मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Saturday, 14 December, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार ११:o३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिगमा भित्रिए २४ विदेशी खेलाडी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार ११:o३:oo

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल)का फ्रेन्चाइज ८ टोलीले अहिलेसम्म समग्रमा २४ खेलाडी अनुबन्ध गरेका छन् । एनपिएलको पहिलो संस्करण १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुँदै छ । कुल ३२ खेलका लागि सहभागी हरेक टोलीले समान चार विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले फ्रेन्चाइज लिगमा अनुबन्ध हुने विदेशी खेलाडीका हकमा छुट्टै नियमावली बनाएको छ । 

आइसिसीको नियमअनुसार चार टोलीले मात्रै टेस्ट खेलिरहेका चार खेलाडी टोलीमा समावेश गर्न पाउँछन् । त्यसबाहेक टेस्टबाट सन्न्यास लिएका वा दुई वर्षदेखि राष्ट्रिय टोलीमा समावेश नभएका खेलाडीलाई जुनसुकै टोलीले अनुबन्ध गर्न पाउँछन् । एनपिएलमा टेस्ट खेलिरहेका खेलाडी अनुबन्ध भएका छैनन् । एनपिएलका फ्रेन्चाइज टोलीले विदेशी खेलाडीसँगको सम्झौता रकम खुलाएका छैनन् । पोखरा एभेन्जर्सले चारैै विदेशी खेलाडी लिगमा समावेश गरिसकेको छ । काठमाडौं गोर्खाजले दुई खेलाडीलाई भित्र्याएको छ । विराटनगर किंंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सले समान तीन खेलाडी अनुबन्ध गरेका छन् । 

चार विदेशीबाहेक सबै टोलीले अक्सनबाट १०, मार्की १ र स्थानीय एक खेलाडी टोलीमा समावेश गर्न पाउँछन् । अक्सनमा सहभागी टोलीले नेपाली खेलाडी भित्र्याए पनि लिगमा विदेशी खेलाडी नै मुख्य भूमिकामा हुने बताएका थिए । अहिलेसम्म अनुबन्ध भएका विदेशीमध्ये न्युजिल्यान्डका मार्टिन गप्टिल नै ठुला नाम गरेका खेलाडी हुन् ।

पोखरा एभेन्जर्स : विदेशी खेलाडी (४)

खेलाडी अक्सनमा सबैभन्दा महँगो बनेको पोखरा विदेशी खेलाडी अनुबन्धमा पनि अगाडि देखिएको छ । उसले चारै विदेशी खेलाडीको कोटा पूरा गरेको छ । पोखराले अन्तिम विदेशीको रूपमा इंग्ल्यान्डका अलराउन्डर म्याट क्रिचलीलाई भित्र्याएको छ । पोखराले वेस्ट इन्डिजबाट दुई टेस्ट खेलेका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका युवा ब्याट्सम्यान बास डी लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ । टोलीका मार्की खेलाडीमा राष्ट्रिय टोलीका कुशल भुर्तेल छन् । 

कर्णाली याक्स : विदेशी खेलाडी (३)

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्र्णालीले तीनजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । नेपाल राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी मार्की रहेको कर्णालीले पाकिस्तानबाट टेस्ट खेलिसकेका मोहम्मद हुसैन तलात, वेस्ट इन्डिजबाट खेलिसकेका चादविक वाल्टन र हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायातलाई अनुबन्ध गरेको छ । ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहेको कर्णालीमा आबद्धमध्ये चर्चित अनुहार बाबर हुन् । 

सुदूरपश्चिम रोयल्स : विदेशी खेलाडी (३)

नेपालका पहिलो पुस्ताका खेलाडी जगत टमाटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले तीन विदेशी खेलाडी भित्र्याइसकेको छ । सुदूरपश्चिमले न्युजिल्यान्डबाट तीन टेस्ट खेलेका ३२ वर्षीय खेलाडी स्कट कुगेलेइजलाई अनुबन्ध गरेको छ । यस टोलीमा उनी नै अहिलेसम्मकै ठुलो नाम गरेका खेलाडी हुन् । इंग्ल्यान्डका सैफ जैबसँगै स्कटल्यान्डका कप्तान ब्रान्डन म्याकमुलेन पनि टोलीसँग छन् । टोलीको मार्कीमा राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । 

