अमेरिकी पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट पाँचदिने भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । उनले सरकार र नागरिक समाजका प्रतिनिधिसँग भेटवार्ता गर्ने र पिस कोर कार्यक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।
उपनिर्देशक ह्वाइटले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्ने कार्यक्रम छ । नेपाल आइपुगेका १० जना पिस कोर रेस्पोन्स स्वयंसेवीको शपथग्रहण समारोहमा उनी सहभागी हुनेछन् । नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरको यो नै पहिलो समूह हो । पिस कोर रेस्पोन्स कार्यक्रमअन्तर्गत अनुभवी अमेरिकी स्वयंसेवकलाई अल्पकालीन (९ देखि १२ महिना) अवधिका, उच्च–प्रभाव दिने खालका काममा सहभागी गराइने दूतावासले जनाएको छ ।
उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि छलफल गर्ने कार्यक्रम छ । नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनामा काम गर्दै आएका छन् । ‘समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन्,’ दूतावासले भनेको छ ।
हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन् । उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अंग्रेजी भाषा पढाउनेदेखि खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन् । शपथग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको संख्या ५० पुग्नेछ ।