१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
यानिस भारुफाकिस
२o८१ बैशाख २१ शुक्रबार १o:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन प्रतिबन्ध लगाइयो मलाई जर्मनीमा ?

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o५:oo

यी पंक्ति लेख्दै गर्दा मलाई जर्मन माटोमा पाइला राख्न मात्र नभई जर्मनीको कुनै पनि कार्यक्रममा भिडियो लिंकमार्फत जोडिन पनि प्रतिबन्ध लगाइएको छ । किन ?

एकताको सान्त्वना : ८ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेको एक दिनपछि म बर्लिनमा थिएँ र टिभी अन्तर्वार्तामा अघिल्लो दिनका घटनाबारे थाहा पाएको थिएँ । मलाई प्रश्न गरियो, ‘के तपाईं हमासको निन्दा गर्नुहुन्छ ?’ प्रश्नको जवाफमा मैले यसो भनेको थिएँ–‘जोकोही अपराधी होस् वा पीडित होस्, म हरेक अत्याचारको निन्दा गर्छु । तर, म अपर्थाइड प्रणाली (नश्लीय एवं जातीय विभेद लागू गर्ने व्यवस्था) जसले जातीय सफायाको कार्यक्रम चलाइरहेको छ त्यसका विरुद्ध भइरहेको सशस्त्र प्रतिरोधको निन्दा गर्दिनँ ।

एक युरोपेलीका नाताले हामीले इजरायली वा प्यालेस्टिनीको निन्दा गर्नबाट जोगिनुपर्छ किनभने हामी युरोपेलीले नै कहिले अन्त्य नहुने त्रासदी निम्त्याएका हौँ । हामीले शताब्दीयौँसम्म घृणित यहुदी द्वेषको अभ्यास गरेका थियौँ जसले एक घिनलाग्दो यहुदी नरसंहार (हलोकस्ट) निम्त्यायो त्यसपछि हामी दशकौँदेखिको प्यालेस्टिनी जनताको नरसंहारमा भागीदार बन्यौँ, मानौँ कि दुई गलतले एकलाई सही ठहर्‍याओस् ।’  

यो अभिव्यक्ति दिएको केही दिनपछि भियनाको एकेडेमी अफ फाइन आर्ट्सले आयोजना गरेको प्रतिष्ठित ओटो वाग्नर प्रवचनमा मलाई दिइएको आमन्त्रण खारेज गरियो । त्यसपछि १६ फेब्रुअरीमा बर्लिनको बेबिलोन थिएटरमा ‘इन द आई अफ द स्टर्म : द पोलिटिकल ओडिसी अफ यानिस भारुफाकिस’को प्रिमियर थियो । र, यो ६ भागको वृत्तचित्रको निर्माण बेलायती फिल्म निर्माता एवं दार्शनिक राउल मार्टिनेजले गरेका थिए । प्रिमियर रद्द गर्न पुलिसले बेबिलोनका मालिकलाई दबाब दिएका थिए । रद्द गर्नुको कारण खोज्दा अधिकारीले ‘भारुफाकिस’ भन्ने मात्रै जवाफ दिएका थिए । प्रहरीको अवज्ञा गर्दै बेबिलोनका मालिकले आफूले प्रिमियर रद्द नगर्ने जनाए । उनको अडान र यहुदी, प्यालेस्टिनी एवं जर्मन समर्थकले एक ठाउँमा आएर प्रिमियरमा प्रहरी हस्तक्षेप रोकेको देख्दा म निकै गदगद भएको थिएँ ।

  ‘स्तात्सरासोन’को युग : एक महिनाअघि मैले मेरो जर्मन प्रकाशक भेर्लाग आन्त्जे कुन्स्तम्यानबाट इमेल पाएको थिएँ । जसमा मलाई १३ र १४ अप्रिलको सप्ताहन्तमा हुने प्यालेस्टाइन कंग्रेसमा मेरो सहभागिता भए जर्मनीमा प्रकाशित हुने मेरो अर्को पुस्तक ‘ओझेल’मा पर्ने चेतावनी दिइएको थियो । यो कार्यक्रम जर्मनीमा रहेको मेरो राजनीतिक पार्टी मेरा २५ र जर्मनिज ज्युज भोइस फर पिसले सहआयोजन गरेको थियो । यसपछि एक दशकभन्दा धेरै समययतादेखि जर्मनीमा मेरा ६ पुस्तक प्रकाशन गर्ने प्रकाशकसँगको मेरो सम्बन्धको दुःखद अन्त्य भयो ।

जर्मन नीति यहुदीको रक्षा गर्न नभई इजरायललाई मनलाग्दी युद्ध अपराध गर्ने अधिकार रक्षा गर्नु हो 

