मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख ११ मंगलबार
  • Friday, 14 August, 2026
२o८१ बैशाख ११ मंगलबार १४:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयरसँग नागरिक– ‘पिच बाटो र प्लेन चाहिएन, एम्बुलेन्स चल्ने बाटो बनाइदिनुस्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ११ मंगलबार १४:५२:oo

गुल्मीको रेसुंगा नगरपालिकाले लामो समयदेखि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ।नगरपालिकाले अहिले ‘मेयरसँग नागरिक’ संवाद सुरु गरेर जनताका समस्या सुन्न र समाधानको उपाय खोज्न थालेको हो।  

‘मेयरसँग नागरिक’ कार्यक्रममा मेयरसँग रेसुंगा नगरपालिका– ६ हर्राचौरका वीरबहादुर नेपालीले गाउँमा एम्बुलेन्स हिँड्ने सडकको माग गरेका छन्। ‘बर्खा लागे गाउँमा गाडी पुग्दैन, बिरामी बोक्ने केटा छैन,’ उनले गुनासो गरे, ‘विदेशमा जस्तो पिच र प्लेन चाहिँदैन, एम्बुलेन्स हिँड्ने सडक बनाइदिनुस्।’ 

साउनेथुम निमाविकी प्रध्यानाध्यापक हुमा पोख्रेलले विद्यालयलाई प्रविधिमैत्री बनाउन र  टेलिफोन टावरको माग गरिन्। 

यस्तै, छमकली मरासिनीले आफूलाई कुनै सूचना नदिई राता–रात बाटो खनेर खर्‍यान र दुई सल्लाका रुख ध्वस्त भए पनि आफू एकल महिला भएकाले रुँदै हिँड्दा पनि कसैले नहेरेको गुनासो गरिन्। 

सोही गाउँका नेत्रप्रसाद मरासिनीले सडकको कारण घर र बारीमा पसेको ढलको व्यवस्थापनको माग गरे भने शिक्षक सुदीप मरासिनीले ११ वर्षदेखि आफ्नो बुबा गोपाल मरासिनीलाई श्रम शोषण गरेको गुनासो गरे। 

‘मेयरसँग नागरिक’ कार्यक्रममा नागरिकले डेढ दर्जन प्रश्न उठाए।  मेयर खिलध्वज पन्थीले सबै प्रश्नको जवाफ दिएका दिए। उनले सडक गुणस्तरीय बनाउने, सेवा प्रवाह नागरिकमैत्री बनाउने र जनताको समृद्धिको पक्षमा विभिन्न कामहरू भएकाले आवश्यकताको आधारमा अझै धेरै काम गर्दै जाने बताए। 

‘मेयरसँग नागरिक’ कार्यक्रममा नागरिकका गुनासो सुन्ने र सँगै सामाजिक सुरक्षा भत्ता वितरण, पशुसेवा, स्वास्थ्य सेवा र कृषि शाखामार्फत विभिन्न सेवाहरू टोलमै वितरण हुँदै आएको छ। पन्थीले ‘मेयरसँग नागरिक’ कार्यक्रमले समस्या पहिचानसँगै नागरिकसँग सरकार सधैँ नजिक रहेको महसुुस गराउन सकिएको बताए।