१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
डा. विद्यानाथ कोइराला
२o८१ बैशाख २२ शनिबार o७:o५:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यार्थी अघिअघि, शिक्षक पछिपछि

विद्यार्थी प्रविधिमैत्री तथा शिक्षक पाठ्यक्रममुखी भइरहेको अवस्थामा हाम्रो शिक्षा ‘डिजिटलाइज’ हुन निकै ढिलो भइसक्यो

Read Time : > 5 मिनेट
डा. विद्यानाथ कोइराला
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o५:oo

हिजोदेखि आजसम्म आइपुग्दा विद्यार्थीको पठनशैली परिवर्तन भएको हामीले बुझ्नै सकेनौँ । हिजोको चिन्तनले आज पुग्दैन । हिजो ‘क्लास’लाई पढाउनेले आज ‘मास’लाई पढाउनुपर्छ । तर, पठनपाठनको तरिका उस्तै छ । शिक्षकमा ‘मोटिभेसन’को कमी हुँदा विद्यार्थीले ज्ञान कम पाए । हामीले सीपको प्रमाणपत्र दिन सकेनौँ । पढाइको प्रमाणपत्रसँगै विद्यार्थीले जानेको सीपबारे पनि उल्लेख गरिदिन सके सहज हुने थियो । प्रमाणपत्र एकातिर मात्रै हुनुपर्छ भन्ने छैन । दुईतिरै लेखौँ न । जानेको सीप यो छ भनेर पछाडिपट्टि लेखिदिँदा केही बिग्रन्न । तर, यो हिम्मत पनि हामीमा भएन । 

हिजो हाम्रो शिक्षा वर्गीय थियो । राजकुलमा राजनीति पढ्ने, गुरुकुलमा ब्रह्मविद्या, आर्षकुलमा इतिहासविज्ञ बन्ने प्रणाली प्राचीन समयदेखि रहिआयो । त्यहाँ जान नसक्नेलाई पुराणबाट कथावाचन गरिदिने, कृषि र स्वास्थ्यका कुरा तल्लाघर–माख्लाघरमा आदानप्रदान हुन्थ्यो । त्यसैले हामीमध्ये थोरैले पढ्यौँ, धेरैले सुन्यौँ । हाम्रो समाजमा ज्ञान बाँड्ने संस्कार बस्यो । उदाहरणका लागि, एउटा बिरामीले कुनै औषधि लिइरहेको छ भने उस्तै रोग लागेको अर्को बिरामी आउँदा उसले औषधि खाएपछि देखिएको सुधार, सकारात्मक–नकारात्मक सबै प्रभावबारे बुझाउन थाल्छ । अमेरिकी र युरोपेलीहरू यसरी अर्काको विषयमा हत्तपत्त बोल्दैनन् । 

राजनीति, अर्थनीतिजस्ता हरेक विषय हाम्रोमा ‘सेयर’ हुन्छ । यो हाम्रो ताकत हो । आजको दिनमा ‘सेयरिङ’ कलालाई प्रवद्र्धन गर्न जरुरी छ, तर समयअनुसार परिमार्जित रूपमा उपयोग गर्न हामीले सकेनौँ । हिजो एउटा ज्ञानको विज्ञ, अर्को लडाइँको विज्ञ, अर्को सेवाको विज्ञ, अर्को उत्पादनको विज्ञ भन्ने थियो । आज हरेक मानिसले विविध क्षेत्रमा विज्ञता हासिल गर्नुपर्ने परिस्थिति छ । त्यसकारण पढाइ र गराइबीच अन्तर कम गराएर लैजान आवश्यक छ । 


चीन, भारत, जापान, क्युबा, साउदी अरेबियालगायत देशका विज्ञले ‘ब्रेन रिगेन’बारे बहस गरिरहेका वेला हामी भने ‘ब्रेन ड्रेन’को उही थोत्रो बहसमै अल्झिइरहेका छौँ 
 

गुजारामुखी अवस्थाबाट हामी बजारमुखी भएका छौँ । तर, हाम्रो शैक्षिक प्रणाली यी परिवर्तनलाई आत्मसात् गरेर अघि बढेको छैन । हाम्रा प्राज्ञहरूले डाक्टर, इन्जिनियर उत्पादन गर्नसके मात्रै आफूलाई अब्बल ठान्ने अवस्था छ । सिकर्मी, डकर्मी, कुकलगायत व्यावसायिक जनशक्ति उत्पादन गरेकामा गर्व गर्न सक्ने हिम्मत उनीहरूसँग भएन ।