लुम्बिनी लायन्स : विदेशी खेलाडी (३)
नेपाली राष्ट्रिय टोलीमा रहेर काम गरेका नन्दु फादनिसलाई लुम्बिनी लायन्सले प्रशिक्षक बनाएको छ । टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । अस्ट्रेलियाका ३७ वर्षीय खेलाडी बेन कटिङ अहिलेसम्मकै ठुलो नाम गरेका खेलाडीमा पर्छन् । उनले चार एकदिवसीय तथा ७ टी–२० आई खेल खेलेका छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स र सन्राइजर्स हैदराबादसँगको अनुभव छ । उनीबाहेक इंग्ल्यान्डका टम मोरेस र बंगलादेशका मोहम्मद साइफुदिन पनि छन् ।

चितवन राइनोज : विदेशी खेलाडी (३)
कुशल मल्ल मार्की रहेको चितवनले तीनजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । टोलीमा दक्षिण अफ्रिकाका मार्चन्ट डी लाङ्गे, इंग्ल्यान्डका लुक बेन्केन्स्टेइन र अफगानिस्तानका हसन इसाखिल छन् । ३४ वर्षीय दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्टले २ टेस्ट र चार एकदिवसीय खेलेका छन् । उनले सन् २०१२ देखि २०१५ सम्म आइपिएलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबाट लागि खेलेका थिए । नेपाल राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक उमेश पटवालले चितवनलाई प्रशिक्षण दिइरहेका छन् । 

जनकपुर बोल्ट्स : विदेशी खेलाडी (३)
नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके प्रशिक्षक रहेको जनकपुरले एनपिएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । आसिफ शेख मार्की रहेको टोलीमा पाकिस्तानका मोहम्मद मोहसिन, न्युजिल्यान्डका जेम्स डुग्लास निसामसँगै अमेरिकाका जोसुवा ट्रोम्प छन् । न्युजिल्यान्डका ३४ वर्षीय खेलाडी जेम्स टिमका सबैभन्दा ठुला नाम गरेका खेलाडी हुन् । उनले न्युजिल्यान्डबाट १२ टेस्ट खेलिसकेका छन् । सन् २०१७ देखि उनी न्युजिल्यान्ड टोलीमा छैनन् । उनले ७६ एकदिवसीय र ७७ टी–२० आई खेलिसकेका छन् । 

काठमाडौं गोर्खाज : विदेशी खेलाडी (२)
काठमाडौंले अहिलेसम्म दुई दिवेशी खेलाडी अनुबन्ध गरेको छ । खेलाडीको अक्सनमा काठमाडौं दोस्रो खर्चिलो टोली बनेको थियो । काठमाडौंले नामिबियाका कप्तान जेरहार्ड इरास्मस र नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ । दुवै खेलाडी एसोसिएट राष्ट्रका राम्रा खेलाडी मानिन्छन् । वसन्त शाहीको प्रशिक्षणमा रहेको काठमाडौंले टेस्ट खेलेका र एकदिवसीय खेलेका खेलाडी भित्र्याउने प्रयासमा छ । यस टोलीका मार्की खेलाडी करण केसी हुन् । 

विराटनगर किंग्स : विदेशी खेलाडी (३)
विराटनगरले एनपिएलमा विश्वकै चर्चित खेलाडी भित्र्याएको छ । विराटनगरले आइसिसी एकदिवसीय विश्वपकमा दोहोरो शतक प्रहार गरेका न्युजिल्यान्डका निकै अनुभवी मार्टिन गुप्टिललाई गत साता अनुबन्ध गरेको थियो । ३८ वर्षीय गुप्टिलले ४७ टेस्ट, १९८ एकदिवसीय र १२२ टी– २० आई खेलेका छन् । उनले सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध एकै खेलमा अविजित २३७ रन बनाएका थिए । उनले न्युजिल्यान्डबाट एकदिवसीयमा १८ शतक र ३९ अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले टी–२० आइमा दुई शतक र २० अर्धशतक बनाएका छन् । विराटनगरमा क्यानडाका निकोलास किर्टन र ओमानका अकिब इल्यास छन् ।