
- एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन्
- कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन्
एमाले अध्यक्ष केपी ओली आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् । सरकार गठनका लागि दिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका हुन् । शुक्रबार नै एमाले र कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको दाबी पेस गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आइतबार साँझ समयसीमा सकिएपछि मात्रै नियुक्ति र शपथको प्रक्रिया अगाडि बढाउने तयारी छ । ‘राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान गर्नुभएको समयावधि सकिएपछि मात्र प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने । ओलीनिकट स्रोतका अनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण हुनेछ । ‘आइतबार नियुक्ति हुन्छ, सोमबार विहान ११ बजे शपथग्रहणको जानकारी पाएका छौँ, त्यसैअनुसार तयारीमा छौँ,’ स्रोतले भन्यो ।
यसअघि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका ओलीको शपथ आइतबार हुने भनिएको थियो । तर, नियुक्तिमा ढिलाइ भएपछि सोमबार शपथको समय निर्धारण गरिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्रीसहितको सहमति भएको छ । तर, सहमतिपत्र भने अझै सार्वजनिक भएको छैन ।
एमालेले सोमबार मात्रै मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने भएको छ । शनिबार एमाले अध्यक्ष ओलीले सचिवालय सदस्यहरूसँग मन्त्रीहरूको विषयमा छलफल गरेका थिए । सांसदहरूलाई ओलीले नियुक्तिको एक घन्टाअघि मात्रै मन्त्रीको नाम टुंगो लाग्ने बताएका थिए । ‘आइतबार साँझ पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुहुन्छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुन्छ । सोमबार नै मन्त्री बन्ने सदस्यको टुंगो लाग्छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।
एमालेले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । प्रधानमन्त्रीको शपथलगत्तै १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी ओलीको छ । पदाधिकारीसहित युवालाई पनि प्राथमिकता दिने तयारीमा ओली रहेको गौतमले बताए । योग्य, क्रियाशील र अहिलेको परिस्थितिको सामना गर्न सक्ने सदस्य मन्त्री बन्ने उनले बताए । ‘मन्त्री बन्ने योग्यता सबै सांसदको छ । पार्टीले आवश्यकताका आधारमा मन्त्री चयन गर्छ,’ उनले भने । एमालेले प्रधानमन्त्रीसहित आठ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् ।
यसअघि कहिले प्रधानमन्त्री बनेका थिए ओली ?
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।
कांग्रेसको मन्त्री छनोटको आधार : योगदान र योग्यता
कांग्रेसले योग्यता र योगदानका मन्त्री छनोट गर्ने भएको छ । शनिबार सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पार्टीबाट समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णय लिएको हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुुसार बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्दै मन्त्रीको मापदण्ड तय गरेको हो ।
‘कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ । बैठकले पार्टीमा आवश्यक छलफल गरेर मन्त्रीको टुंगो लगाउन जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
कांग्रेस कार्यसम्पादन समिति बैठकमा साना दलसमेतलाई सहभागी गराउनुपर्ने भएका मन्त्रालय भागबन्डा पेचिलो बन्नेबारे छलफल भएको थियो । एक पदाधिकारीका अनुसार बैठकमा साना दलहरूलाई समेत सहभागी गराउनुपर्ने भएका कारण दुई दलबीचको पूर्वसहमतिअनुसार मन्त्रालय पाउने अवस्था नरहेको ब्रिफिङ गरिएका थियो । ‘कांग्रेसले ११ मन्त्रालय लिने सहमति भएको हो, तर राष्ट्रिय सहमतिको सरकार भनिएकाले अन्य दललाई पनि समेट्नुपर्ने अवस्था छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने बैठकले मापदण्ड बनाएर पार्टी र गठबन्धन दलमा थप छलफल गरेर मन्त्रीको टुंगो लाग्ने बताए । ‘मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ,’ उनले भने । सहमतिअनुसार कांग्रेसले गृहसहित ११ मन्त्रालय र एमालेले आठ मन्त्रालय लिने उल्लेख छ ।
कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठका अनुसार बैठकमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने जानकारी गराइएको थियो । ‘पर्फर्मेन्स देखाउन सक्ने गरी परिपक्व र सिनियरको नेतृत्वमा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी तयारीबारे बैठकमा छलफल भयोे,’ श्रेष्ठले भने । सहमहामन्त्री जीवन परियारले बैठकमा मन्त्रीको नाम र संख्याको विषयमा छलफल नभएको बताए । ‘मन्त्रीको मापदण्ड बनाउने विषयमा औपचारिक छलफलबाहेक अरू विषय छलफल नै भएन,’ उनले भने । कांग्रेसले उपप्रधानमन्त्रीसहित ११ मन्त्रालय लिने नेताहरूको भनाइ छ । कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् ।
लोसपामा मन्त्री छनोटको जिम्मा अध्यक्ष ठाकुरलाई
लोसपाले मन्त्री छनोटको जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा नेता डा. सुरेन्द्र झाका अनुसार शनिबार बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा दलहरूसँग छलफल र मन्त्रीको टुंगो लगाउने जिम्मा ठाकुरलाई दिएको हो । ‘सरकारमा जाने विषयमा सकारात्मक नै छौँ । दलहरूसँग छलफल भइरहेको छ । छलफलबाट सरकारमा सहभागिताको टुंगो लगाउने जिम्मा संसदीय दलले अध्यक्षज्यूलाई दिएको छ,’ झाले भने ।