हाम्रो पाठ्यक्रमले सबैलाई समेट्न सकेन । कसैले भन्ला, मलाई दिनभर बसेर पढ्न मन छैन वा म रोजगारीमा व्यस्त छु । मलाई दिनको एक घन्टा पढ्ने स्कुल चाहियो । तर, यस्तो व्यवस्था हाम्रोमा छैन । पश्चिमा शिक्षामा त्यो रहेछ, त्यहाँ प्रशस्तै ‘पार्टटाइम कोर्स’ छन् । विद्यार्थी घरमै बसेर पढ्न खोज्छ । हामीले अनलाइन कोर्स दिन सकेका छैनौँ । अहिले खुला विश्वविद्यालयले अनलाइन कोर्स गरिरहेका छन् । त्यसमा पनि केहीले अनलाइन कोर्सको ‘भ्यालडिटी’ हुँदैन भनिरहेका छन् । यो कसको र कहिलेको बुद्धि हो । यसमा पनि हामी चुकिरहेका छौँ । 

अहिलेको युवाले खोजेको रोजगारी हो । त्यसका लागि प्रमाणपत्र मात्रै भएर हुँदैन, सीप पनि चाहिन्छ । कागज मात्रै बोकेर हुँदैन । शिक्षाले आशा जगाउन सक्नुपर्‍यो । सम्भावना देखाउनुपर्‍यो । विदेशमा विश्वविद्यालय र क्याम्पसले रोजगारीको सम्भावना देखाइदिन्छन्, अवसर दिन्छन् । हाम्रा क्याम्पसले रोजगारीको भाषा जानेनन् । सम्भावना र आशा दुवै जगाएनन् । हामीसँग मकैको खोस्टा जताततै छ । खोस्टाबाट ब्याग बन्छ भन्ने बुद्धि हामीले विद्यार्थीको मस्तिष्कमा हालेनौँ । मकैको ढोडभित्रको गुदीबाट गज्जबको माला बन्दो रहेछ । गाईवस्तुले खाएर बाँकी रहेको ढोडलाई मालामा उपयोग गर्न सके रोजगारी मिल्थ्यो । बजार पनि खोज्न सकिन्थ्यो । तर, हामीले यस्तो सीप सिकाउनै जानेनौँ । 

राजनीतिक गल्ती :  विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानमा राजनीतिक नियुक्ति दिइयो । त्यहाँ विज्ञलाई उपेक्षा गरेर नातेदार र कार्यकर्तालाई भर्ती गरियो । यो राजनीतिज्ञले गरेको अपराध हो । ठूलो संख्याका शिक्षक विभिन्न दलसँग आबद्ध भएकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन पार्टीबीच सहकार्य र समन्वय जरुरी छ । सबै पार्टीले पनि आफ्नो घोषणापत्रमा शैक्षिक नीतिबारे उल्लेख गरेका छन् । त्यसैलाई व्यवहारमा लागू गर्न सकिएको भए हुने थियो । आखिर शब्द फरक भए पनि सबै पार्टीको आशय योग्य विद्यार्थी उत्पादन गरौँ भन्ने नै हो । तर, व्यवहारमा लागू भएन । व्यवहार नियन्त्रित र संरक्षणवादी देखियो । अब्बल–कमजोर शिक्षक र शैक्षिक संस्थानलाई एउटै डालोमा राखेर हेरियो । स्वस्थ प्रतिस्पर्धा विकास गर्नै सकिएन । 

कुनै विद्यालयमा कांग्रेसले भन्दै आएको समाजवादी शिक्षा, कतै एमालेले भनेको जनमुखी शिक्षा तथा कतै माओवादीले भनेको जनवादी शिक्षा लागू गरौँ । ती विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा गरौँ र एक–अर्कासँग सिक्ने गरी आपसी समन्वय गरौँ । राम्रोलाई राम्रो भनौँ, प्रोत्साहन दिऔँ । नराम्रो भए सुधारको प्रयत्न गरौँ । वा, सबै पार्टीका नेता बसेर कस्तो शिक्षा नीति लागू गर्ने भनेर सल्लाह गरौँ, राम्रा विषयलाई समेटेर अघि बढाऔँ भन्नेतर्फ दलहरूले सोच्दै सोचेनन् । 

शिक्षकले राम्रो गरेर पुरस्कृत भइन्छ भन्ने होइन, दलको टीको पायो भने पुरस्कृत भइन्छ भन्ने बुझ्यो । नियमन गर्ने व्यवस्थापन समितिमा पनि दलकै मान्छे भयो । अभिभावक या निरीह भयो या त विकल्प पायो । निरीह बोल्नै नसक्ने भयो । विकल्प पाउनेले अर्को स्कुलमा, नभए निजीमा पढाउँछु भन्यो । प्रत्येक पालिकाले रोस्टर बनाएर गाउँपालिकामा कति शिक्षक छन् ? कुन विषयका को–को विज्ञ छन् ? अवकाश प्राप्त शिक्षक कति छन् भनेर जानकारी राख्ने र त्यहीअनुसार उनीहरूलाई उपयोग गर्ने योजना बनाउन सके पनि राम्रो हुने थियो । यसतर्फ पनि सोचिएन । 

