१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
यानिस भारुफाकिस
२०८० जेठ २५ बिहीबार ०९:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एआईले मार्दै गरेको मजदुर युनियन

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
२०८० जेठ २५ बिहीबार ०९:११:००

गत साता हामीले एक दुर्लभ सुखद समाचार सुन्न पायौँ । सबै किसिमका एन्टिमाइक्रोबियल औषधिप्रति प्रतिरोधी क्षमता विकास गरेको एक असाधारण जीवाणुलाई परास्त गर्ने गरी शोधकर्ताले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतबाट एन्टिबायोटिकको विकास गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले मानवताका तीन ‘गम्भीर खतरा’का रूपमा दर्ज गराएका जीवाणुमध्येको एक ‘एसेनेटोबेक्टर बौमानी’मा रहेका मुख्य प्रोटिनमा एआई आधारित अल्गोरिदमले हजारौँ रासायनिक यौगिक पत्ता लगाएको छ । स्मरण रहोस्, यो जीवाणुले निमोनिया र घाउलाई गम्भीर रूपमा संक्रमण गराउने काम गर्छ । एआईले विद्यमान एन्टिबायोटिकभन्दा कैयौँ गुणा प्रभावकारी औषधिको आविष्कार गरेको छ । यो वास्तवमा कालान्तरसम्म सम्झिइने वैज्ञानिक उपलब्धि हो ।  

तर, यही एआई प्रविधिको निकै अप्रिय पाटो पनि छ । महामारीका वेला न्युयोर्कस्थित एमेजोनको गोदाममा कार्यस्थलको दुरवस्थाको विरोध गर्दै मजदुर आन्दोलन गरेका क्रिस स्मल्सलाई सम्झिनुभयो ? स्मल्स त्यतिवेला छोटो समयका लागि भए पनि चर्चित भएका थिए किनभने उनलाई कामबाट निकाला गरेपछि एमेजोनका धनी र शक्तिशाली बोर्ड निर्देशकले स्मल्सले उठाएको मुद्दालाई विषयान्तर गर्न स्मल्सको चरित्र हत्याको योजना बुन्न टेलिकन्फरेन्स गरेका थिए । टेलिकन्फरेन्स भएको दुई वर्षपछि स्मल्सले अमेरिकामा एमेजोनको पहिलो औपचारिक रूपमा स्वीकृत मजदुर युनियन गठन गरेका थिए । अहिले स्मल्सको जस्तो सफलता जीवाणु मार्ने एन्टिबायोटिक बनाउने एआई प्रविधिको जोखिममा छ । 

हालको विकराल अवस्थामा एआईले मजदुरलाई थोरै भए पनि सामथ्र्य प्रदान गर्ने मजदुर युनियनलाई समाप्तै पार्ने गरी एमेजोनजस्ता निगमलाई प्रोत्साहन गर्दै छ

स्मल्सको युनियन एमेजोनका प्रबन्धकका लागि ठूलो झट्का थियो, जसलाई युनियन निर्माण गर्नबाट मजदुरलाई रोक्न साम, दाम, दण्ड, भेदका उपायको वर्षौंदेखि तालिम दिइएको थियो । सन् २०१८ मा प्रबन्धकलाई यस्तै किसिमका तालिम दिइँदै गरेको भिडियोको खुलासा भएको थियो । यी प्रबन्धकलाई ड्युटी सकेर कार्यस्थल परिसरमा सम्भावित रूपमा मजदुर युनियनमा सहभागी हुन आफ्ना सहकर्मीलाई मनाउन खोज्ने मजदुरमाथि सिसिटिभी क्यामेराबाट कसरी निगरानी गर्ने भन्ने सिकाइँदै थियो । यिनलाई मजदुरबीचको कुराकानीलाई सुटुक्क सुनेर कुराकानीमा उच्चारण भएका ‘न्यूनतम ज्याला’, ‘म त गलिसकेँ’ जस्ता वाक्यांशमा ध्यान दिन सिकाइँदै थियो । 

लगत्तै यी प्रबन्धकका पुराना निगरानीका उपायलाई सफ्टवेयरले प्रतिस्थापित गर्‍यो । सन् २०२० मा रिकोडको एक रिपोर्टले युनियन बनाउन मजदुरलाई निगरानी गर्ने उद्देश्यले एमेजोनले एसपिओसी नामक सफ्टवेयर खरिद गरेको थियो । त्यसैगरी, भाइस म्यागेजिनले एमेजोनको मानव संशाधन विभागले सम्भावित आन्दोलन वा संयुक्त कार्यक्रमबारे आकलन गर्न मजदुरको इमेल संवाद समूह लिस्टसम्र्स र फेसबुक ग्रुपमा निगरानी गरेको खुलासा गरेको थियो । खरिद गरिएको सफ्टवेयरले अपेक्षित नतिजा दिन नसकेपछि एमेजोन पुरानै ढंगबाट हुने निगरानीमा फर्कियो । 

