१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सम्बन्धविच्छेद मुद्दा : अदालतभित्रै श्रीमतीमाथि निर्घात कुटपिट

गुल्मीमा वार्षिक विवाहको ८ प्रतिशत सम्बन्ध बिच्छेद

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:३७:oo

गुल्मी जिल्ला अदालतभित्रै श्रीमतीलाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो छत्रकोट गाउँपालिका– ३ हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई मरणासन्न हुने गरेर कुटपिट गरेका हुन् । दीपक र मनसुवाबीच ६ वर्ष पहिले विवाह भएको थियो । उनीहरू दुवैजना सम्बन्धविच्छेदको मुद्दाको पेसी परेकाले बिहानै जिल्ला अदालत आएका थिए ।

तर, श्रेष्ठले झुक्याएर श्रीमतीलाई कुटपिट गरेर रगताम्य गरेपछि प्रहरीले पक्राउ गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते मनसुवालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास रिफर गरिएको छ । पन्थीका अनुसार घटनामा संलग्न श्रेष्ठलाई अदालतको अवहेलना र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चल्न सक्ने बताए । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने पन्थीले बताए । सुरुको मुद्दा अर्घाखाँची जिल्ला अदालतमा दर्ता भए पनि क्षेत्राधिकारको हिसाबले गत १३ फागुनमा गुल्मी जिल्ला अदालतमा आएको सूचना अधिकारी पन्थीले बताए । 

सम्बन्धविच्छेदबाट ज्येष्ठ नागरिक र बालबालिका प्रभावित

इस्मा (३६)  भारतमा काम गर्थे । सात वर्षअघि मागी विवाह गरे । विवाहपछि वृद्ध बुबाआमाको हेरचारमा सजिलो भयो । बिस्तारै दुई सन्तान पनि भए । श्रीमतीले परिवार व्यवस्थापन गरेकाले इस्मा (३६) ले कमाइ पनि राम्रै गरेका थिए । तर, पछिल्लो समय सम्बन्ध बिग्रँदै गयो । 

इस्मा (३६) जागिर छोडेर घर आए । धेरैपटक श्रीमतीसँग सम्बन्ध सुधारका प्रयास गरे । त्यो सम्भव देखिएन । अन्ततः केही समयअघि दुईजनाबीच सम्बन्धविच्छेद भयो । घरको राम्रो आर्थिक अवस्था थिएन । त्यसैले इस्मा (३६) भारत पसेका थिए । उनी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि घर आए । अहिले श्रीमती र जागिर छैन । साना लालाबालासहित वृद्ध बुबाआमाको व्यवस्थापन इस्मा (३६) कै थाप्लोमा छ । ‘सबैभन्दा ठूलो कुरा परिवार रहेछ । मन बिग्रेपछि परिवार पनि बिग्रियो,’ उनले भने, ‘मैले सम्बन्ध सुधारका कैयन प्रयास गरेँ, उनले छोराछोरी र मलाई नसम्झेपछि मेरो केहि लागेन ।’ उनले छोराछोरी र बाबाआमा छोडेर काम वा विकल्प खोज्न नसकेको गुनासो गरे । 

गुल्मीदरबार (४६) श्रीमतीको भरमा छोराछोरी र बिरामी बुबा छोडेर परदेश गएका थिए । चार वर्षसम्म घर र परदेश गरे। कमाइ पनि राम्रै थियो । पछि दुईजनाको सम्बन्ध बिग्रियो । केही समय पहिले गुल्मीदरबार (४६) घर आएपछि सम्बन्धविच्छेद भयो । एक छोरी र बिरामी बुबाको व्यवस्थापन गुल्मीदरबार (४६) आफैँले गरिरहेका छन् । छुट्टीमा व्यवस्थापनको काम नसकिएपछि टिकट छुट्यो र जागिर पनि रहेन । 

यी त जिल्लाका प्रतिनिधिमूलक घटना हुन् । गुल्मीमा वार्षिक रूपमा हुने विवाहको आठ प्रतिशत सम्बन्धविच्छेद हुने गरेको पाइएको छ । जिल्लामा दुई नगर र १० गाउँपालिका रहेका छन् । जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको जिल्लाका १२ स्थानीय तहको पञ्जीकरणको विवरणका आधारमा आर्थिक वर्ष ०७९८० मा तीन सय ४९ जनाको सम्बन्धविच्छेद भएको छ भने चार हजार दुई सय ६० जनाले  विवाह दर्ता गराएका छन् ।  गत वर्ष जम्मा विवाहको ८.१९ प्रतिशत सम्बन्धविच्छेद भएका छन् । 

त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा तीन सय ६९ सम्बन्धविच्छेद भएका छन् । सोही आर्थिक वर्षमा चार हजार ६ सय ८८ विवाह दर्ता भएका थिए । आर्थिक वर्ष ०७८/७९ मा जम्मा विवाहको ७.८७ प्रतिशत सम्बन्धविच्छेद भएका छन्।

सम्बन्धविच्छेदबाट सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भइरहेका छन्। बुबा–आमाको सम्बन्धविच्छेदबाट बालबालिकाहरूले राम्रो संरक्षण र शिक्षादीक्षा नपाउने गरेका छन्। त्यस्तै, रोगी र उमेर पुगेका ज्येष्ठ नागरिकहरूले साना बालबालिकाको संरक्षण गर्न निकै मुस्किल परिरहेको छ। सामाजिक अगुवा तथा अधिवक्ता गणेश श्रीपालीले समग्र देशको अवस्थामा सुधार नआएसम्म सम्बन्धविच्छेद र आत्महत्याजस्ता घटना न्यूनीकरणमा चुनौती हुने बताए । 
 

ad
ad