१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माथिल्लो अरुण र दुधकोशी जलविद्युत्को सुरुङ टिबिएमबाट खनिने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१o:oo

एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६ सय ३५ मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने भएको छ । टिबिएममार्फत भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दुधकोशीमा पनि प्रयोगमा ल्याउन लागिएको छ ।

अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिँचाइका दुईवटा आयोजनाको सुरुङ टिबिएममार्फत खन्दा समय थोरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजना प्रयोगमा ल्याउन लागिएको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिकका प्रबन्ध–सञ्चालक फणीन्द्रराज जोशी, दुधकाशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी–मरिन आयोजनाको स्थलगत अवलोकन गरी टिबिएममार्फत खनिएको सुरुङको विषयमा जानकारी लिएको छ । घिसिङले माथिल्लो अरुण र दुधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र अब निर्माणका लागि टेन्डर आह्वान गर्न लागिएको बताए । भेरी–बबई र सुनकोशी–मरिनमा टिबिएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेन्डर कागजात तयार गरिने उनको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्– सिँचाइका दुईवटा आयोजनाको सुरुङ टिबिएममार्फत खन्दा समय थोरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजना प्रयोगमा ल्याउन लागिएको हो । 

‘सुनकोशी–मरिन डाइभर्सन र दुधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टिबिएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौँ, माथिल्लो अरुणमा टिबिएम पुर्‍याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पु¥याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टिबिएम नै प्रयोगमा ल्याइनेछ,’ उनले भने, ‘एकपल्टको लगानीका हिसाबले केही महँगो देखिए तापनि टिबिएममार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नुनपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्दा, निर्माणमा लाग्ने कम समयलगायतलाई हिसाब गर्दा टिबिएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ ।’

टिबिएमको प्रयोगमार्फत सुरुङ निर्माण छिट्टो सकिने, तर अन्य संरचनाहरू नसकिने अवस्था आउन नदिन सुरुमै आयोजनाको समग्र व्यवस्थापन गरिनुपर्ने उनले बताए । टोलीले टिबिएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा व्यहोर्नुपरेका समस्या तथा चुनौती, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायत विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग जानकारी लिएको हो ।

मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नुपर्ने दुईवटा प्रवेश (एडिट) सुरुङको लम्बाइ पाँच किलोमिटर गरी दुधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । टिबिएमबाट खन्दा एडिट सुरुङ बनाउनुपर्दैन । एडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब सात किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन । 

माथिल्लो अरुण विश्व बैंक र दुधकोशी एसियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ । सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धिसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ । 

दुधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलियतपूर्ण ऋण लगानी हुनेछ । यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । 
 

ad
ad