
सेवाग्राहीको काम गर्दा घुस खाने कर्मचारी रंगेहात पक्राउ परेका घटना बारम्बार आइरहन्छन् । सरकारी काममा घुस ‘अनिवार्य’जस्तो बनेको आरोपलाई पुष्टि गर्ने एउटा घटना आइतबार पूर्वमन्त्रीले नै संसद्मा सुनाए ।
पूर्ववनमन्त्री एवं जनता समाजवादीका सांसद डा. वीरेन्द्र महतोले सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा (समकक्षता–पत्र लिँदा) कर्मचारीलाई पाँच हजार घुस खुवाउनुपरेको गुनासो गरेका छन् । प्रधानमन्त्री केपी ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि धारणा राख्न रोस्ट्रममा उभिएका महतोले बिचौलिया र भ्रष्टाचारीले मुलुकमा जरा गाडेको प्रमाणको आधार आफ्नै भोगाइ रहेको बताएका हुन् । उनले बिहान ११ बजे अनलाइन फारम भरेको, तर ३ बजेसम्म भेरिफिकेसन र एप्रुभ नभएपछि घुस खुवाउनुपरेको बताए ।
‘मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो, ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन् । यो मिलेन, त्यो मिलेन भन्दाखेरि म आफैँ गएँ । त्यहाँ एउटा अधिकृत थिए, उनलाई यो किन मिलेन भन्दाखेरि होइन, यो मिलेन, मेरो चिया खाने टाइम हो भनेर टारे,’ महतोले संसद्मा सुनाए, ‘चार बजेसम्म कुरेँ आएनन्, त्यो बिचौलियालाई पाँच हजार दिएँ अनि म बाहिर बसिरहेँ, पाँच मिनेटमा काम भयो ।’