गाजामा मारिनेको संख्या बढ्दै जाँदा र अन्तर्राष्ट्रिय न्यायालयको सुनुवाइले जर्मनीको ‘स्तात्सरासोन’ (इजरायलको सुरक्षा जर्मनीको उद्देश्य हो) भन्ने आधिकारिक नीतिलाई चुनौती दियो । नतिजा जर्मन अधिकारी आक्रोशित हुन थाले । मेरा सहकर्मी इरिस हेफेत्समाथिको व्यवहारले यो आक्रोशलाई पुष्टि गथ्र्याे । इजरायली मनोविश्लेषक इरिसलाई सडकमा एक्लै ‘एक इजरायली एवं यहुदीका नाताले गाजामा भइरहेको नरसंहार रोक’ भन्ने नारा भएको प्लेकार्ड बोकेका कारण यहुदी द्वेषका आरोपमा पक्राउ परेका थिए ।

प्रहरी घेराभित्र : १२ अप्रिलका दिन ग्लासगो विश्वविद्यालयका बेलायती–प्यालेस्टिनी रेक्टर घसान अबु–सित्ताहलाई प्यालेस्टाइन कांग्रेसमा हामीसँग सामेल हुन जर्मनीमा प्रवेश गर्नबाट रोकियो । विमानस्थलमा केही घन्टाको केरकारपछि उनलाई बेलायत पठाइएको थियो । यसैबीच कार्यक्रमबाहिर दुई हजार पाँच सय प्रहरी परिचालन गरी सहभागीमाथि दुव्र्यवहार गरिएको थियो । कार्यक्रममा ‘नरसंहारविरुद्ध यहुदी’ लेखिएको प्लेकार्ड बोकेका एक युवा यहुदी कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । जसै उनलाई प्रहरीले लछारपछार गर्दै लागिरहेका थिए उनले ठट्यौली पारामा ‘के त्यसो भए प्लेकार्डमा ‘यहुदी नरसंहारलाई समर्थन गर्छन्’ भनेर लेखेको भए सही हुन्थ्यो’ भन्दै प्रश्न गरेका थिए । 

प्रहरी घेरा तोड्न सफल सहभागीको सानो हिस्साबाट मात्र हाम्रो कार्यक्रम सुरु भएको थियो । मैले भिडियो लिंकमार्फत सहभागीलाई सम्बोधन गर्नुभन्दा केही समयअघि प्रहरीले सभागृहमा आक्रमण गर्दै माइक्रोफोन खोस्दै कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने उपकरणको तार चुँडालेको थियो । मैले प्रस्तुत गर्न नसकेको भाषणलाई रेकर्ड गर्दै मेरो व्यक्तिगत ब्लगमा पोस्ट गरेको थिएँ । मैले यसो गर्दा जर्मन अधिकारी खुसी थिएनन् । 

१३ अप्रिल शनिबारका दिन मविरुद्ध ‘बेटाटीगुंग्सभर्बोट’ जारी गरियो अर्थात् मेरो राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइयो । यसअघि यस्ता प्रतिबन्ध इस्लामिक स्टेट्सका शाखाविरुद्ध मात्रै लाग्थे । हाम्रा वकिलले जर्मन अधिकारीलाई म एक युरोपियन युनियनको नागरिक हुनुको अलावा सन् २०१९ मा म जर्मनीमा युरोपेली संसद्का लागि उम्मेदवार थिएँ जहाँ मैले सम्मानजनक एक लाख ३५ हजार मत प्राप्त गरेको स्मरण गराएका थिएँ । लामो लाजमर्दो मौनतापछि ‘बेटाटीगुंग्सभर्बोट’लाई ‘आइनरिसभर्बोट’ अर्थात् ‘नरम’ प्रवेश प्रतिबन्धले प्रतिस्थापित गरियो । आजसम्म जर्मन अधिकारीले प्रतिबन्धका पछाडिको लिखित कारण मैले पटक–पटक अनुरोध गर्दा पनि उपलब्ध गराएका छैनन् ।

अत्याचारी ‘ड्युसल्यान्ड’ :  जर्मनीको ‘स्तात्सरासोन’को नीति यहुदीको सुरक्षाका लागि हुँदै होइन भन्ने स्पष्ट भएको छ । यो त इजरायललाई मनलाग्दी युद्ध अपराध गर्ने अधिकारको रक्षा गर्ने बारेमा हो । बढ्दो प्रहसनात्मक अधिनायकवादलाई अँगाल्नु एक गिर्दो आर्थिक शक्तिको दुःखद प्रतिबिम्ब हो ।
(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं अर्थशास्त्री हुन्) न्यु स्टेट्समेनबाट

ad
ad