१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
जोसेफ ई स्टिग्लिज
२o८१ जेठ १५ मंगलबार १o:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नवउदारवादको छायामा चुनाव

Read Time : > 2 मिनेट
जोसेफ ई स्टिग्लिज
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १o:oo:oo

विश्वभर लोकरिझ्याइँवादी राष्ट्रवाद बढ्दै गएको छ, जसलाई प्रायः अधिनायकवादी नेताले अघि सारिरहेका हुन्छन् । यस्तो अवस्थामा पश्चिममा करिब ४० वर्षअघि सतहमा आएको नवउदारवादी रुढिवाद अर्थात् सरकारको आकार घटाउने, कर कटौती गर्ने, सरकारी नियमन घटाउने कामले लोकतन्त्रलाई कमजोर नभई बलियो बनाउनुपथ्र्यो । 

नवउदारवादले आफ्ना वाचा पूरा गर्न नसकेका उदाहरण विशेषतः अमेरिकाजस्ता विकसित अर्थतन्त्रमा देख्न सकिन्छ । प्रतिव्यक्ति वास्तविक आय वृद्धि सन् १९८० देखि कोभिड–१९ को महामारीमा १९८० अघिको ३० वर्षको तुलनामा ४० प्रतिशले कम थियो । निम्न एवं मध्यम वर्गका मानिसमा आम्दानी स्थिर रह्यो, जब कि धनाढ्यको आम्दानी उल्लेखनीय रूपमा बढ्यो । यसबाहेक कमजोर सामाजिक सुरक्षाले उच्च आर्थिक असुरक्षा निम्त्यायो ।

जलवायु परिवर्तनबारे चिन्तित युवा नवउदारवादअन्तर्गतका देश प्रदूषणविरुद्ध बलिया नियम लागू गर्न लगातार असफल भएको देख्छन् । यो असफलता अचम्मको होइन, किनभने नवउदारवादले नियमन नगरिएको बजारले उच्चतम नतिजा निम्त्याउँछ भन्ने धारणामा भर पर्छ । यद्यपि नियमन नगरिएका बजार न कुशल वा स्थिर छन्, न त तिनले आम्दानीको सामाजिक रूपमा स्वीकार्य वितरणलाई प्रोत्साहन गर्छन् ।

नवउदारवादका समर्थकले कर्पोरेसन र ठूला निगमलाई स्वतन्त्रता दिनुले समग्र समाजको स्वतन्त्रतालाई अवरोध पुर्‍याउँछ भन्ने तथ्य बुझ्न असफल भए । प्रदूषित गर्ने स्वतन्त्रताले स्वास्थ्यमा समस्या, चरम मौसम र आबाद नहुने जमिन निर्माण गर्छ । कुनै पनि सभ्य समाजले प्रदूषण गर्ने नक्कली अधिकारभन्दा बाँच्ने अधिकारलाई प्राथमिकता दिन्छ ।नवउदारवादले करको विरोध गर्छ, किनभने यसले करलाई व्यक्तिगत स्वतन्त्रताको उल्लंघनका रूपमा हेर्छ, तर आय सिर्जनालाई सक्षम पार्ने सरकारी लगानीको भूमिकालाई बेवास्ता गर्छ ।

नवउदारवादका समर्थकले कर्पोरेसन र ठूला निगमलाई स्वतन्त्रता दिँदा त्यसले समग्र समाजको स्वतन्त्रतामा अवरोध पुर्‍याउने तथ्य बुझ्न सकेनन्

नवउदारवादका समर्थकले प्रायः आफ्नो सम्पत्तिका लागि आवश्यक पूर्वाधार, प्रविधि, शिक्षा र सार्वजनिक स्वास्थ्यमा सरकारको योगदानलाई बेवास्ता गर्छन् । उनीहरू कानुनी शासन नभएका कैयौँ मुलुकमध्ये एउटामा जन्मेको भए आफ्नो के हाल हुन्थ्यो भनेर बिरलै विचार गर्छन् वा अमेरिकी सरकारले कोभिड–१९ खोप बनाउन लगानी नगरेको भए आफ्नो हालत के हुन्थ्यो भनेर सोच्दैनन् ।

सरकारमा धेरै निर्भर हुनेले नै प्रायः सरकारको योगदानलाई बेवास्ता गर्छन् । सन् २०१० मा राष्ट्रपति बराक ओबामाको ऊर्जा विभागबाट महत्वपूर्ण अनुदान प्राप्त गर्ने एलोन मस्क र टेस्लालाई नै हेर्दा हुन्छ । यस सन्दर्भमा सर्वोच्च अदालतका न्यायाधीश ओलिभर वेन्डेल होम्सको भनाइ सार्थक हुन्छ । उनले ‘कर हामीले सभ्य समाजका लागि तिर्ने हो’ भनेका थिए । यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ । कानुनी शासन स्थापना गर्न र एक्काइसौँ शताब्दीको समाजका लागि आवश्यक सार्वजनिक वस्तु उपलब्ध गराउन कर आवश्यक छ । सबैले अत्यावश्यक वस्तुबाट लाभ पाउने सन्दर्भमा नियमन मुक्तिदायी हुने गर्छ । 

