Skip This
अनुमतिविनै स्थानीय यार्सा खोज्न पाटनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Saturday, 27 July, 2024
२o८१ जेठ ६ आइतबार १३:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनुमतिविनै स्थानीय यार्सा खोज्न पाटनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:५२:oo

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले १६ वैशाखमा सूचना जारी गर्दै संकलन अनुमतिपत्र लिएर मात्रै यार्सागुम्बा संकलन गर्न जानकारी गराएको थियाे। 

यार्सागुम्बा संकलन जेठ दोस्रो साताबाट सुरु हुने गरी १० वटा ठाउँबाट अनुमति जारी गर्ने सूचनामा उल्लेख छ। तर, अपी नाम्पा संरक्षण क्षेत्रले अनुमति जारी नगर्दै दार्चुलाका यार्सागुम्बा पाइने पाटनहरूमा संकलक पुगिसकेका छन्।
 
यार्सागुम्बा व्यवस्थापन निर्देशिका, २०७३ को व्यवस्थाअनुसार सबै यार्सागुम्बा संकलकहरूले अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ। तर, जिल्लाका सबै भूगोलमा संलकहरू अनुमतिविनै पुगेका छन्।

अपी हिमालको लोलु, रोखापु, रिंदेपानी, रोखापु, सतगंंगा, चाइमटेला, कालीढुंगा, काटै, धरमघर, क्षत्तिलगायत पाटनमा यार्चागुम्बा संकलन हुने गरेको छ। व्याँसको अपी, कुन्ती साउँ, दुधिवनलगायतका क्षेत्रमा संकलक पुगिसकेका हुन्। 

अपी हिमालको लोलुमा यार्सागुम्बा संकलन गर्दै आएका एकजना स्थानीयले भने, अहिलेसम्म अपी नाम्पा संरक्षण क्षेत्रको अनुमति लिएर कोही आएका छैनन्। ‘अनुमतिपत्र वितरण गरेकोबारे जानकारी भएन,’ उनले भने,  ‘अनुमतिपत्र कडाइका साथ विगतका वर्षबाट हुन सकेको छैन।’ 

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी इन्द्रसिंह नगारीका अनुसार अहिलेसम्म झन्डै चार सयले मात्रै अनुमतिपत्र काटेका छन्। जिल्लाभरिका पोस्टहरूबाट परिचयपत्र वितरण थालिएको छ। अधिकांश परिचयपत्र नकाटेरै लेकतिर गइसकेका छन्। 

यार्सा संकलन गरिने सबै वन क्षेत्रमा कर्मचारी स्टाफ र आवश्यकताअनुसार सुरक्षाकर्मीसमेत परिचालन गरेर अनुगमन गर्ने तयारी छ। 

यार्सागुम्बा संकलनका लागि स्थानीय लेक पुगे पनि यार्सागुम्बा भने पाइएको छैन। अपी हिमाल गाउँपालिका–२  का भरतसिंह धामीका अनुसार अहिले यार्सागुम्बा संकलकले दैनिक तीन–चार पिस मात्रै यार्सागुम्बा पाउने गरेका छन्। यो वर्ष पाटनमा हिउँ पनि छैन। समयमै वर्षा नहुँदा यार्सागुम्बा उम्रिन पाएको छैन। 

‘व्याँस क्षेत्रका स्थानीय गत वैशाख अन्तिम साता लेकतिर पुगिसकेका छन्। अहिले गाउँमा स्थानीय भेट्टाउनै मुस्किल छ,’ व्याँस गाउँपालिका– २ का दानसिंह कार्कीले भने। गाउँमा केही समस्या भयो भने पनि मान्छे पाउन सकिँदैन। 
 
यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार संरक्षण क्षेत्रभित्रका स्थानीयबाट प्रतिव्यक्ति पाँच सय रुपैयाँ, संरक्षण क्षेत्रभित्र नपर्ने दार्चुला जिल्लाका नागरिकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ र दार्चुला जिल्लाबाहिरका नागरिकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ संकलन अनुमतिपत्रबापत राजस्व संकलन गरिन्छ। जिल्लामा हरेक वर्ष पाँचदेखि १० हजारसम्म यार्सागुम्बा संकलक लेकतिर पुग्ने गरेका छन्। 

विद्यालयमा चाबी लगाएर अभिभावकसँगै विद्यार्थी लेकतिर 

दार्चुलाको अपी हिमाल गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन्। अपी हिमालका विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द भएका हुन्। 

२४ वटा सामुदायिक विद्यालय रहेको अपी हिमाल गाउँपालिकामा यो महिना स्थानीय यार्सागुम्बा संकलनमा जाने गर्छन्। विद्यालय व्यवस्थापन समितिले चालू शैक्षिक सत्रको लामो बिदा ४५ दिनबाट कट्टी हुने गरी २० दिनका लागि विद्यालय बिदा गरिएको सरस्वती आधारभूत विद्यालय अपी हिमाल गाउँपालिका– ४ मरखोलाका प्रधानाध्यापक गोबर्धनसिंह धामीले जानकारी दिए। पालिकाभरिका विद्यालय आइतबारबाट बिदा दिइएको छ। 

मुख्य आयस्रोतको रूपमा यार्सागुम्बा रहेको कारण यो सिजनमा हरेक वर्ष विद्यालय बन्द रहने गर्छन्। विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरेर विद्यालय बन्द गरिएको अपी हिमाल गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताए। ‘विद्यालय हामीले मात्रै खोल भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अभिभावक सबैको सहमति छ।’ 

विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा संकलनका वेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिइएको थियो। 

सर्वसाधारण तथा विद्यार्थी पाटन उक्लिएपछि अपी हिमाल गाउँपालिकाका धेरैजसो गाउँ सुनसान भएका स्थानीय गगनसिंह लोथ्यालले जानकारी दिए। बालबालिका युवा गाउँमा कोही छैनन् । वृद्धवृद्धा मात्रै गाउँमा घर हेरालुको रूपमा भेटिन्छन्। 

यार्सागुम्बा व्यवस्थापन निर्देशिका, २०७३ ले नागरिकता नभएका बालबालिकालाई यार्सागुम्बा संकलनका लागि अनुमति दिइएको छैन। तर, उच्च भेगका नागरिक व्यावहारिक रूपमा यार्सागुम्बा संकलन गर्न लेकतिर हरेक वर्ष जाने गरेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ।