१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १८ बुधबार १०:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अडानी व्यापारिक साम्राज्यमा आएको हलचल

Read Time : > 2 मिनेट
२०७९ माघ १८ बुधबार १०:३०:००

सन् १९८० को दशकमा सामान्य व्यापार गरिरहेका गौतम अडानी भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको विशाल धनको साम्राज्यका स्तम्भ केही दिनयता खलबलिएका छन् । हिन्डनबर्ग रिसर्च नामक न्युयोर्कको एक सानो फर्मले २४ जनवरीमा जारी गरेको एक अध्ययन प्रतिवेदनमा अडानी समूहलाई ‘व्यापारिक इतिहासकै सबैभन्दा ठूलो ठग’ भनेको छ ।

समूहले प्रतिक्रियाको शृंखला नै जारी गरेर ‘दुराशययुक्त प्रहसन’ रहेको र ‘अध्ययनविनाको’ प्रतिवेदनको नियत अडानी इन्टरप्राइजेजको दोस्रो सेयर बिक्रीमा ‘छेडखानी’ गर्नु रहेको बताएको छ । यसबाहेक समूहले हिन्डनबर्गले ‘हामीसँग सम्पर्कसमेत नगरी वा तथ्य–आँकडा पुष्टि नगरी’ प्रतिवेदन जारी गरेको आरोप लगाएको छ । ‘हामी लगानीकर्ता एवं आमजनतालाई दिग्भ्रमित पार्न गरिएको विदेशी संस्थाको नियतवश एवं लापरबाह प्रयासबाट चिन्तित छौँ,’ समूहका एक उच्च अधिवक्ता जतिन जालुन्धवाला बताउँछन् । 

यी कठोर खण्डनका बाबजुद अडानी आफ्ना सात सार्वजनिक फर्ममा रहेका सेयरको बिक्री रोक्न असफल भए ।हिन्डनबर्ग प्रतिवेदनको प्रकाशनपछि र सार्वजनिक बिदा अर्थात् २७ जनवरीपछि अडानी समूहका सूचीकृत कम्पनीको बजार मूल्य दुई कारोबार दिनमा ४७ अर्ब डलर अर्थात् २२ प्रतिशतले घट्यो । खोजसंस्था हुरुन रिपोर्टका अनुसार अडानीको एक खर्ब २२ अर्ब डलरको व्यक्तिगत सम्पत्ति सन् २०२२ को अन्त्यमा ९३ अर्ब डलरमा झरेको जनाइएको छ । यो परिघटनापछि भारतको अर्थतन्त्र चलायमान बनाइरहेका एवं व्यापारिक रूपमा अत्यधिक सफल मानिएका व्यक्तिलाई सारा विश्वले चिन्न पाएको छ । 

हिन्डनबर्ग प्रतिवेदनले अडानी समूह कथित रूपमा ‘स्पष्ट सेयर बजार छेडखानी एवं लेखा–ठगी योजनामा संलग्न रहेको’ देखाएको छ

हिन्डनबर्गका लागि अडानीको व्यापारभन्दा ठूलो खुलासा के हुन सक्छ र ? व्यापारी अडानीले १६ वर्षको उमेरमा विद्यालय छोडेपछि विभिन्न काम गरे र पूर्वाधार उद्योगमा लाग्नुअघि उनले अन्न र धातुको व्यापार गरेका थिए । उनका कम्पनीले हाल भारतका केही ठूला बन्दरगाहको स्वामित्व राख्छन् र कम्पनीले देशको अन्न भण्डारणमा ३० प्रतिशत, विद्युत् प्रसारण सेवामा एक चौथाइ, व्यावसायिक उड्डयन यातायातमा एक चौथाइ र सिमेन्ट उत्पादनमा २० प्रतिशत हिस्सा ओगटेको छ । भारतको सबैभन्दा ठूलो खाद्य कम्पनी सिंगापुरको कम्पनीसँग मिलेर खोलिएको संयुक्त उद्यम हो ।

अडानी समूहले अस्ट्रेलिया, इजरायल र श्रीलंकाका प्रमुख स्थानमा रहेका बन्दरगाहमा पनि लगानी गरेको छ ।
गत आर्थिक वर्षमा अडानी समूहको कुल आम्दानी २५ अर्ब डलर थियो, जुन भारतको कुल गार्हस्थ उत्पादनको शून्य दशमलव सात प्रतिशत हो र सो समयमा समूहको मुनाफा एक अर्ब ८० करोड डलर रहेको थियो । त्यसैगरी समूहको कुल वार्षिक खर्च करिब पाँच अर्ब डलर थियो, जुन भारतका सबै गैरवित्तीय संस्थाको कुल वार्षिक खर्चको चार प्रतिशत हो । अडानीका योजना महत्वाकांक्षी देखिन्छन् ।

