१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल र कतारी राजाबीच ४० मिनेट औपचारिक वार्ता

विपिन जोशीको रिहाइको पहल गर्न राष्ट्रपतिको आग्रह, सहयोग गर्ने कतारी राजाको आश्वासन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३३:oo

राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीसँग आग्रह गरेका छन्।

नेपालको राजकीय भ्रमणमा मंगलबार आएका राजा थानीसँग शीतलनिवासमा भएको द्विपक्षीय वार्तामा राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन्। कतारी राजा थानीले जोशीको रिहाइका लागि कतारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

‘राष्ट्रपतिज्यूले विश्व शान्तिका लागि कतारले गरेको प्रयासको सराहना गर्दै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभयो। जवाफमा राजाले हमासको नियन्त्रणमा रहेकाहरूको रिहाइसहित शान्तिका लागि प्रयास गरिरहेको भन्नुभयो। जोशीको रिहाइका लागि प्रयास गर्ने उहाँको आश्वासन थियो,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार एवं सचिवालय प्रमुख डा. सुरेशचन्द्र चालिसेले नयाँ पत्रिकासँग भने। शीतलनिवासमा राष्ट्रपति पौडेल र राजा थानीबीच ४० मिनेट कुराकानी भएको थियो।

राजा थानी आज अपराह्न  विशेष विमानमा भ्रमण दलका सदस्यसहित काठमाडौं आइपुगेका हुन्। राष्ट्रपतिसँगको भेटवार्तामा कतारी राजाका तर्फबाट ११ जनाको प्रतिनिधिमण्डल सहभागी थियो। राष्ट्रपतिका तर्फबाट उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापा, परराष्ट्र सल्लाहकार डा. चालिसेलगायत सहभागी थिए।

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातसम्बन्धी मन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी, अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्युआइए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक  तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा)का निजी सहायक मन्सुर फलेह अल–हजरी आएका छन्।

भेटवार्तामा दुई देशबीच सम्बन्ध थप मजबुत गर्ने विषयमा छलफल भएको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले जानकारी दिए।

ad
ad