प्राज्ञिक गल्ती : प्राज्ञिक व्यक्तिबाट पनि गल्ती भएका छन् । हामी पाठ्यक्रम काम लागेन, प्रणाली काम लागेन भन्छौंँ । आफू काम लागेन किन भन्दैनौँ ? विद्यार्थी बाहिर गयो भनेर कोकोहोलो गर्छौं । तर, उनीहरूले सिकेको ज्ञान र सीपलाई उपयोग गर्न हामी चुकेका छौँ । सीपयुक्त जनशक्ति विदेश जानु नराम्रो होइन । उनीहरूबाट देशमा लगानी, सीप र ज्ञान सबै फिर्ता हुन सक्छ । बाहिर गएर फर्किएका मानिसले कृषिमा गरेका काम हेर्नुस् । उनीहरूले व्यावसायिक रूपमा निकै उन्नति गरेका छन् । तर, हामी खराब उदाहरणलाई मात्रै पेस गरेर ‘ब्रेन ड्रेन’को कुरा गरिरहेका छौँ । यो सन् १९६०–७० को दशकको चिन्तन भयो । अहिले त ‘ब्रेन रिगेन’को समय आयो । 

अमेरिकामा गएको एउटा युवासँग हामीले त्यहाँको अर्थतन्त्र कसरी चल्दो रहेछ, यसबारे एउटा सेसन मेरो स्कुलमा लिंक गरिदेऊ भन्न सकेनौँ । अनलाइनमार्फत उनीहरूलाई लिंक गरेर सेसन चलाउँदा पनि एउटा ज्ञान आउँछ । राज्यले राम्रो नीति बनाउने हो भने उनीहरूलाई पैसा ल्याऊ, हामी विद्युत्मा लगानी गर्छौं, हिमाली बेल्टमा केबुल कार बनाउन लगानी गर्छौं, पहाडी बेल्टमा फुटसल बनाउँछौँ, मधेश सिँगार्छौं लगायत विभिन्न परियोजना पेस गर्न सकिन्छ । यी परियोजना सफल गराएबापत २० प्रतिशत ब्याज दिन्छौँ भन्यो भने उनीहरू पनि लगानी गर्न तयार होलान् । तर, त्यो गर्ने बुद्धि हाम्रो नेतृत्वसँग कहिल्यै भएन । 

बिदेसिएको श्रम, ज्ञान र सीप केही पनि हामीले उपयोगमा ल्याउन सकेनौँ । अहिले बा–आमा, छोराछोरी र देश सम्झेर बिदेसिएको जनशक्तिले भावनात्मक लगानी गरिरहेको मात्रै हो । देशमा राम्रो वातारण हुने हो भने उनीहरूले अझै धेरै गर्न सक्छन् । त्यो वातावरण हामीले बनाउन सकेनौँ ।

चीन, भारत, जापान, क्युवा, साउदी अरेबियालगायत देशका विज्ञले ‘ब्रेन रिगेन’बारे बहस गरिरहेका वेला हामी ‘ब्रेन ड्रेन’को थोत्रो बहसमै अल्झिरहेका छौँ । उनीहरूले सरकारी लगानीमै युवा र विद्यार्थीलाई विदेश पठाइरहेका छन् । त्यसपछि त्यहाँबाट उनीहरूले सिकेर ल्याएको श्रम, सीप र ज्ञानलाई उपयोग गरिरहेका छन् । हाम्रोमा न त देशमा रोजगारी दिन सकेका छौँ, न बिदेसिएकाहरूको लगानी र श्रमलाई नै उपयोगमा ल्याउन सकेका छौँ । उपयुक्त कोर्स पनि नदिने, ब्रेन रिगेनको डिजाइन पनि नगर्ने, युवालाई आशावादी पनि नबनाउने । हामी यस्तो चंगुलमा फसिरहेका छौँ । 