अब निगरानीको यो सब तिकडममा एआईले प्रवेश पाएको छ । अर्थात् हरेक मजदुरले बोल्ने युनियनमैत्री भाषा वा व्यवहारलाई वास्तविक समय (रियल टाइम) मा शून्य मूल्यमा पत्ता लगाउन सक्ने केन्द्रीकृत एआई हुँदाहुँदै निगरानी प्रयोजनका लागि कर्मचारीलाई किन तालिम दिने वा फेसबुक पोस्ट अथवा पेज पढ्ने सफ्टवेयर किन खरिद गर्ने ?

विडम्बना, जीवाणु मार्ने एन्टिबायोटिक बनाउने र मजदुर युनियन तहसनहस पार्ने एआई प्रविधि एउटै हो । एआईको जीवाणु मार्ने प्रोग्राम न्युरल नेटवर्क र मेसिन लर्निङ मोडलमा निर्भर छ । यो प्रोग्राममा मानव शोधकर्ताले दशकौँदेखि खोजिरहेको रासायनिक खोज गर्ने क्षमता छ । मजदुर युनियन तहसनहस गर्ने प्रोग्रामको विधि पनि जीवाणु मार्ने प्रोग्रामको जस्तै हो । 

मजदुरले अनिवार्य रूपमा बोक्ने विद्युतीय उपकरणले प्रोग्राममा कार्यस्थलका सबै ठाउँबाट, शौचालयबाट समेत वास्तविक समयको सूचना (रियल टाइम डेटा) दिनेछ । यी एआई आधारित प्रविधिलाई जीवाणुमा रहेको प्रोटिन होस् वा विश्राम समयमा एक ठाउँमा जम्मा भएका मजदुरलाई तारो बनाउने गरी प्रोग्राम गरिएको हुन्छ । दुवै सन्दर्भमा पहिले तारो पहिचान गरिन्छ र तिनलाई पछि निमिट्यान्न पारिन्छ ।यो अवश्यम्भावी थियो ।

एमेजोन र एमेजोनजस्ता अन्य निगमले एआईले पहिचान गरेको मजदुर युनियन बन्ने सम्भावना भएका कार्यस्थल र आपूर्ति शृंखलाको पहिचान एवं संकुचन गर्न कुनै कसर बाँकी राख्दैनन् भन्ने तपाईंलाई लाग्छ ? कैयौँ अर्थशास्त्री माग र आपूर्तिका पछाडिको शक्तिका कारण हामीलाई लाभ हुने प्राविधिक परिवर्तन हुने गर्छ भनेर जोडतोडसाथ दाबी गर्छन् । यस भाष्यले आफ्नै नाकमुनिको वर्ग संघर्षबाट ध्यान हटाउन मद्दत गर्छ, जसले करोडौँको जीवनलाई नारकीय बनाइरहेको छ र त्यसैवेला समष्टि अर्थतन्त्रलाई प्रविधिद्वारा आवश्यक मागका लागि पर्याप्त उत्पादन गर्न दिइँदैन । 

धनाढ्य वारेन बफेटले कुनैवेला वर्गसंघर्ष वास्तविक हो र हाम्रो वर्गले सजिलै विजय पाउनेछ भनेर बताएका थिए । बफेटको दाबी कार्यस्थलमा एआई आधारित उपकरणका सट्टा निगरानीको जिम्मा लिने फोरमेन नियुक्ति हुने वेला आएको थियो । बफेटले अभिव्यक्ति दिएका वेला हुने निगरानीलाई हेर्ने हो भने चार्ली च्याप्लिनको मोडर्न टाइम्सका वेलाको अर्थात् २०औँ शताब्दीका युरोपको उद्योग मजदुरका लागि स्वर्ग ठहरिन्छ । हालको विकराल अवस्थामा एआईले एमेजोनजस्ता निगमलाई मजदुरलाई थोरै भए पनि सामथ्र्य प्रदान गर्ने मजदुर युनियनलाई समाप्त नै पार्ने गरी प्रोत्साहन गर्दै छ ।

बफेटले स्वीकार गरेको वर्गयुद्धले एआईले लेस क्लाउड प्रविधि पुँजीको प्रयोग गरेर विश्वकै सबै क्षेत्रका र पहिलेदेखि नै पराजित असुरक्षित एवं अस्थिर मजदुर (प्रिकारिएट)माथि धाबा बोल्नेछ । तर, राजनीति वा महत्वाकांक्षा जुनसुकै होस्, अर्थतन्त्र न दिगो हुनेछ, न प्राप्य नै हुनेछ ।  
(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट