१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पुस्तकमा शिक्षासेवी बलराम पराजुली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o५:oo

चेतना मानिसको सर्वोत्तम गुण हो। चेतनाकै कारणले मासिन अरूभन्दा फरक र सर्वश्रेष्ठ ठहरिएको छ। प्रायजसो मानिसहरू आफ्नो चेतना, बुद्धि, विवेक आफ्नै स्वार्थका लागि खर्च गर्दछन् भने केही मानिस आफ्नो ज्ञान सीप चेतना, बुद्धि, विवेक निःस्वार्थ रूपमा समाज रूपान्तरणमा समर्पित गर्छन्। यस्तै, चेतना चिन्तन र समर्पणका प्रतिमूर्ति थिए बलराम पराजुली।

पूर्वी नेपालको भोजपुर जिल्ला शिक्षा, संस्कृति, संस्कार र चेतनाको उद्गमस्थल मानिन्छ। यसै जिल्लाको चरम्बी गाउँमा १ फागुन १९७२ मा बलराम पराजुलीको जन्म भएको थियो। १०४ वर्षे राणशासनको जर्जर अवस्थामा गाउँघरमा शिक्षादीक्षाको अवसरै थिएन। त्यस्तो अवस्थामा आफ्नो गाउँमा विद्यालय स्थापना गर्ने आफ्ना पिता विष्णुलाल पराजुलीको सपनालाई साकार पार्दै निरन्तर जनमानसमा शिक्षाको प्रकाश छर्ने बलराम पराजुलीको योगदानलाई सम्झिएर स्मृति ग्रन्थ प्रकाशन भएको छ।

उनले भोजपुरको दुर्गम चरम्बी गाउँमा मुठी दान उठाएर पिताको सपनालाई २०११ सालमा साकार पार्दै विद्यालय स्थापना गरेका थिए। साथै, उनी आधुनिक कृषि अभियानका कुशल अभियन्ता, मृदुभाषी, प्रेरक व्यक्तित्व थिए। स्मृति ग्रन्थको सम्पादन देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गरेका छन्। पुस्तकमा बलराम पराजुली व्यक्ति एक व्यक्तित्व अनेकको सार्थक रूप पढ्न सकिन्छ।

गाउँमा समान शिक्षाको अवधारण अगाडि सार्ने, समुदायका सबैलाई एकै स्थानमा पढ्ने व्यवस्था मिलाउने, आफ्नो समाज परम्परा संस्कार संस्कृतिको संरक्षण संवर्द्धनमा निरन्तर लाग्ने बलराम पराजुली अरुणोदय माध्यमिक विद्यालय चरम्बीका संस्थापक सदस्य हुन्। दाजु अम्बिका पराजुली, कृष्णप्रसाद पराजुली, भीमप्रसाद पराजुली, वेदनाथ पराजुली, देवीप्रसाद चौलागाईं, तारापाध्ये घिमिरेलगायत समाजका शिक्षासेवीहरूको साथ लिएर उनले विद्यालय स्थापना गरेका थिए।

आफूले मात्रै खाएर, लाएर हुँदैन, सबैले खान, लाउन पाउनुपर्छ, सबैले शिक्षा पाउनुपर्छ, जातिभेद, लिंगभेद हुनुहुँदैन, कसैले कसैको शोषण र थिचोमिचो गर्नु हुँदैन, सबैले मर्यादित हुनुपर्छ, चरित्रवान हुनुपर्छ, आ–आफ्नो कर्तव्यमा चल्नुपर्छ, मिहिनेत गर्न सिक्नुपर्छ, प्राणीहरूलाई दुःख दिनुहुँदैन, सबैले परोपकारी बन्नुपर्छ भन्ने उनको मान्यताबारे पुस्तकमा लेखकहरूले चर्चा गरेका छन्। यही मान्यतालाई चिरस्थायी पार्न उनी सफल पनि भएका थिए। बलराम पराजुलीको समाज र शिक्षासेवाको बारेमा प्रकाश पार्दै चिन्तामणि पराजुलीले लेखेका छन्–भीसेनडाँडा, कट्टेलडाँडा र क्रमशः पिपलडाँडाको हालको स्कुल स्थापनामा उहाँको अतुलनीय योगदान छ। उहाँका दाजु अम्बिका र उहाँको मन, धनको प्रेरणा र सहयोग मात्र नभई स्कुलको स्वीकृति गराउनेदेखि भवन बनाउँदासमेत शारीरिक योगदानसमेत ठूलो छ।’

यस्तै, साहित्यकार जीवनाथ धमलाले पराजुलीको शैक्षिक, राजनीतिक र सामाजिक परिवेशको विश्लेषण गरेका छन्। राणाकालीन नेपालको ग्रामीण समाजमा जन्मेर, हुर्केर जीवनको लयमा अग्रसर जो कोही पनि नेपालीका लागि घरगृहस्थी गर्नु भनेको व्यावहारिक अनिवार्यता नै थियो। बलराम पराजुलीले पनि आफ्ना पितापुर्खाका व्यावहारिकता र कर्महरूलाई सम्मान गर्दै तत्कालीन समयमा जनमानसमा देखिएको मधुरो र अस्पष्ट चेतनाको लहरमा जुनकिरीको काम गरे ।

बलराम पराजुलीले स्थापना गरेको विद्यालयको दृश्य प्रस्तुत गर्दै ९५ वर्षीय ज्योतिष भानुभक्त ढकालले भनेका छन्–अगाडिपट्टि गुरु बस्ने अग्लो आँट थियो। त्यसको मुनि काठ खोपेर बनाइएका गर्भे बेन्च राखिएका थिए। त्यसैको अर्को छेउमा चार–पाँचजना बस्न मिल्ने एउटा छुट्टै बेन्च थिए।

यिनै प्रेरक गुणहरूलाई समेटेर ५८ जना लेखकले उनको जीवनी व्यक्तित्वका बारेमा लेखेका लेख पुस्तकमा समावेश छन् । साथै, स्वयं बलराम पराजुलीले लेखेको आत्मवृत्तान्त तथा वैराग्य ज्ञानमाला भजनसंग्रहसमेत समेटिएको छ। स्मृतिग्रन्थ आगामी पुस्ताका लागि प्रेरणास्रोत एवं पुस्तान्तरणको महत्त्वपूर्ण साधना हुने विश्वास गरिएको छ। ३४० पृष्ठको स्मृतिग्रन्थ पठनीय एवं सामाजिक रूपान्तरणका लागि उपयोगी दस्ताबेज हो। यो पुस्तक निःशुल्क उपलब्ध हुनेछ।

ad
ad