको हुन सक्छ र पछि यो भावना निकै कमजोर पनि बन्यो । 

चेकोस्लोभाकियाको राजधानी प्रागमा सोभियत आक्रमणको ठीक एक वर्षपछि जब चेकोस्लोभाकियाको आइस–हकी टोलीले सन् १९६९ को विश्व च्याम्पियनसिपमा सोभियत संघलाई पराजित गर्‍यो तब उत्साहजनक विजयोत्सव मनाइयो, जसले व्यापक विरोध पनि निम्त्यायो । एक अमेरिकी कूटनीतिज्ञले यस उत्सवलाई सन् १९४५ मा नाजी मुक्तिपछिको आनन्दका रूपमा सम्झना गराएको उल्लेख गरेका थिए ।

राष्ट्रवादी जोस अप्रत्याशित लाग्न सक्छ, तर यसको शक्ति निर्विवादित छ । सन् १९८८ मा नेदरल्यान्ड्सले पश्चिम जर्मनीमाथि विजय हासिल गर्दा एक डचवासीका रूपमा मैले पनि उत्सव मनाएको थिएँ । कहिलेकाहीँ हिंसा निम्त्याउने खेलकुद राष्ट्रवादलाई सकारात्मक मान्न सकिन्छ ? भन्ने प्रश्न १९औँ शताब्दीको उत्तराद्र्धमा आधुनिक ओलम्पिकका संस्थापक ब्यारोन पियरे डे कुबर्टिन र उग्र–दक्षिणपन्थी विचारक एवं यहुदीद्वेषी एक्सन फ्रान्सेजका चाल्र्स मौरासबीच चर्को बहस भएको थियो । कुबर्टिनले अन्तर्राष्ट्रिय खेलले विश्वव्यापी एकतालाई प्रोत्साहन गर्छ भन्ने आशा गरेका थिए जब कि राष्ट्रवादी मौरासले खेलकुदले राष्ट्रिय शत्रुतालाई उत्तेजित गर्छ, तसर्थ यसले राष्ट्रवाद बढ्ने भन्दै अन्तर्राष्ट्रिय खेललाई समर्थन गरेका थिए ।

उसो त मौरासले सार्वभौम भ्रातृत्वको परिकल्पना कुबर्टिनको स्वैरकल्पना भन्दै प्रश्न गर्न पाए पनि उनको नश्लवादी विचारले दोस्रो विश्वयुद्धको भयावहताका लागि मार्गप्रशस्त गर्न मद्दत गरेको थियो । तर, यसको मतलब खेल राष्ट्रवाद स्वाभाविक रूपमा खराब छ भन्ने होइन । यसलाई साझा भावनाको अभिव्यक्तिका रूपमा पनि हेर्न सकिन्छ जसलाई नाटकीय वा औपचारिक निकास चाहिन्छ । खेलकुद र अन्य क्षेत्रमा हुने कविलावादले प्रायः धार्मिक, वैचारिक, जातीय, क्षेत्रीय वा राष्ट्रिय बफादारीलाई प्रतिबिम्बित गर्छ । यो विशेषतः फुटबलजस्ता सामूहिक खेलमा थप स्पष्ट हुन्छ ।

उदाहरणका लागि स्कटिस फुटबल क्लब सेल्टिक र रेन्जर्सबीचको प्रतिस्पर्धा उनीहरूको क्याथोलिक र प्रोटेस्टेन्ट पहिचानबाट उत्पन्न हुने गर्छ । लिभरपुल र म्यानचेस्टरका प्रशंसक लन्डनमा आधारित क्लबप्रति कडा द्वेष राख्छन् । यसबाहेक एज्याक्स (एम्स्टरडमको फुटबल क्लब) र टोटनहेम हटस्पर (लन्डनको फुटबल क्लब)ले एम्स्टर्डम र उत्तरी लन्डनका यहुदी समुदायसँगको सम्बन्धका कारण प्रतिद्वन्द्वीबाट अपमानजनक गालीगलौजको सामना गरिरहेका हुन्छन् । तर, यस्ता आबद्धताको कुनै वास्तविक आधार छैन । आजकाल फुटबल क्लब विश्वव्यापी उद्यम बनेका छन्, जसले विश्वभरबाट प्रतिभा भर्ती गर्छ । केवल केही मुट्ठीभर बेलायती खेलाडी वास्तवमा शीर्ष बेलायती टोलीका लागि खेल्छन् । त्यसैगरी नेदरल्यान्ड्स, जर्मनी, फ्रान्स, इटली र स्पेनका प्रमुख क्लबका लागि पनि यही तथ्य लागू हुन्छ ।

कुबर्टिनको दृष्टिकोण खेलाडीका लागि सही साबित भए पनि प्रशंसकका लागि सही साबित भएन । आजका व्यावसायिक खेलाडी जसले आकर्षक तलब पाउँछन्, यी विश्वव्यापी अभिजात वर्गका हिस्सा हुन् । कडा प्रतिस्पर्धाका बाबजुद खेलाडीले राष्ट्रिय र जातीय विभाजनलाई पार गर्दै मित्रता कायम गर्छन् । यद्यपि, यो मित्रताले प्रशंसकमाझ थोरै मात्र प्रभाव पार्छ यी प्रशंसक पनि टोटनह्याम, एज्याक्स वा बायर्न म्युनिखजस्ता क्लबलाई स्थानीय टोलीका रूपमा हेर्छन् जब कि यी टोलीमा मूलतः विदेशी खेलाडी र प्रशिक्षक मौजुद हुन्छन् ।

मौरासले भनेझैँ खेलकुद राष्ट्रवाद रगत र माटोको परम्परागत अवधारणाबारे कम हो । यो धार्मिक पूजाझैँ सम्बन्धको इच्छा, साझा भावना र नायकको प्रशंसाबारे बढी हो । धर्मनिरपेक्ष विश्वासजस्तै खेल राष्ट्रवादले खेलकुदको अतिशयोक्ति र प्रशंसकको तीव्र जोशको व्याख्या गर्छ । धर्म र खेलकुद दुवै सन्दर्भमा आदिवासी अनुष्ठानले कहिलेकाहीँ हिंसा निम्त्याउन सक्छ र यी अनुष्ठानले सामान्यतया भावनाको सुरक्षित निकास प्रदान गर्छ । हामी त्यस्तो संसारका लागि आशा गर्न सक्छौँ, जहाँ प्यालेस्टिनी र इजरायली खेलकुद प्रशंसकले फुटबल स्टेडियमको मैत्रीपूर्ण प्रतिस्पर्धामा अनुहारको रंग, झन्डा र हौसलासाथ आफ्ना खेलप्रेम व्यक्त गरून् ।

(बरुमा नेदरल्यान्ड्सका लेखक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट