Skip This
अवकाशपछि पूर्वराष्ट्रपति भण्डारी पहिलोपटक एमालेको कार्यक्रममा, अध्यक्ष ओली प्रमुख वक्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एमाले महिला भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o७:o६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अवकाशपछि पूर्वराष्ट्रपति भण्डारी पहिलोपटक एमालेको कार्यक्रममा, अध्यक्ष ओली प्रमुख वक्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o७:o६:oo

राजनीतिमा प्रवेशबारे विभिन्न चर्चाबीच भण्डारी एमालेको जनसंगठन समन्वय संयन्त्रले बुधबारदेखि आयोजना गरेको राष्ट्रिय महिला भेलामा सहभागी

दुई कार्यकाल राष्ट्रपति बनेकी विद्या भण्डारी एमालेको औपचारिक कार्यक्रममा सहभागी भएकी छिन् । राजनीतिमा उनको प्रवेशबारे विभिन्न चर्चाबीच भण्डारी एमालेको जनसंगठन समन्वय संयन्त्रले वुधबारदेखि आयोजना गरेको राष्ट्रिय महिला भेलामा सहभागी भएकी हुन् । राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् । 

पूर्वराष्ट्रपति भण्डारी नौ वर्षपछि एमालेको औपचारिक कार्यक्रममा सहभागी भएकी छिन् । कार्यक्रममा उनलाई प्रमुख अतिथि र ओली प्रमुख वक्ता थिए । पार्टी अध्यक्ष बनेयता पार्टीको आन्तरिक कार्यक्रममा ओली प्रमुख वक्ताका रूपमा सहभागी भएको सम्भवतः यो नै पहिलोपटक हो । 

राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै उनले पार्टी राजनीतिका नेताहरूसँग संवाद बढाएकी थिइन् । पार्टीको औपचारिक कार्यक्रममा प्रमुख वक्ताका रूपमा पूर्वराष्ट्रपति भण्डारीको सहभागितालाई समग्र राजनीतिक र एमालेवृत्तमा चासोका साथ हेरिएको छ । गत वर्ष २९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले सरकारीनिवासमा नबस्ने निर्णय लिएकी थिइन् । साथै, उनी मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक गतिविधिमा सक्रिय थिइन् । 

पार्टीको जनसंगठन समन्वय संयन्त्रले बुधबारबाट राष्ट्रिय महिला भेला आयोजना गरेको हो । बिहीबार सम्पन्न हुने दुईदिने राष्ट्रिय महिला भेलामा पाँच हजार प्रतिनिधि सहभागी छन् । पार्टीका केन्द्रीय नेता, प्रदेश कमिटी र जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने महिला, २३ जनवर्गीय संगठनमा आबद्ध महिला पदाधिकारी र केन्द्रीय सदस्यहरू, महिला जनप्रतिनिधिहरूलगायत भेलामा सहभागी छन् । 

१६ जेठ २०६३ मा आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को संकल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा एमालेले भेलाको आयोजना गरेको जनाएको छ । सरकारले १६ जेठलाई महिला अधिकार दिवसका रूपमा मनाउँदै आएको छ । 

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आधा हिस्सा ओगटेका महिलाले समान अधिकारका लागि अझै प्रयास जारी राख्नुपर्ने बताइन् । नेपालको संविधानले महिलाहरूको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको र अन्य अधिकारसमेत उपलब्धिका रूपमा प्राप्त भएको भन्दै भण्डारीले थप उपलब्धिका लागि अझै प्रयास जारी राख्नुपर्ने बताइन् । 

‘अन्तरिम संसद्ले महिला अधिकारसम्बन्धी चारवटा विशेष प्रस्ताव पारित गरेको थियो । त्यसलाई अन्तरिम संविधानले अंगका रूपमा ग्रहण गर्‍यो र अहिलेको संविधानले थप संस्थागत गरेको छ । संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाका कारण राज्यका महत्वपूर्ण निकाय, संघ, प्रदेश, स्थानीय तहको संरचनामा एकतिहाइ प्रतिनिधि सुनिश्चित भएको छ । तर, पनि आधा हिस्सा ओगटेका महिलाका लागि पूर्ण उपलब्धि होइन, त्यसैले थप उपलब्धिका लागि प्रयास जारी राख्नुपर्छ,’ भण्डारीले भनिन् । 

महिलाहरूले गम्भीरतापूर्वक राष्ट्रिय एजेन्डा उठाएर नेतृत्व लिनुपर्नेमा जोड दिँदै त्यस्तो अवस्थामा मात्र महिलाहरूलाई कसैले पनि हेलाहोचोको व्यवहार गर्न नसक्नेतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । ‘संविधानको मौलिक हक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढ्नुपर्छ,’ भण्डारीले भनिन् । 

आमाको स्वास्थ्य, राष्ट्रको स्वास्थ्य र बालबालिका देशकै भविष्य भएकाले त्यसतर्फ सरकार र पार्टीका शीर्ष नेतृत्वले ध्यानदिनुपर्नेमा उनको जोड थियो । भण्डारीले जलवायु परिवर्तनले निम्त्याएको असर, शुद्ध खानेपानीको अधिकार, वातावरण संरक्षण, खाद्य सुरक्षा र कृषि उत्पादनको वृद्धिलगायतका एजेन्डा उठाउन पनि ध्यानाकर्षण गराइन् ।

त्यस्तै, कार्यक्रममा एमाले अध्यक्ष ओलीले समानता प्राप्तिको आन्दोलन जारी राख्नका लागि आत्मनिर्भर बन्ने गरी तत्काल नयाँ काम सुरु गर्न पार्टीसम्बद्ध महिलालाई निर्देशन दिए । ‘अब परआश्रित हुने होइन, आत्मनिर्भरका लागि केही न केही नयाँ काम सुरु गर्नुस्, राष्ट्रिय महिला अधिकार दिवसमा आयोजित राष्ट्रिय भेलाबाट फर्किएपछि यस्तो काम सुरु गर्छु भन्ने संकल्प गर्दै अगाडि बढ्नुस्,’ ओलीले भने । 

ओलीले सहकारीमा आबद्ध भएर थोरै पुँजीबाट पनि महिलाहरूले आर्थिक उपार्जनको बाटोमा लाग्न सक्ने भन्दै ध्यानाकर्षण पनि गराए । ‘सहकारीमा केही बाहिरका गैरसहकारीवालाहरू, ठगेर खानेवालाहरू प्रवेश गरेकाले ठूला सहकारी बदनाम भएका छन्, समस्याग्रस्त भएका छन् । तर, साँच्चैका सहकारी संकटग्रस्त हुँदैनन्, छैनन्,’ ओलीले भने, ‘नियमको पालना गरेर अगाडि बढ्नुपर्छ, त्यस्ता सहकारीले राम्रा काम गरेका छन् । त्यस्ता राम्रा काम गर्ने सहकारीमार्फत महिला दिदीबहिनीले आयआर्जन गर्न सक्छन् ।’

महिला आन्दोलन सामाजिक आन्दोलनकै एउटा हिस्सा भएको भन्दै ओलीले सेन्टिमेन्टल नहुन पनि ध्यानाकर्षण गराए । महिलाहरूका लागि सामाजिक न्याय र समानता आवश्यक रहेको भन्दै ओलीले मानवीय र जैविक आवश्यकताको परिपूर्तिबाट मात्र महिलाहरूले समानताको अनुभूति गर्न सक्ने बताए । 

अहिले ३३ प्रतिशत महिला सहभागिताबाट मात्र सन्तुष्ट हुने अवस्था नभएकाले पूर्ण समानताको दिशामा अघि बढने गरी आन्दोलनलाई उठाउनुपर्नेमा उनले जोड दिए । तर, महिला आन्दोलनभित्र पनि विकृति देखिन सक्ने भन्दै ओलीले गलत प्रवृत्तिबाट जोगिएर सजगतापूर्वक आन्दोलनलाई सही दिशा दिन पनि ध्यानाकर्षण गराए । देशले जित्नका लागि महिलाहरूले संगठित भएर लड्नुपर्ने उनको भनाइ थियो । 

लोकतन्त्रको लामो अभ्यास गरेको धेरै विकसित मुलुकमा समेत महिला सहभागिता १५ प्रतिशतकै आसपासमा रहेको भन्दै ओलीले नेपालमा ३३ प्रतिशत सहभागिताको अधिकार सुनिश्चितता हुँदा पनि व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन भएन भन्दै भ्रम फैलाउनुको कुनै अर्थ नरहेको प्रस्ट्याए । 

तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरूले संघर्ष गरेर प्राप्त गरेको अधिकार कार्यान्वयनमा अझै चुनौती देखिएको भन्दै संगठित रूपमा अगाडि बढ्ने गरी भेलामा छलफल गर्न सुझाव दिइन् ।