संकुचित सरकारको पैरवी गर्नेले पेन्सन र सार्वजनिक स्वास्थ्य सेवासहित खर्च कटौती गर्नुपर्छ भन्छन् । तर, बुढेसकालमा भरपर्दो स्वास्थ्य सेवा वा आम्दानीको अभावमा समाजले बढ्दो असुरक्षा र डरको सामना गर्‍यो भने समाज कम स्वतन्त्र हुन्छ । बालकर ऋणका लागि थोरै बढी कर तिर्दा अर्बपतिको सुविधामा असर पर्ने भए पनि खाना वा स्वास्थ्य सेवामा पहुँच नभएका बालबालिकामा पर्ने प्रभावमा विचार गर्नु महत्वपूर्ण हुन्छ ।

थोरै बालबालिका कुपोषित वा बिरामी हुने मुलुकको भविष्यमा हुने सकारात्मक प्रभावको कल्पना गर्दा पनि भयो । यी मुद्दा यस वर्षको चुनावमा केन्द्रित हुनुपर्छ, विशेषतः अमेरिकी राष्ट्रपतिको चुनावमा, जहाँ सामान्यतया बहस अराजकता र व्यवस्थित सरकारमा हुन्छ । यसपालि चुनावी प्रतिस्पर्धाले आर्थिक दर्शनबीचको छनोट पनि प्रस्तुत गर्नुपर्छ । वर्तमान राष्ट्रपति जो बाइडेनले सबै नागरिकको समृद्धि गर्ने लक्ष्य राखेका छन्, विशेषतः तल्लो तप्काका ९९ प्रतिशत जनताका लागि जब कि डोनाल्ड ट्रम्पले शीर्ष एक प्रतिशतको सुविधालाई प्राथमिकता दिन्छन् । प्रायः लक्जरी गल्फ रिसोर्टमा रमाउने ट्रम्पलाई विश्वभरका आसेपासे पुँजीवादीका नेताका रूपमा हेरिन्छ ।

हामीले निर्माण गर्न खोजेको समाजका लागि ट्रम्प र बाइडेनले विरोधाभासपूर्ण दृष्टिकोण अघि सारेका छन् । एकले बेइमानी, हानिकारक मुनाफाखोरी, आत्मकेन्द्रित व्यवहार, तडकभडक र लोभलाई बढावा दिँदै जनताको विश्वासलाई खलल पार्ने भविष्यको चित्रण गर्छ । अर्कोले निर्वाचित नेता र सार्वजनिक अधिकारीले विश्वास र इमानदारीमा स्थापित थप नवीन, स्वस्थ र ज्ञानमा आधारित समाज निर्माण गर्न इमानदारीपूर्वक सहकार्य गर्ने परिकल्पना गर्छ ।

निःसन्देह राजनीति उल्लिखित विवरणले संकेत गरेजस्तो शुद्ध कहिल्यै हुँदैन । तर, स्वतन्त्रता र असल समाजको निर्माणमा दुई उम्मेदवार मौलिक रूपमा फरक दृष्टिकोण राख्छन् भन्ने कुरालाई कसैले नकार्न सक्दैन । हाम्रो आर्थिक प्रणालीले हामी को हौँ र हामी के बन्न सक्छौँ भनेर प्रतिबिम्बित गर्छ र त्यसलाई आकार दिन्छ । यदि हामीले सार्वजनिक रूपमा स्वार्थी, स्त्रीद्वेषीलाई समर्थन गर्छौं वा यी विशेषतालाई सानो समस्याका रूपमा खारेज गर्छौं भने हाम्रा युवाले गलत सन्देश पाउनेछन् र हाम्रो सत्ताको बागडोर थप धूर्त र अवसरवादीको हातमा पुग्नेछ । अर्थात् हाम्रो समाज विश्वासविनाको समाज हुनेछ, तसर्थ अर्थव्यवस्था सहज रूपमा चल्नेछैन ।

ट्रम्पले ह्वाइट हाउस छोडेको तीन वर्षमै जनताले ट्रम्प सरकारको अराजकता, अक्षमता र कानुनी शासनमाथिको आक्रमणलाई बिर्सेका छन् भन्ने हालैका सर्वेक्षणले देखाउँछ । तर, उम्मेदवारको ठोस स्थितिलाई बुझेर सबै नागरिकलाई मूल्यांकन गर्ने र उनीहरूका लागि पूर्ण एवं सन्तुष्ट जीवन बिताउने तरिका सिर्जना गर्ने प्रयास गर्ने समाजमा बाँच्न चाहन्छौँ भने हामीसँग स्पष्ट छनोट छ ।

(स्टिग्लिज अर्थशास्त्रका नोबेल पुरस्कार विजेता हुन् र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन्)  प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad