१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

इलाममा शीर्ष नेताको ओइरो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo

१५ वैशाखमा तय उपनिर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताले इलाम २ मा सक्रियता बढाएका छन् । आमनिर्वाचनको डेढ वर्षपछि हुन लागेको उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका दलहरूले इलाममा शक्ति केन्द्रित गरेका हुन् । 

कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका शीर्ष नेताले इलाममा दौडधुप बढाएका छन् । इलाम आएका शीर्ष नेताले आफ्ना उम्मेदवार जिताए इलामको विकासले फड्को मार्ने दाबीसमेत गरिरहेका छन् । शीर्ष नेताहरू आमसभामा मात्र होइन, उम्मेदवारसँगै घरदैलो अभियानमा पुगेका छन् । 

इलाम २ मा आफ्ना उम्मेदवार डम्बर खड्कालाई जिताउन कांग्रेसले चुनावी कमान्डरका रूपमा महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ । अर्का महामन्त्री गगन थापाले पनि इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । त्यस्तै, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलगायत नेता इलाम आइसकेका छन् । इलाममा केन्द्रीय सदस्य प्रदीप पौडेल, सीता गुरुङले उम्मेदवार खड्काका लागि मतदातासँग मत मागिरहेका छन् । यसअघि कांग्रेस उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला, मोहनबहादुर बस्नेतलगायतले इलामका विभिन्न ठाउँमा मतदातासँग मत मागिसकेका छन् । 

‘समग्र हेर्ने गरी म आफैँ छु । हरेक पालिका हेर्न केन्द्रीय सदस्य हुनुहुन्छ । कुनै–कुनै पालिकामा दुईजना केन्द्रीय सदस्य हुनुहुन्छ । ६ पालिकामा नौजना केन्द्रीय समितिका सदस्य साथीहरू हुनुहुन्छ । वडा तहमा पनि नेता साथीहरू आवश्यकताअनुसार हुनुहुन्छ,’ कांग्रेसले इलाम खटाएका चुनावी कमान्डर महामन्त्री शर्माले भने, ‘यसपटक हामीले अरूलाई गाली नगरी चुनाव लड्ने रणनीति लिएका छौँ । आलोचना र व्यंग्य गर्न पाइन्छ । तर, विपक्षीको पनि सम्मान गर्नुपर्छ । सकारात्मक नतिजाका लागि सकारात्मक अभियान चलाउने हाम्रो नीति छ ।’

०७९ मंसिरमा भएको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग खड्का झिनो मतले मात्रै पराजित भएका थिए । त्यसैले, कांगे्रस यसपटक विजयको नतिजा निकाल्ने गरी लागेको छ । यद्यपि, विगतमा कांग्रेससहितको गठबन्धनमा भएको माओवादी यसपटक एमालेसँग छ भने एकीकृत समाजवादी आफ्नै उम्मेदवार बनाएर चुनावी मैदानमा छ । 

एमालेको चुनावी कमान्डर शिवमाया, अध्यक्ष ओली दोस्रोपटक आउँदै 
एमाले पनि इलाम–२ मा आफ्नो विरासत जोगाउन मतदाताको घरघरमा पुगिरहेको छ । ०४८ पछिको एक निर्वाचनबाहेक सातवटा निर्वाचनमा यस क्षेत्रबाट एमाले विजयी हुँदै आएको छ । जसमध्ये पनि पाँचवटा निर्वाचनमा त सुवासचन्द्र नेम्वाङ लगातार निर्वाचित भए । नेम्वाङको विरासतलाई थाम्न एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 

सुहाङको पक्षमा मतदाता प्रभावित गर्न एमालेका शीर्ष नेताहरू पनि इलाममा मत माग्न व्यस्त छन् । उम्मेदवारसँगै एमाले नेतृ शिवमाया तुम्बाहाम्फेले इलामका विभिन्न ठाउँमा मत मागिन् । यसअघि इलामको मंगलबारेमा भएको चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापालगायतका शीर्ष नेता पुगेका थिए । एमाले अध्यक्ष ओली बुधबार चुलाचुलीमा हुने चुनावीसभालाई सम्बोधन गर्न इलाम आउने कार्यतालिका रहेको एमालेले जनाएको छ । 

इलाममा माओवादी केन्द्रको उम्मेदवार छैन । उसले एमालेका उम्मेदवार सुहाङलाई सहयोग गरेको छ । माओवादीले पनि इलाम पार्टीका उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य साबित्रीकुमार काफ्ले, रञ्जित तामाङलगायतलाई सुहाङको पक्षमा भोट माग्न पठाइसकेको छ । 

‘हामी उम्मेदवारलाई जनताका बीचमा पुर्‍याइरहेका छौँ । इलाम नगरपालिका सकेर माई नगरपालिका जाँदै छौँ । हामीले हाम्रा उम्मेदवारलाई सबै ठाउँमा जनताको बीचमा पुर्‍याएका छौँ । अरू साथीहरू आफ्नो ठाउँमा टोलटोल र घर–घरमा जाने काम गरिरहनुभएको छ । बुधबार चुलाचुलीमा आमसभा राखेका छौँ,’ एमालेबाट इलाम निर्वाचनमा खटाइएकी नेतृ शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘हामीले युवा उम्मेदवार उठाएर राम्रो गरेका छौँ । सुहाङलाई अगाडि बढाउँदा युवा उत्साहित छन् । तल जाँदा लिगेसीले काम गरेको छ । हिजो सुवास नेम्वाङलाई मन पराउने, नजिक हुने र उहाँलाई सम्झनेले सुहाङलाई राम्रो प्रतिक्रिया दिनुभएको छ ।’

रास्वपाको सिंगो शक्ति इलाममा, सभापति एवं गृहमन्त्री लामिछाने घरदैलोमा
राष्ट्रिय स्वतन्त्र पार्टीको सिंगो शक्ति इलाममा छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने चार दिनयता इलामको गाउँ–गाउँमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन अपिल गर्दै मत माग्दै हिँडिरहेका छन् । यसअघि तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमध्ये दुईमा जित निकालेर उत्साहित भएको रास्वपा यसपटक इलाममा जित निकाल्ने दाउमा छ । रास्वपा इलामको उपनिर्वाचनमा जित निकाल्दै पूर्वमा उदयको उद्घोष गर्न चाहन्छ । तसर्थ, उसले सिंगो शक्ति इलाममा केन्द्रित गरेको छ । 

सभापति लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, सांसद तोसिमा कार्की, सन्तोष परियार, निशा डाँगी, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत नेताहरू इलाममा छन् । यस्तै, यसअघि शिक्षामन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल, मनीष झा, विन्दबासिनी कंसाकारगायतका नेता पनि इलाम आएका थिए ।

‘हाम्रो चुनावी अभियान राम्रो भइरहेको छ । यसपटक जनताले मत बदल्ने प्रतिक्रिया दिइरहनुभएको छ,’ रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘पार्टी सभापति उम्मेदवार मिलन लिम्बूसँगै हिँडेर मत मागिरहनुभएको छ । अरू नेताहरूले फरक–फरक ठाउँमा रास्वपा उम्मेदवारका लागि मत मागिरहनुभएको छ ।’

स्वतन्त्र उम्मेदवार डकेन्द्रका मुख्य प्रचारक धरानका मेयर साम्पाङ
पहिचानवादीको पक्षबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बूका लागि मत माग्न धरानका मेयर हर्कराज राई (साम्पाङ) पटक–पटक इलाम आए । यस्तै, उनलाई समर्थन गर्ने पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा जातीय संस्थाका नेताहरू निरन्तर इलाममा खटिएका छन् । पहिचानवादी पक्ष डकेन्द्रसिंह लिम्बूलाई जिताएर कोशीमा पहिचानको मुद्दालाई स्थापित गर्ने दाउमा छ ।

धरानका मेयर हर्क साम्पाङ मंगलबार फेरि इलाम पुग्दै छन् । उनले माङसेबुङ–६ स्थित चिसापानीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ  । ‘मंगलबार चुलाचुलीमा सम्बोधन गरेर सम्भवतः उहाँ चुनावभरि बस्नुहुन्छ,’ पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले भने, ‘म स्वतन्त्र साझा उम्मेदवार हुँ । प्रदेशको नाम कोशी राखेपछि बनेको ४१ घटकले सहयोग गरेको छ । अहिले सबै जातजातिले सहयोग गरेका छन् । डकेन्द्र सर उठ्नुभयो भने पार्टी एकातिर छ, तर हामी सहयोग गर्छौँ भनेका छन् ।’

एकीकृत समाजवादी, राप्रपा र जनमतका शीर्ष नेताले पनि भोट मागिसके

एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आफ्ना पार्टीका उम्मेदवार जितबहादुर राईलाई मत माग्न इलाम २ का विभिन्न गाउँ पुगेका थिए । त्यस्तै, आफ्ना उम्मेदवार लक्ष्मी गुरुङलाई जिताउन यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेता इलाम आएका थिए । जनमतका अध्यक्ष सिके राउत पनि आफ्ना उम्मेदवार प्रेमदीप थाम्सुहाङलाई मत माग्न इलाम आएका थिए ।

ad
ad