
साबिक विजेता भारतसहित इरान, श्रीलंका र माल्दिभ्स सहभागी हुने काभा नेसन्स लिगअघि रसियन टोलीसँग खेल्दा राम्रो तयारी भएको प्रशिक्षक र कप्तानको भनाइ
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आसन्न काभा नेसन्स लिगअघि राम्रो तयारी गरेको छ । नेपालले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अवसर पायो । यद्यपि, दुवै खेलमा नेपाल सीधा ३–० को सेटमा पराजित भए पनि खेलाडीले राम्रो एक्सपोजर पाएका छन् । नेपालकी कप्तान अरुणा शाहीले रसियाविरुद्धको खेल निकै फलदायी भएको बताएकी छिन् । उनले सधैँ बलियो टोलीसँग खेल्दा खेलाडीको मनोबल बढ्ने बताइन् ।
‘काभाअघि रसियन टोलीसँग दुई खेल खेल्यौँ । पहिलो खेलमा निकै कमजोर प्रदर्शन भयो । दोस्रो खेलमा धेरै सुधार गर्दै राम्रो प्रदर्शन गर्यौँ,’ अरुणाले भनिन्, ‘सोझो सेटमा पराजित भए पनि सन्तोष जनाउने धेरै स्थान छन् ।’ नेपालले १७ साउनबाट सुरु हुने काभा प्रतियोगिता खेल्नेछ । काभामा साबिक विजेता भारत र नेपालसँगै बलिया इरान, श्रीलंका र माल्दिभ्स सहभागी हुनेछन् । दशरथ रंगशालाका कर्भड हलमा सोमबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले रसियन टोलीविरुद्ध पहिलो सेटमा कमजोर प्रदर्शन गरेको थियो ।
घरेलु खेलाडीले दोस्रो र तेस्रो सेटमा रिसिभ, ब्लक र सर्भिसमा सुधार गर्दै सन्तोषजनक प्रदर्शन गर्न सफल भए । पहिलो सेटमा नेपाल १४–२५ ले पराजित भयो । दोस्रोमा सानदार प्रदर्शन गर्दै २३–२५ ले पछि पर्यो । तेस्रो सेटमा कुनै समय नेपालले रसियाविरुद्ध ९–७ ले अग्रता लिएको थियो । अनुभवी रसियन टोलीविरुद्ध अन्तिम सेटमा नेपाल २२–२५ ले चुक्यो । कप्तान अरुणासहित उषा भण्डारी, सरस्वती चौधरी, प्रगति नाथ, सुमित्रा रेग्मी, आरती सुवेदी, पुनम चन्द, निरुता ठगुन्नालगायतले सानदार प्रदर्शन गरेका थिए ।
सुमित्रा र आरतीले पहिलो खेलमा डेब्यु गरेका थिए । तर, शारीरिक तथा प्राविधिक रूपमा बलिया रसियन खेलाडीसँग नेपाली खेलाडी कमजोर देखिएका थिए । आइतबार भएको पहिलो खेलमा नेपाल रसियन टोलीसँग २५–१७,२५–१९ र २५–१५ पराजित भएको थियो ।
आशावादी प्रशिक्षक
नेपालका प्रशिक्षक जगदीश भट्ट दुई खेलपछि काभा लिगमा आशावादी भएका छन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा देखाएको प्रदर्शनपछि उनी हौसिएका हुन् । काभा नेसन्स लिगको तयारीमा रहेको नेपालले पहिलो खेलमा रिसिभ, सर्भिस र ब्लकमा निकै कमजोर प्रदर्शन गरेको थियो । प्रशिक्षक भट्ट दोस्रो खेलमा खेलाडीको उच्च प्रदर्शनबाट खुसी छन् । ‘खेलाडीले जुन खेल खेलेका छन्, त्यसले आशा गर्ने स्थान छ । यही प्रदर्शनले पनि काभामा हामीले धेरै गर्न सक्छौँ,’ उनले भने, ‘पहिलो खेल खेलेपछि दोस्रो खेलमा हाम्रा खेलाडीलाई सहज भयो ।’
नेपालले काभा लिग दुईपटक जितिसकेको छ । तर, पछिल्लोपटक घरमै ह्याट्रिक गर्ने दाउमा रहेको नेपाल भारत सहभागी भएसँगै निरीह भएको थियो । भारतले फाइनलमा नेपाललाई हराएको थियो ।