
गत बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ‘एक्ज्युकेटिभ अर्डर’मा हस्ताक्षर गरे । त्यसले हुवावेका उपकरणलाई अमेरिकामा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाउनका लागि ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्ने बाटो खोलेको छ । त्यस्तै, ट्रम्प प्रशासनका कमर्स सेक्रेटरी विलबर रोसले हुवावेलाई नै लक्षित गरेर एउटा अर्को निर्देशिका जारी गरेका छन् । त्यसले हुवावेलाई अमेरिकी सरकारसँग अनुमति नलिई अमेरिकी व्यवसायीबाट उपकरण र प्रविधि किन्न रोक लगाएको छ । पछिल्लो निर्णय शुक्रबारबाट कार्यान्वयनमा आउनेछ ।
त्यसपछि हुवावेका लागि अमेरिकी उपकरण हासिल गर्नका लागि असम्भव नै नभए पनि कठिन हुनेछ । यी कदमबाट अमेरिकी सञ्चार सञ्जाल सुरक्षित बन्ने अपेक्षा गरिएको छ । तर, सो उद्देश्य हासिल हुने सम्भावना भने कमै छ । त्यसको सट्टा यसले आम–सर्वसाधरण अमेरिकी र व्यवसायलाई महत्वपूर्ण प्रविधि हासिल गर्नबाट रोक्छ । समयसँगै यस टेलिकम नेटवर्कका उपकरण बजारमा प्रतिस्पर्धा न्यूनीकरण गर्नेछ । यसको फलस्वरूप मूल्य बढ्नेछ । हुवावेमाथि प्रतिबन्धले ऊसँग व्यापार गर्ने अमेरिकी कम्पनी र तिनमा रोजगार हजारौँ अमेरिकी प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । हरेक वर्ष हुवावेले अमेरिकी कम्पनीबाट ११ अर्ब अमेरिकी डलरबराबरको उपकरण किन्छ । हुवावे उपकरणमाथिको पूर्ण प्रतिबन्धले दसौँ हजार अमेरिकी रोजगारी अन्त्य हुन सक्छ ।
अहिले नै हुवावे उपकरण अमेरिकाको ग्रामीण क्षेत्रका दर्जनौँ फोर–जी नेटवर्कमा जडान गरिएको छ । यसले गर्दा हुवावेमाथिको प्रतिबन्धले साना र स्वतन्त्र रूपमा सञ्चालित अमेरिकी टेलिकम सञ्चालनक प्रत्यक्ष मारमा पर्नेछन् । तिनलाई नयाँ सेवा विकास गर्न र तीव्र गतिको ब्रोडब्यान्ड उपलब्ध गराउन अवरोध हुनेछ । इस्टर्न ओरेगन टेलिकम र युनियन वायरलेसजस्ता त्यस्ता कम्पनी आफ्ना सीमित कोषको प्रयोग गरेर हुवावेको उपहरणलाई महँगा उपकरणमार्फत विस्तापित गर्न बाध्य हुनेछन् । फेरि त्यस्तो उपकरण प्रदान गर्ने अन्य दुई कम्पनी एरिक्सन र नोकिया अमेरिकी कम्पनी होइनन् । हुवावे फाइभ–जी प्रविधिको सर्वोच्च उद्योग भनेर स्विकारिएको छ । यसलाई प्रतिबन्ध लगाउँदा अमेरिका अन्य देशको गतिमा फाइभ–जी प्रविधिलाई बजारमा ल्याउन सक्दैन । यसले गर्दा अमेरिका फाइभ–जी प्रविधि बजारमा ल्याउन लागेका धेरै युरोप र एसियाका राष्ट्रभन्दा पछि पर्नेछ । यसअघिको मोबाइल नेटवर्क फोर–जी सबैभन्दा सुरुमा ल्याउने राष्ट्र हुँदा जति फाइदा अमेरिकी नागरिकले उपभोग गर्न पाएका थिए, फाइभ–जी प्रविधिको हकमा त्यो नहुने भएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, यस प्रतिबन्धले अमेरिकाको डिजिटल सञ्जाललाई सुरक्षित बनाउने भन्ने लक्ष्य असफल हुन्छ । चिनियाँ उपकरण प्रयोग गरे बेइजिङले तिनको फोन सेवा, ऊर्जा, बैकिङ र अन्य महत्वपूर्ण सेवासमेत बन्द गराउन सक्ने सामथ्र्य हासिल गर्ने विश्वास अमेरिकी अधिकारी गर्छन् । कुनै पनि टेलिकम्युनिकेसन नेटवर्कको सुरक्षा सञ्चालक, उपकरण विक्रेता र सेवाप्रदायकबीचमा बाँडिने जिम्मेवारी हो । तिनले सामूहिक रूपमा जोखिम न्यूनीकरणको प्रतिबद्धता र पारदर्शिता प्रदर्शन गर्छन् । टेलिकम सेवाप्रदायकले तिनमाझ आउने–जाने नेटवर्क र तथ्यांक नियन्त्रण गर्छन् । तिनले उपलब्ध जोखिम न्यूनीकरण प्रक्रियालाई ख्याल गर्दा तिनको नियन्त्रणमा अवरोध ल्याउन अत्यन्त कठिन हुनेछ । हुवावेले बारम्बार उसका उपभोक्तामाथि आक्रमण गर्ने वा जासुसी गर्ने आदेशलाई अस्वीकार गर्ने बताएको छ ।