तालिम केन्द्रले मात्र पुग्दैन  : जिरीस्थित टेक्निकल स्कुलको बिजोग छ । अछामको एक नगरपालिकाको नमुना प्राविधिक विद्यालयमा विद्यार्थी छैनन् । विद्यार्थी नहुनुको कारण त्यहाँ पढाइ हुने विषय विद्यार्थीले युट्युबबाटै सिक्नु हो । युट्युबबाटै छोटो समयमा सिक्न सकिने कोर्सका लागि उनीहरू किन विद्यालय धाऊन् त ? प्रविधिले उच्च छलाङ मारिसकेको अहिलेको समयमा तालिम केन्द्र खोलेर मात्रै पुग्दैन । हामीले व्यावसायिक शिक्षा चाहिन्छ भन्यौँ, तर विद्यार्थीले तेरो क्लासमा जान्नँ, मोबाइलबाटै सिक्छु भनिदियो । 

हाम्रोमा शिक्षक र विद्यार्थीबीच ठूलो खाडल 
रह्यो । भर्खरै रुकुम पश्चिमको एक नगरपालिकामा मैले शिक्षकलाई सोधेँ– बत्तीमुनि उज्यालो हुन्छ कि अँध्यारो ? उनीहरूमध्ये अधिकांशले अँध्यारो भने । यही प्रश्न विद्यार्थीलाई सोध्दा उज्यालो भने । पुराना शिक्षकको जमानमा टुकी हुन्थ्यो, त्यसमुनि अँध्यारो हुन्थ्यो । अहिले बिजुली बत्ती छ, जसको तल उज्यालो हुन्छ । यस्तै ग्याप हाम्रा शिक्षक र विद्यार्थीबीच छ । त्यो ग्याप पूरा गर्न सक्ने अवस्था हाम्रा शिक्षकमा रहेन । उनीहरूले चाहेर मात्रै पनि भएन । नेतृत्वले पनि पर्याप्त ध्यान नै दिएन । शिक्षक छैन भनौँ भने पालिका–पालिकाले शिक्षक नियुक्त गरिरहेका छन् । 

शिक्षकले सूचनाको विश्लेषण गर्न सके मात्रै पनि विद्यार्थीमा ज्ञानको रुचि बढ्छ । तिम्रो जीवन कहाँनेर पाठ्यपुस्तकसित जोडिएको छ, भोलि जिउने जीवन कहाँ छ भनेर शिक्षकले बुझाउन सक्नुपर्छ । तर, हाम्रो प्रणालीले त्यो गर्न सकेन । हामी उधारो कुरा गर्ने भएछौँ । विद्यार्थी तत्काल नगद खोज्ने भइसके । आजै पढ, आजै कमाऊ भन्न हामीले सकेनौँ । विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई नियन्त्रण मात्रै गर्न खोज्यो । हाजिरमा धर्का लगाउने, नियमन गर्ने काममा जोड दियो । तर, उनीहरूलाई कसरी मोटिभेट गर्न सकिन्छ भन्नेबारे सोचेन । शिक्षकलाई अद्यावधिक गर्नुपर्नेतर्फ कसैको ध्यान गएन । 

अहिले विद्यार्थी प्रविधिमैत्री, शिक्षक पाठ्यक्रममुखी छन् । हाम्रो शिक्षा डिजिटलाइज हुन ढिला भयो । सरकारले कुनै पोर्टल बनाएर राम्रा शिक्षकले गरेका उदाहरणीय कामलाई देखाइदिने हो भने अन्य शिक्षकले आफैँ त्यसबाट सिक्नेछन् । स्मार्टफोनको अहिलेको जमानामा उनीहरूको मोबाइलमा राम्रा अभ्यासको भिडियो मात्रै पठाइदिने हो भने पनि उनीहरूले सोच्न थाल्नेछन् । किनकि, शिक्षक बुद्धिजीवी हो । ऊसँग सोच्ने चेत हुन्छ, लगाम लगाउनुपर्ने घोडा होइन ।

तपाईंले कति वर्ष पढाउनुभयो ? विद्यार्थीमा परिवर्तन देखिएको छ वा उस्तै छन् भनेर प्रश्न मात्रै गरियो भने पनि उनीहरूले सोच्न थाल्नेछन् । हाम्रो चिन्तन र प्रयास त्यसतर्फ भएन । फलस्वरूपः शिक्षकहरू विद्यार्थीभन्दा कमजोर देखिए । अर्कोतर्फ उनीहरूलाई सेवा–सुविधाको कमी भयो । अवकाशपछि पनि उनीहरूको विज्ञतालाई उपयोगमा ल्याउन सकिन्थ्यो, तर सकेनौँ । यिनै कमी–कमजोरीले गर्दा हाम्रो शिक्षा पछि परिरहेको छ । तर, यो यथार्थलाई स्विकारेर यसलाई माथि उठाउनेबारे हाम्रो नेतृत्वले कहिल्यै सोचेन । यो नै अहिलेसम्मको गम्भीर चिन्ताको विषय हो । 

ad
ad