सन् २०२३ र २०२७ बीच अडानी समूहले स्वच्छ ऊर्जा र हाइड्रोजन ऊर्जालगायत क्षेत्रमा ५० अर्ब डलरको लगानी गर्ने अनुमान गरिएको छ । भारतीय पुँजीवादको जटिल कानुनी एवं राजनीतिक परिदृश्यलाई केलाउन सक्ने अडानी कुशल व्यवस्थापकका रूपमा चिनिन्छन् ।

केही लगानीकर्ताले वेलावेलामा अडानी समूहको प्रशासन एवं अपारदर्शी वित्त व्यवस्थामा चासो व्यक्त गर्ने गरेका छन् । यही चासो हिन्डनबर्ग प्रतिवेदनको मुख्य विषय बनेको छ । प्रतिवेदनले लगानी र कागजी कम्पनीका जटिल सञ्जालले अडानी समूहका सार्वजनिक रूपमा सूचीकृत रहेका सात कम्पनीबाट फैलिएका पाँच सय ७८ सहायक कम्पनीसँग व्यापारिक सौदा/सम्बन्ध राखेको थियो । हिन्डनबर्गका अनुसार गत वर्ष यी सहायक कम्पनीले ६ हजार २५ व्यापारिक सौदा गरेका थिए ।

भारतमा भीमकाय एवं जटिल कर्पोरेट संरचना एवं बजार सामान्य हो । प्रतिवेदनले अडानी समूह कथित रूपमा ‘स्पष्ट सेयरबजार छेडखानी एवं लेखा–ठगी योजनामा संलग्न रहेको’ देखाएको छ । हिन्डनबर्गले उच्च ऋण एवं न्यून तरल सम्पत्ति भएको अडानी समूहले आफ्ना सूचीकृत फर्मको सेयर मूल्यमा छेडखानी गरेर ‘समूहको वित्तीय स्वास्थ्य ठिक रहेको’ देखाउँदै धन जोड्ने ध्याउन्नमा लागेको आरोप लगाएको छ ।

तसर्थ हिन्डनबर्गका अनुसार अडानी समूहका सूचीकृत कम्पनीको मूल्यांकन ८५ प्रतिशतसम्म बढाएर गरिएको थियो र वित्तीय समस्यालाई ढाकछेप गरिएको थियो । हिन्डनबर्गले अडानी समूहका एक सय ५६ सहायक कम्पनी रहेको र यी सबै कम्पनीका लेखा प्रतिवेदन साना लेखापरीक्षण फर्मले तयार पारेको दाबी गरेको छ । र, केही लेखापरीक्षण फर्मका परीक्षकको उमेर २० वर्षआसपास मात्रै रहेको छ । 

प्रतिक्रियामा अडानी समूहले यी आरोपलाई भारतको सर्वोच्च अदालतले अस्वीकृत गरिसकेको जनाएको छ । अडानी समूहले समूहको ऋण घटिरहेको र समूहका कम्पनीका ऋण निष्कासनलाई थुप्रै रेटिङ एजेन्सीले लगानीयोग्य भनेर वर्गीकरण गरेको दाबी गरेको छ । मुख्य अधिवक्ता जालुन्धवालाले कानुनी उपचार खोज्ने बताएका थिए । प्रतिक्रियास्वरूप ट्विटरमा हिन्डनबर्गले आफू प्रतिवेदनमा कायम रहेको र अमेरिकामा (आफू सञ्चालित मुलुकमा) कानुनी चुनौती व्यहोर्न तयार रहेको जनाएको छ । 

अडानी इन्टरप्राइजेजको बहुप्रतीक्षित दोस्रो सेयर निष्कासन यो खुलासाले अस्थायी रूपमा निराश बनेको छ । ऋण कम गर्नका लागि यसबाट करिब दुई अर्ब ५० करोड लगानी उठाउने अपेक्षा गरिएको थियो । २५ जनवरीको पहिलो सेयर निष्कासनबाट ३० प्रतिशत पुँजी वृद्धि भएको थियो । अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी, भारतीय जीवन बिमा कम्पनी र दुई अमेरिकी बैंक गोल्डम्यान साक्स र मोर्गन स्टेनलीसँग जोडिएका संस्था बोलपत्र पेस गर्ने उल्लेखनीय लगानीकर्ता थिए । बोलपत्र पेस गरेयता अडानी इन्टरप्राइजेजको सेयर मूल्य प्रस्तावित मूल्यभन्दा तल झरेको छ ।
द इकोनोमिस्टबाट