हुवावे मात्र होइन, आफ्नो क्षेत्रको सबैभन्दा अग्रस्थानमा रहेको कुनै पनि कम्पनीलाई प्रतिबन्ध लगाउने कदमले कैयन् घाटा निम्त्याउनेछन् । यसले एकातर्फ प्रतिस्पर्धालाई कमजोर बनाउँछ भने अर्कोतर्फ फाइभ–जी कार्यान्वयन ढिलाइ गर्छ ।
बरु हुवावेको मुख्यालय चीनमा भएकाले उसमाथि फरक व्यवहार भयो भन्ने तर्कमा पनि कुनै दम छैन । नोकिया र एरिक्सनले पनि हुवावेजस्तै विश्वव्यापी सप्लाई चेनबाट सामग्री लिने गर्छ । तिनले चीनमा विकास भएका वा निर्माण भएका उपकरण प्रयोग गर्छन् । वर्तमान अवस्थामा अमेरिकी नेटवर्कमा जडान भएको अधिकांश टेलिकम र इन्टरनेट उपकरण यिनले ओगटेका छन् । कुनै एउटा कम्पनीलाई कालो सूचीमा राख्नु वा कुनै एक देशका सबै कम्पनीलाई कालो सूचीमा राख्नुले विश्वव्यापी सप्लाई चेनको जोखिम कम गर्न केही पनि गर्दैन । यसले प्रतिस्पर्धामा उलेख्य न्यूनीकरण गरेर उल्लेख्य मूल्य बढाउनेछ । राष्ट्रपतिको कार्यकारी निर्देशन र कमर्स डिपार्टमेन्टको नियमनले दुष्ट पक्षलाई टेलिकम सञ्जालमा खराब उपकरण हाल्नबाट रोक्ने लक्ष्य लिएको छ । यस्ता पक्षले गोप्य रूपमा सञ्जालमा हुने प्रवाह निगरानी गर्न सक्ने र त्यसमार्फत संकलित जानकारीबाट साइबर–आक्रमण गर्न सक्छन् भन्ने भय छ । यो लक्ष्यले विश्व टेलिकम नेटवर्क उन्नत राष्ट्र–राज्यबाट आक्रमणको जोखिममा रहेको यथार्थलाई प्रतिविम्बित गर्छ ।
यसका लागि सामान्यतया ‘प्रोग्राम’ गर्न सकिने कोड प्रयोग गरिन्छ । त्यस्तै, टेलिकम नेटवर्कमा प्रयोग हुने हार्डवेयर र सफ्टवेयरका कमजोरीलाई पनि आक्रमणका लागि प्रयोग गरिन्छ । तर, यस्तो कोडको जोखिममा कुनै पनि विक्रेताका उपकरण हुन्छन् । अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध रहेका देशबाट लिइने उपकरणमा पनि यस्तो समस्या हुने गर्छ । त्यसैले ती सामग्रीको जोखिम न्यूनीकरण गर्नका लागि प्रतिबद्धता र पारदर्शिताको अवश्यकता हुन्छ ।
अमेरिकी सरकारले युरोपमा मुख्यालय गरेका नोकिया र एरिक्सनसँग सरकार निर्देशित जोखिम न्यूनीकरण गर्ने सम्झौता गरेको छ । सम्झौतापछि चीनमा व्यापक रूपमा सञ्चालनमा रहेका ती कम्पनीले अमेरिकामा सञ्चालनको अनुमति पाएका छन् । हुवावे पनि तीसँग अमेरिकी सरकारले गरेजस्तै सम्झौतामा छलफल गर्न तयार छ । यदि ह्वाइट हाउस र कमर्स डिपार्टमेन्ट साँच्चै अमेरिकी नेटवर्क प्रतिरक्षा गर्न चाहन्छन् भने तिनले कुनै एउटा कम्पनीलाई प्रतिबन्ध लगाउने भन्दा पहिचान भएका उत्कृष्ट अभ्यासबाट बृहद् खोजीमा व्यवस्थापन विधि निर्माण गर्न केन्द्रित हुनुपर्छ ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अघिल्लो वर्ष वकालत गरेको रणनीति पनि ठ्याक्कै यही हो । हुवावे मात्र होइन, आफ्नो क्षेत्रको सबैभन्दा अग्रस्थानमा रहेको कुनै पनि कम्पनीलाई प्रतिबन्ध लगाउने कदमले कैयन् घाटा निम्त्याउनेछन् । यसले एकातर्फ प्रतिस्पर्धालाई कमजोर बनाउँछ, फाइभ–जी कार्यान्वयन ढिलाइ गर्छ भने नवीनतनामा ह्रास ल्याउने गर्छ । त्यस्तै, यसले अमेरिकी उपभोक्ता र व्यवसायलाई विश्वको सबैभन्दा उन्नत दूरसञ्चार प्रविधिको पहुँचबाट वञ्चित गर्छ । ट्रम्प प्रशासनले यो गलत मार्ग परित्याग गर्नुपर्छ । विकल्पमा तिनले अमेरिकाको सञ्चार नेटवर्कको सम्पूर्ण हिस्सालाई परीक्षण गर्ने सुरक्षाका विकल्प पारदर्शी संरचना विकास गर्नुपर्छ ।
(क्याथरिन चेन ह्वावेकी बोर्ड निर्देशक हुन्)
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य